नागरिकता ऐन संशोधन गर्न जारी गरिएको अध्यादेशको विरोध गर्नेहरूप्रति पूर्वमन्त्री प्रभु साहले आक्रोश पोखेका छन्।
नेपाली नागरिकका सन्तानलाई नागरिकता दिन जारी गरिएको अध्यादेशमा राष्ट्रघात देख्नेहरू जनविरोधी भएको उनको आरोप छ।
‘अध्यादेशमा राष्ट्रघात देख्ने तथा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण, फिजीकरण हुने भयो भनेर अर्नगल दुष्प्रचारको हर्कत गर्नेहरू जनविरोधी हुन्,’ उनले भनेका छन्, ‘संवैधानिक प्रावधान, सर्वोच्च अदालतको निर्देशन एवं संसदीय समितिको सर्वसहमत निर्णयअनुरूप आएको अध्यादेशलाई यसरी अनुचित तवरले विवादित एवं बदनाम गराउने तथा नागरिकता प्राप्त गर्न योग्य लाखौं नेपाली नागरिकलाई आफ्नै देशमा शरणार्थी बनाउने दुष्कर्मको प्रयास गर्नु, गराउनु राष्ट्रवाद हो कि देश र जनताप्रतिको घात हो?’
नेपालको संविधानको भाग–२ धारा १० (१) मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने स्पष्ट व्यवस्था भएको उल्लेख गर्दै पूर्वमाओवादी हाल एमाले (ओली समूहका) नेता साहले नागरिकता प्राप्त गर्न योग्य लाखौं युवालाई अनागरिक बनाइराख्ने षड्यन्त्र विफल पार्न अध्यादेश ल्याएको दाबी गरेका छन्।
उनले भनेका छन्, ‘यस नागरिकता अध्यादेशको विरोध गर्नु अज्ञानता मात्र हो कि नश्लवादी अंहकारमा लिप्त लम्पट जनविरोधी हर्कत हो? सबैले समयमैं बुझ्न जरुरी छ।’
Shares

प्रतिक्रिया