त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका दावा लामाको दिसाबाट प्रहरीले ९३ वटा खैरो हेरोइनका क्याप्सुल निकालेको छ।
गत चैत २६ गते एयर अरेवियाबाट सारजाह हुँदै नेपाल आएका धादिङको खनियाबास गाउँपालिका १ का ४९ वर्षीय दावा लामा विमानस्थलबाटै पक्राउ परेका थिए।
उनले खैरो हेरोइनका क्याप्सुल निलेर आएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको थियो। पक्राउ लगतै उनलाई प्रहरी अस्पतालमा लगेर सिटिस्क्यान गर्दा पेटमा क्याप्सुलहरु देखिएको थियो। त्यसपछि उनलाई दुई दिनसम्म अस्पतालमै राखिएको ब्युरोका एसपी ऋषिराम कँडेलले बताए।
२८ गतेसम्ममा उनको दिसाबाट ९३ वटा क्याप्सुल निस्किएको र तौल गर्दा ९०० ग्राम भएको लागुऔषध नियन्त्रण व्युरोले जनाएको छ। उनको साथबाट अमेरिकन डलर ३०० पासपोर्ट र हवाइटिकट पनि बरामद गरेको थियो।
उनको साथबाट बरामद भएको लागुऔषधको मूल्य करिव ९० लाख रुपैयाँ रहेको ब्युरोले जनाएको छ।
दावा यसअघि २०६५ चैत ३० गते सेतो हेरोइनसहित पक्राउ परेका थिए। त्यतिबेला उनीसहित ६ जना नेपाली र ३ जना विदेशी पक्राउ परेका थिए। उक्त मुद्दामा ५ वर्ष कैद भुक्तान गरेर छुटेका दावा त्यसपछि पनि लागुऔषध कारोबारमा संलग्न रहेको पाइएको हो।
उक्त खैरो हेरोइन कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले धादिङको सत्यदेवीकी ५९ वर्षीया काइली, मायाँ, फुलमाया, कालिमाया, देविमायाँ भन्ने गोपी तामाङ, धादिङ रुवी भ्याली ३ सेर्तुङकी ४५ वर्षीया होनी माया तामाङनी र लम्जुङका ५२ वर्षीय वुद्दिबहादुर गुरुङलाई पनि पक्राउ गरेको छ।
गोपी पनि २०६५चैत ३० गतेको मुद्दामा र बुद्दि २०६९ भदौ ३ गते पक्राउ परेको लागुऔषध मुद्दाका फरार अभियुक्त हुन्। उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ
Shares

प्रतिक्रिया