इच्छाकामना गाउँपालिका-५, तुइनखोलामा आज (बुधबार) बिहान पहिरो खस्दा बन्द मुग्लिन-नारायणगढ सडक खुलेको छ।
सडक डिभिजन भरतपुरले आज बिहान ११:१५ बजे सूचना जारी गरी पहिरो पन्छाएर सडक खुलाइएको जानकारी दिएको हो।
आज बिहान करिब १०:४० बजे तुइनखोलामा पहिरो खस्दा दुवैतर्फ यातायात बन्द भएको थियो। तर सडक डिभिजन भरतपुरले तत्काल हेभी मेसिन प्रयोग गरी पहिरो पन्छाएर १ घण्टाभन्दा कम समयमै सडक खुलाएको हो।
सडक डिभिजन भरतपुरका सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएर सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। उनले सडक खुले पनि वर्षायामका कारण थप पहिरो खस्ने जोखिम कायमै रहेकाले यात्राका क्रममा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
क्षेत्रीले सवारीचालकलाई आफ्नो लेन अनुशासनको पूर्ण पालना गर्न, अनावश्यक ओभरटेक नगर्न तथा ट्राफिक प्रहरीको निर्देशनअनुसार मात्रै सवारी सञ्चालन गर्न अनुरोध गरेका छन्।
वर्षायाम सुरु भएसँगै मुग्लिन-नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पटक–पटक पहिरो खस्ने क्रम जारी रहेकाले यात्रु तथा सवारीचालकलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्नसमेत सम्बन्धित निकायले आग्रह गरेको छ।
Shares

प्रतिक्रिया