फिल्म ‘मन विनाको धन-२’ मा नायक विपिन कार्कीको प्रवेश भएको छ।
यो फिल्ममा विपिनको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन। टंक बुढाथोकी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्ममा कथा तथा निर्देशन उनकै छ भने शिवम् अधिकारीको लेखन रहेको छ।
हाल फिल्मको प्रि-प्रोडक्सनको काम चलिरहेको छ। चाडै सुटिङमा जाने फिल्ममा यसअघि पूजा शर्मा, महेश त्रिपाठी, सरोज खनाल र किरण केसी फाइनल भइसकेका छन्।
विपिनको प्रवेशले उत्साहित भएको निर्देशक बुढाथोकीले बताए। ‘हामीले केही सातादेखि विपिनजीसँग कुराकानी गरिरहेका थियौँ। उहाँ कथावस्तुलाई लिएर निकै उत्साहित हुनुभयो,’ उनले भने, ‘दर्शकले उहाँलाई नयाँ अवतारमा यो फिल्ममा देख्न पाउनेछन।’
गत वर्ष रिलिजमा आएको फिल्म ‘मन विनाको धन’ले बक्स अफिसमा करिब चार करोडको ग्रस कलेक्सन गरेको थियो। अशोक दर्जीको मुख्य भूमिका रहेको फिल्मको सफलताले उत्साहित बुढाथोकीले यस पटक ‘मन विनाको धन-२’लाई अझै बलियो बनाउने बताए।
Shares

प्रतिक्रिया