नेपालको सीमावर्ती क्षेत्रबाट अवैध रुपमा डिम्ब दान गराउन युवतीहरूलाई भारत लैजाने गरेको घटना सार्वजनिक भएको छ।
कैलाली र कञ्चनपुर जिल्लाका थारू समुदायका युवतीलाई अवैध रूपमा डिम्बदान गराउन भारत लैजाने गरेको मानव बेचबिखनको नयाँ स्वरूप सार्वजनिक भएको हो। भारतीय पत्रिका दैनिक भाष्करले सामाजिक सञ्जालमार्फत आर्थिक प्रलोभन देखाएर युवतीलाई सीमा पार गराउने र भारतमा डिम्ब संकलन गराउने गिरोह सक्रिय रहेको दाबी गर्दै समाचार छापेको छ।
समाचारका अनुसार दुई जिल्लामा गिरोहले विशेषगरी आर्थिक रूपमा कमजोर र सीमावर्ती क्षेत्रमा बसोबास गर्ने थारू समुदायका युवतीलाई लक्षित गरिरहेको जनाइएको छ। तस्करहरूले डिम्ब दान गरेबापत ३० हजारदेखि ६० हजार भारतीय रुपैयाँसम्म आम्दानी हुने भन्दै युवतीलाई प्रलोभनमा पार्ने गरेका समाचारमा उल्लेख छ।
युवतीलाई नेपाल–भारत सीमा पार गराएर उत्तर प्रदेश हुँदै दिल्ली लैजाने र डिम्ब संकलन गरिने व्यवस्था मिलाइने जनाइएको छ। संकलित डिम्ब सहायक प्रजनन प्रविधि (एआरएचटी) अन्तर्गत निःसन्तान दम्पतीको उपचारमा प्रयोग हुने बताइएको छ।
अनुसन्धानका क्रममा कञ्चनपुरकी एक थारू युवतीसम्म पुग्दा दिल्लीमा बसोबास गर्ने एक नेपाली महिलाले सामाजिक सञ्जालमार्फत सम्पर्क गरी डिम्ब दानलाई रक्तदानजस्तै सामान्य प्रक्रिया भनेर विश्वास दिलाएको समाचारमा उल्लेख छ। युवतीलाई सीमा पार गरेपछि दिल्लीसम्मको सम्पूर्ण यात्रा र बसोबासको व्यवस्था गिरोहले मिलाउने आश्वासन दिएर लैजाने गरेको जनाइको छ।
उनलाई विश्वास दिलाउन यसअघि डिम्ब दानका लागि भारत पुगेका वा जाने तयारीमा रहेका अन्य नेपाली युवतीसँग समेत उनको सम्पर्क गराइएको थियो। तर भारत प्रवेश गर्ने क्रममा गौरीफन्टा सीमा नाकामा सुरक्षा निकायको निगरानीमा परेपछि सम्भावित तस्करीको प्रयास विफल भएको बताइएको छ।
समाचारमा आर्थिक रूपमा विपन्न परिवारका किशोरी तथा युवतीलाई प्राथमिक रूपमा लक्षित गरिएको देखाएको छ। उद्धार गरिएकी युवतीका परिवारको आर्थिक अवस्था कमजोर रहेको उल्लेख गरिएको छ।
Shares

प्रतिक्रिया