राजनीति


नागरिकतासम्बन्धी अध्यादेशप्रति विवेकशील साझा पार्टीको ६ बुँदे ध्यानाकर्षण

नागरिकतासम्बन्धी अध्यादेशप्रति विवेकशील साझा पार्टीको ६ बुँदे ध्यानाकर्षण

नेपालखबर
जेठ १०, २०७८ सोमबार ७:२२,

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीले एक विज्ञप्ति जारी गर्दै नागरिकता अध्यादेशको मनसाय गलत भएको, केही बुँदा सकारात्मक तर अपूर्ण भएको जनाएको छ।

नागरिकताको विषयलाई व्यक्तिभन्दा माथि राखेर देशको बृहत्तर हितको परिप्रेक्ष्यमा हेरिनु पर्ने पार्टीको माग छ।

'नेपाली नागरिकता पाउन योग्य कुनै पनि व्यक्तिलाई नागरिकताबाट वञ्चित गरिनु हुँदैन भन्नेमा विवेकशील साझा पार्टी स्पष्ट छ,' पार्टीका प्रवक्ता शरद राज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'नागरिकताजस्तो अत्यन्तै गम्भीर विषयलाई संसद् छलेर सौदाबाजीकारूपमा अध्यादेशबाट राजनीतिक रूपमा संवेदनशील समयमा ल्याइनु पूर्णतः कुत्सित र दूषित मनसायबाट प्रेरित देखिन्छ।'

गलत प्रक्रिया र गलत ध्येयबाट ल्याइएको भए पनि अध्यादेशले केही महत्त्वपूर्ण विषयलाई सकारात्मक रूपमा सम्बोधन गरेको छ भने बोल्नुपर्ने केही विषयमा मौन रहेको जनाउँदै पार्टीले निम्नलिखित ६ बुँदामा ध्यानाकर्षण गरेको छ।

१) जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकले नागरिकता प्राप्त गरेको मितिपछि पाएको सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नु न्यायसङ्गत हुन्छ। यो नेपालको संविधान २०७२ अनुरूप पनि छ, जसको विवेकशील साझा पार्टी स्वागत गर्दछ।

२) तर पुरुष र महिलाका बिच नागरिकताको विषयलाई विभेदकारी बनाउन मिल्दैन। पुरुष र महिला दुवै समान अधिकारको हकदार छन्। अध्यादेश त्यसमा चुकेको छ। हाल नेपाली पुरुषले विदेशी महिला विवाह गरे उनले तुरुन्तै नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरे ती पुरुषले नागरिकता लिन कठिन हुने प्रावधान विद्यमान छ। संसारका धेरै लोकतान्त्रिक र विकसित देशहरूको नागरिकता सम्बन्धी प्रावधानहरू हेर्ने हो भने कुनै पनि विदेशीले नागरिकता पाउन एउटा निश्चित अवधि सो देशमा स्थायी बसोबास गरेको र अन्य कतिपय सर्तहरू पुरा गरेको हुनुपर्छ। नेपालका लागि पनि त्यस्तै व्यवस्था गर्नु उचित हुन्छ।

नागरिकता नपाउँदासम्म पारिवारिक सम्बन्ध व्यवस्थापन गर्न, कानुनी रूपमा निर्वाह गर्नुपर्ने भूमिका तथा अन्य अत्यावश्यक कार्यहरू गर्नका लागि विशेष परिचयपत्र प्रदान गर्न सकिन्छ।

३) विवेकशील साझा पार्टी नेपालीसँग विवाह गर्ने पुरुष या महिला जो भए पनि उनीहरूले नेपाली नागरिकता पाउनुअगाडि संविधानका अन्य सर्तहरू पुरा गर्नुका साथै ७ वर्ष नेपालमा स्थायी बसोबास गरेको हुनुपर्छ भन्ने धारणा राख्दछ। यस विषयमा अध्यादेश मौन छ।

४) आमाको नाममा नागरिकता लिँदा बुवाको परिचय खुलाउनुपर्ने व्यवस्था विभेदकारी छ। बुवाको नाममा नागरिकता लिँदा बुवाले आमाको परिचय खुलाउनु नपर्ने तर आमाले भने बुवाको परिचय खुलाउनु पर्ने व्यवस्था मान्य हुन सक्दैन। दुबैका हकमा समान कानुनी व्यवस्था हुनुपर्छ। यस विषयमा पनि अध्यादेश मौन छ।

५) नागरिकता लिने व्यक्तिको लैंगिक पहिचान सुनिश्चित गरिनुपर्छ। यौनिक अल्पसङ्ख्यकको लैंगिक पहिचानका बारेमा अध्यादेश मौन छ।

६) अन्त्यमा, विवेकशील साझा पार्टी नेपाली नागरिकता लिएकाहरूको अभिलेखीकरण वैज्ञानिक र प्रविधि अनुकूल बनाउन प्राथमिकताका साथ काम गरिनुपर्दछ भन्ने जोडदार माग गर्दछ। त्यसो गरेको खण्डमा नागरिकता नपाएका नेपालीहरू तथा गलत सूचनाका आधारमा नागरिकता लिएका, अदालतले नागरिकता खारेज गरेका र नक्कली नागरिकता बनाएकाहरूको सहजै पहिचान हुन सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad