राजनीति


विज्ञ भन्छन्ः महामारीमा चुनाव जनस्वास्थ्यमाथिको खेलवाड हो

विज्ञ भन्छन्ः महामारीमा चुनाव जनस्वास्थ्यमाथिको खेलवाड हो

यज्ञराज जोशी
जेठ ९, २०७८ आइतबार १०:५७,

महामारीको बीचमा चुनाव गर्नु जनताको स्वास्थ्यमाथि खेलवाड हुने जनस्वास्थ्यविद्हरुले बताएका छन्। चुनावमा जाने नै हो भने जोखिम समूहलाई पहिले नै खोप लगाइसक्नुपर्ने उनीहरुको भनाइ छ।

‘बिनाखोप चुनावमा जान पाइँदैन। चुनावमा जाने हो भने कमसे कम ५५ वर्षभन्दा माथिका र शतप्रतिशत दीर्घरोगीलाई पहिलो मात्रा खोप कम्तीमा एक महिनाअघि लगाएको हुनुपर्छ,’ जनस्वास्थ्यविद् समीरणमणि दीक्षितले भने, ‘खोप पाएको अवस्थामा कम्प्रमाइज गर्न सकिन्छ। त्यो गर्न नसक्ने हो भने बरु लोकतन्त्रलाई थाती राखेर भए पनि जनस्वास्थ्यलाई बढी महत्व दिनुपर्छ।’

उनले खोप लगाएका मान्छे संक्रमित भएपनि गम्भीर नहुने, अस्पताल भर्ना गर्नुपर्ने अवस्था नआउने र ज्यान जाने जोखिम कम हुने भएकाले चुनावअघि खोपको व्यवस्था गर्नुपर्ने बताए।

शनिबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेर आगामी कात्तिक र मंसिरमा आम निर्वाचन घोषणा गरेकी छन्।

नेपालमा कोरोना संक्रमणबाट हाल दैनिक डेढ सयभन्दा बढीको मृत्यु भइरहेको छ। हालसम्म नेपालमा ६ हजार १५३ जना संक्रमितको मृत्यु भएको छ। यस्तै दैनिक ८ हजारभन्दा बढी संक्रमितहरु फेला परिरहेका छन्।

दीक्षितले यसबेला भारतबाट खोप आउने आशा न्यून भएकाले बेलायत, अमेरिका र अरु देशबाट ल्याउन सम्पूर्ण शक्ति लगाएर कूटनीतिक प्रयास गर्नुपर्ने जनाए। यस्तो बेला स्वास्थ्यमा पैसा खर्च गर्न डराउन नहुने उनको भनाइ छ। उनले खोप नलगाएसम्म भाइरसका नयाँ लहरहरु आइरहने भएकाले त्यसतर्फपनि ध्यान दिनुपर्ने बताए।

‘भारतमा कम भएपछि अर्को एकदुई महिनामा हाम्रोमा पनि संक्रमण कम हुँदै जान्छ। तर अधिकांश मान्छेले खोप नलगाएसम्म लहरहरु आइरहन्छ,’ दीक्षितले भने, ‘भीडभाड गर्नु, मापदण्ड पालना नगर्नु भनेको अर्को लहर निम्त्याउनु हो।’

उनले अमेरिकाजस्तो साधनस्रोत सम्पन्न मुलुकमा समेत चुनावका बेला संक्रमण अत्याधिक फैलिएको भन्दै त्यसबाट पाठ सिक्दै उनीहरुले गरेको गल्ती दोहोर्‍याउन नहुने बताए।

भीडभाड हुने काम गर्नै हुँदैनः प्रा.डा. अग्रवाल
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले महामारी तीव्र रुपमा फैलिएको बेला चुनाव गर्नु मृत्युलाई निमन्त्रणा दिनु सरह भएको बताए।

‘कोरोनाको भयावह स्थितिलाई हेर्दा कुनैपनि निहुँमा मान्छेहरुको जमघट हुनुभएन। न राजनैतिक र्‍याली गर्नुहुन्छ, न कुनै सभासम्मेलन,’ उनले भने, ‘५ जना भेला हुन पनि डराउनेपर्ने स्थितिमा चुनावी भेला, सम्मेलन, जमघट, सभासम्मेलन गर्नु भनेको मृत्युलाई निम्त्याउनु हो।’

अग्रवालले नेपालका ठूलाबडा मान्छे समेत महामारीकाबीच भारतको कुम्भमेलामा गएर सिकिस्त भएको उदाहरण दिँदै जनचेतना एकदमै कम भएको बताए।

‘चुनाव गराउनै पर्ने छ भने मास्क लगाउने, दुरी कायम गर्ने, सरसफाइ गर्ने र खोप लगाउनै पर्छ,’ उनले भने।

सरकारको ध्यान महामारीबाट हट्छः थापा
स्वास्थ्यसेवा गुणस्तरसम्बन्धी अध्येता सुशील थापाले चुनाव भयो भने सरकारको ध्यान महामारी नियन्त्रणबाट हट्ने चिन्ता व्यक्त गरे। उनले राजनीति जता गएपनि महामारी नियन्त्रण अहिलेको प्राथमिकता हुनुपर्नेमा जोड दिए।

‘अहिलेको चुनाव घोषणाले पनि शीर्ष नेतृत्वको प्राथमिकता कोभिडबाट हट्छ भन्ने डर जागेको छ,’ उनले भने, ‘मुलुक चुनावतिर गयो भने भीडभाड, नाराजुलुस, सभासम्मेलन होलान्। त्यसले अहिलेको परिस्थितिलाई अझै बिगार्न मद्दत पुग्छ।’

खोप नआउञ्जेलको रोकथामको उपाय मास्क, स्यानिटाइजेसन र भीडभाडबाट बच्नु भएकाले चुनावमा यसविपरीतका काम हुने उनको भनाइ छ।

‘भीडभाड गर्दा सर्ने रोग भनेर हामी लकडाउनमा छौँ। लकडाउनको पनि पालना भएन भन्ने आवाज सुनिन्छ। तर सरकार भने चुनाव घोषणा गरेर जनतालाई उल्टै सडकमा उतार्दैछ,’ थापाले भने।

उनले चुनावका कारण नेपालमा महामारी फैलिँदै गयो भने विश्व समुदायले हेर्ने दृष्टिकोणमा पनि नकारात्मक बन्ने बताए।

‘आतंकवादका कारण जसरी पाकिस्तान, इराकका मान्छेलाई अन्यत्र कठिन हुन्छ, त्यसैगरी राजनीतिक कार्यक्रमका कारण महामारी फैलिँदै गए नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोण फरक हुन थाल्छ,’ उनले भने, ‘यसले नेपाली पासपोर्ट बोक्नेहरुलाई थप व्यवधान खडा गर्नसक्छ। दोहोर्‍याएर परीक्षण गर्नुपर्ने, नेपालको परीक्षणको मान्यता नहुने जस्ता समस्या हुनसक्छन्।’

उनले सरकारले चुनाव नै गर्ने भए जनताले खोप पाउने सुनिश्चित हुनुपर्ने, पहिलेजस्तो भाषण, र्‍याली, सभासम्मेलन नहुने, सबै चुनावी गतिविधि भर्चुअल रुपमा गर्न दलहरु र नेताहरु तयार हुनुपर्ने बताए।

सरकार असंवेदनशील बन्यो: चिकित्सक संघ
यसैबीच नेपाल चिकित्सक संघले चुनाव घोषणा गरेर सरकार कोभिड–१९ संक्रमणको समयमा असंवेदनशील बनेको प्रतिक्रिया दिएको छ। संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गर्दै सरकारको धयानाकर्षण गराएका छन्।

‘संकटपूर्ण अवस्थामा दोस्रो लहरको रोकथाम र उपचारको साथै आउन सक्ने तेस्रो लहरको तयारी गर्नुको सट्टा नेपाल सरकार तथा सम्पूर्ण राजनीतिक दलहरु नागरिकहरुको जनस्वास्थ्यलाई भन्दा अस्वाभाविक राजनीतिक जोडघटाउमा लागि रहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘विश्वसामु नेपालको जनस्वास्थ्यको विद्यमान अवस्था र नेपाली नागरिकहरु दिनप्रतिदिन संक्रमित भई मृत्युवरण गर्न बाध्य भएको गम्भीर परिस्थितिप्रति नेतृत्वपंक्तिबाट नै अनभिज्ञता प्रकट गरिहेको जस्तो भूमिकाका कारण नेपालको इज्जत र प्रतिष्ठाप्रति नै लज्जाबोध भइरहेको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .