स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिनासम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ।
मन्त्रालयले कोभिड–१९को युके भेरियन्टको संक्रमण दर उच्च भएको र नेपालमा अहिले युके भेरियन्ट देखा परेकाले अवको तीन महिनामा संक्रमणदर उच्च हुने देखिएको बताएको हो।
बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी बजेट सम्बन्धमा भएको छलफलमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन्।
उनका अनुसार ३ लाख संक्रमित मध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आइसियु) आवश्यक पर्ने अनुमान छ।
सोही अनुसार मन्त्रालयले तयारी गरिरहेको पनि सचिव अर्यालले बताए। ‘असारसम्ममा करिब करिब मोडरेज सिनारियोमा पनि हामीसँग ३ लाखको इन्फेक्सन आउँछ भन्ने छ। ३ लाखको इन्फेक्सन आउँदा करिब ६० हजार बिरामीहरु हस्पिटल आउनुपर्छ भन्ने देखिन्छ,' उनले भने, 'हस्पिटल भित्र आउनुपर्ने ६० हजार बिरामी मध्ये ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने अवस्था पछिल्लो १०/१५ दिनको डेटा एनलाइसिस गर्दाखेरी देखिन्छ भने १५ हजार बिरामीको लागि क्रिटिकल केयर (आइसियु) चाहिने अवस्था देखिन्छ।
यो बीचमा कोभिडका लागि गरेको ६ सय ४९ आधारभुत अस्पतालमा बेडहरु चलाएको उनले बताए। केही जिल्ला अस्पताललाई स्तरोन्नती गरेको र केही संघीय अस्पतालमा बेड थप्ने काम गरेको उनले बताए।
यो बीचमा करिब ५ सय जति आइसियु बेड, करिब ४ सय जति भेन्टिलेटरहरु र २ हजार बेड हाई डिपेन्डेन्सी युनिटमा थपेको उनले जानकारी दिए।
सचिव अर्यालले पछिल्लो केही दिन काठमाडौंका अस्पतालमा आएका कोरोना संक्रमित विरामीहरुको स्थिति छिटो क्रिटिकल अवस्थामा पुग्ने देखिएको बताए।
उनले भने ‘पछिल्लो हामीले दुई तीनवटा हस्पिटलहरुको टेकु हस्पिटल, पाटन हस्पिटललाई हेर्दा बिरामी असाध्यै सिकिस्त भएपछि अस्पताल आउने, पहिलो दिनमा उहाँहरु जनरल बेडमा हुनुहुन्छ, दोस्रो दिनमा अक्सिजनमा जानुहुन्छ, तेस्रोमा आइसियुमा, चौथोमा भेन्टिलेटर त्यसपछि एक दुई दिन भित्र विरामीहरु मरिरहेको अवस्था देखिन्छ। छिटो संक्रमण बढिराखेको छ।’
गत वर्ष देखिएको भेरियन्टमा एक जना संक्रमितले अरु चार पाँच जनामा सार्न सक्ने भएपनि अहिलेको भेरियन्टमा एक जनाले ४० देखि ७० जनासम्मलाई सार्न सक्ने देखिएको छ। जुन भेरियन्ट युके भेरियन्ट नै रहेको पुष्टि भइसकेको पनि सचिव अर्यालले बताए।
मन्त्रालयले चालु आर्थिक वर्षमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि करिब ८ अर्ब रुपैयाँ खर्च गरेको छ।

प्रतिक्रिया