नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कर्णाली प्रदेश सभामा ‘फ्लोर क्रस’ गरेर एमाले सांसदहरुले गम्भीर अराजकता देखाएको बताए।
तर त्यो कुरा अनपेक्षित नभएको उनले बताएका छन्।
कर्णाली प्रदेश सभामा शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत मागेको प्रस्ताव पेस गर्दा उनको पक्षमा बहुमत प्राप्त भएको थियो।
एमालेले शाहीको विपक्षमा मतदान गर्न ह्विप जारी गरेपनि त्यसको उल्लंघन गर्दै ४ जना एमाले सांसदले उनको पक्षमा मतदान गरेका थिए।
‘यो गम्भीर अराजकता हो। यो विषय क्षम्य हुँदैन,’ ज्ञवालीले नेपालखबरसँग भने, ‘माधवकुमार नेपालले जुन प्रकारको गतिविधिहरु गरिरहनु भएको छ। उहाँहरुले गर्ने गतिविधि यस्तै हो। त्यसैले यो अनपेक्षित भने होइन। यो ढंगले होला भन्ने लागेको थियो।’
नेकपा एमालेका पोलिटब्युरो सदस्य प्रकाश ज्वालासहित अमर थापा, करवीर शाही र नन्दबहादुर बुढाले विश्वासको पक्षमा मत दिएका थिए।
ज्ञवालीले शुक्रबार भएको फ्लोरक्रसमा संलग्न हुनेमाथि कारवाही हुने बताए।
तर उनले कस्तो कारवाही भनेर खुलाउन भने चाहेनन्।
एमालेको कर्णाली प्रदेशमा सभामुखसहित २० सांसद छन्। विश्वासको मतको विपक्षमा १५ मत खसेको थियो।
सो प्रदेशमा माओवादीका १२, कांगे्रसका ६ र राप्रपाका १ सांसद छन्।
शाहीलाई माओवादी, कांग्रेस र एमालेका ४ सांसदको मत परेको हो।

प्रतिक्रिया