राजनीति


परम्परा तोड्न चाहने उज्वलको दुःखान्त

परम्परा तोड्न चाहने उज्वलको दुःखान्त

यज्ञराज जोशी
जेठ १८, २०७८ मंगलबार १३:६,

बुढानीलकण्ठ स्कुलमा कक्षा ११ मा अंग्रेजी विषयको जाँच थियो। किशोरवयका उज्वल थापा परीक्षा दिन त बसे तर प्रश्नपत्र सरसर्ती हेरेपछि उनलाई छटपटी भयो।

ए लेभलको प्रश्नपत्र बेलायतमा बन्थ्यो। कपी पनि उतै जाँचिन्थ्यो। वरपरका साथीहरु धमाधम उत्तर लेखिरहेका थिए। तर थापाले किताब घोकेका थिएनन्। उत्तर नआएपछि कलम सरेन। उनको दिमागमा एउटा ‘आइडिया’ फुर्‍यो।

उनी कार्टुन बनाउन पोख्त थिए। निधो गरे– लेखेर भाव व्यक्त गर्न आएन। बरु कार्टुन बनाएरै उत्तर दिन्छु।’

उनले हरेक प्रश्नको जवाफमा कार्टुन बनाउन थाले।

‘त्यो देखेपछि लौ उज्वले त बौलायो भन्ठान्दै वरिपरिका साथीहरु ठुल्ठूला आँखाले हेर्न थाले,’ थापाले आफ्नो ब्लगमा लेखेका छन्, ‘म चाहिँ मज्जाले जे होला होला भनेर कार्टुन कोर्दै बसेँ, पाना मागी मागी।’

उनले कार्टुनका बीचबीचमा केही शब्द पनि लेखेका थिए। जसले कार्टुनमार्फत भन्न खोजेको भाव बुझाउँथ्यो। उनलाई फेल हुन्छु भन्ने लागेको थियो। साथीहरु पनि यसले अंग्रेजीमा आलु खान्छ भन्दै जिस्क्याउँथे।

केही महिनापछि क्याम्ब्रिज इन्टरनेसनलबाट नतिजा आयो।

‘यसो मार्कसिट हेरेँ, खितिखिती मनदेखि नै हाँसो लाग्यो। आधाभन्दा बढी साथीहरुलाई मैले जितेछु। सबै मुर्छै परे,’ थापाले लेखेका छन्, ‘अंग्रेजी साहित्यमा कार्टुन बनाएर आधाभन्दा बढी नम्बर ल्याएको पत्याउने कि नपत्याउने? तर यथार्थ त्यही थियो।’

त्यो घटना उज्वलका साथी र शिक्षकहरुका लागि अप्रत्यासित थियो। त्यही दिनदेखि उनीहरुले थापालाई नयाँ नाम दिए, ‘माभरिक’ अर्थात्, गैरपरम्परागत, स्वतन्त्र, मनमौजी स्वभावको।

खगोलशास्त्र पढ्न अमेरिका गएर वेबसाइट डिजाइनर बनेर फर्कनु, नेपालमा आईटी उद्योगको स्थापना गर्नु, विवेकशील पार्टीमार्फत वैकल्पिक राजनीतिको बिउ रोप्नु, यी सबै काम उनको यही स्वभावको उपज थियो, जुन कालान्तरमा उनको परिचय बन्यो।

सबैभन्दा महत्वपूर्ण उनले वैकल्पिक राजनीतिको बाटो देखाए, आन्दोलन, विरोधको शैलीमा परिवर्तन भयो। सुसंस्कृत राजनीतिको नारा बोकेर युवाहरु राजनीतिमा होमिए।

हजारौँलाई नयाँ आशा देखाउने दियो बनेका थापा मंगलबार अस्ताएका छन्, ४४ वर्षे उमेरमा कहिले नफर्कने गरी।

थापा दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचाररत थिए। मेडिसिटी अस्पतालमा ‘ईसीएमओ’ प्रविधिबाट उनको उपचार भइरहेको थियो। उनका शुभेच्छुक र साथीभाइले उपचारका लागि ५० लाखभन्दा बढी रकम संकलन पनि गरेका थिए। तर चिकित्सिकले उज्वललाई मंगलबार मृत घोषणा गरेका छन्।

‘हामी निशब्द छौँ। विगत ९ वर्षमा उज्वल थापा दाइले नेपाली राजनीतिको संस्कार नै बदलिदिनु भयो। अहिंसात्मक तरिकाले मौन रहेर, प्लाकार्ड बोकेर पनि हस्तक्षेपकारी राजनीति गर्न सकिन्छ भनेर हामी सबैलाई सिकाउनुभयो,’ थापासँगै वैकल्पिक राजनीतिमा होमिएका विवेकशील–साझा पार्टीका संयोजक मिलन पाण्डे भन्छन्।

अमेरिका प्रस्थान
स्याङ्जामा जन्मिएका थापा छात्रवृत्तिमा बुढानीलकण्ठ स्कुलमा ४ कक्षामा भर्ना भएका थिए। त्यसपछि उनी खगोलशास्त्रमा स्नातक अध्ययनका लागि २१ वर्षे उमेरमा १९९६ मा उनी अमेरिका गए।

केही दिन खगोलशास्त्रको कक्षा लिए पनि उनको मन रमाउन सकेन। त्यसबेला अमेरिकाको भौतिकवादी जीवनशैली देख्दा वाक्क लागेको र बौद्ध भिक्षु बन्ने सोच आएको उनले लेखेका छन्।

उनी सोधीखोजीमा लागे। सान फ्रान्सिस्कोमा भिक्षुहरुको संगठन भएको पत्ता लाग्यो। उनी कम्तीमा दुई वर्ष ध्यान गर्ने उद्देश्यसहित सान फ्रान्सिस्को हानिए।

तर, भनिएको ठेगानामा भिक्षुहरु फेला पार्न सकेनन्।

‘रातिको ९ बजेसम्म खोज्दा पनि नभेट्टाएपछि हार खाएर म त्यहाँबाट फर्केँ,’ उनले भनेका छन्, ‘त्यसपछि म फर्केको फर्क्यै भएँ। भिक्षु बन्ने सोच त त्यागेँ। तर त्यहीँबाट मैले एक सादा जीवन बिताउने कोसिस प्रारम्भ गरे।’

उनी खगोलविज्ञान छाडेर मल्टिमिडिया टेक्नोलोजी पढ्न थाले। वेबसाइट डिजाइनिङ, भिडिओ एडिटिङ, डिजिटल आर्ट्सलगायतका सीप सिके।

पाँच वर्षपछि सन् २००१ मा उनी नेपाल फर्किए।

‘नेपाल फर्किने कुनै विशेष कारण थिएन। आफ्नो घर फर्कन के विशेष उद्देश्य चाहिन्थ्यो र,’ थापा भन्थे, ‘सबैको आफ्नै ठाउँ हुन्छ क्यारे मेरो चाहिँ नेपाल नै रहेछ।’

नेपाल फर्केको केही समय उनले गैरसकारी संस्थामा द्वन्द्व रुपान्तरण प्रशिक्षकका रुपमा काम गरे। त्यो प्रोजेक्ट सकिएपछि उनले २००३ मा डिजिटल म्याक्स सोलुसन्स नामक आफ्नै आईटी कम्पनी सुरुवात गरे।

कम्पनीले देशको अर्थतन्त्रलाई खासै योगदान नपुर्‍याए पनि सूचना प्रविधि उद्योग फस्टाउन मद्दत पुगेको उनको विश्वास थियो। कम्पनीबाट सयौँ युवाहरुले तालिम लिएर आफैँ व्यवसाय सुरु गर्दा उनी सन्तुष्ट हुन्थे।

UjawalThapa flag himal new

‘आन्ट्रप्रेनर फर नेपाल’ अभियान
सन् २००८ मा उनी एकजना साथीको घरमा जमघटमा पुगेका थिए। ती साथीहरु उनीजस्तै नवउद्यमशील थिए। जमघटमा उनीहरुबीच नेपालमा आफैँ केही गर्न खोज्नेहरुको दुख–सुख पोख्ने र सुनिदिने कुनै जमात नभएको प्रसंग उठेको थियो।

त्यसको सुरुवात आफैँबाट गरौँ भन्ने सहमति भयो। त्यो मञ्चलाई उनीहरुले आन्ट्रप्रेनर फर नेपाल नाम दिए। सफल उद्यमीहरुलाई बोलाएर कुरा सुन्ने योजना पनि बनाए।

यो अभियानको सुरुवात भाट–भटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ र उनकी श्रीमतीबाट भएको थियो। गुरुङ दम्पतीले भाटभटेनी साम्राज्यको स्थापना कसरी भएको थियो, कसरी काम गरिन्छ भन्ने कुरा सुनाएका थिए।

त्यो सुन्न थापासहित जम्मा ७ जना भेला भएका थिए। अहिले यो प्लेटफार्मममा १ लाख १९ हजार बढी आबद्ध छन्। उनीहरुले सयौँ श्रृंखला आयोजना गरिसके। सामाजिक सञ्जालमा निकै अन्तक्र्रिया हुने ग्रुपमध्येमा यो एक पर्छ। जहाँ दैनिक सयौँ उद्यमीहरुले आआफ्नो उद्यमका कुरा सुनाइरहेका हुन्छन्।

‘यसले सयौँ उद्यमशील नेपालीहरुमा उद्योग खोल्नतर्फ प्रेरणा, सीप र माहोल बनाइदिएको थियो,’ थापाले यो अभियानबारे भनेका थिए, ‘अभियानको सफलता हेर्दा के लाग्छ राम्रो मान्छेहरु नेपालमा धेरै छन् तर उनीहरुको सञ्जाल बनेको रहेनछ र कोसिस गरियो भने अवश्य पनि राम्राहरुको सञ्जाल छिट्टै र फराकिलो बनाउन सकिँदो रहेछ।’

‘नेपाल खुल्ला छ’ अभियान
धेरैले थापा र उनको टोलीलाई नेपाल खुल्ला छ अभियानका कारण सम्झिने गर्छन्।

हप्तैपिच्छे कसै न कसैले नेपाल बन्दको घोषणा गर्थ्यो। बन्दले जताततै असर पार्न थालेपछि थापाले २०१० को अन्त्यमा केही साथीहरुसँग मिलेर समूह बनाए। जसको मुख्य उद्देश्य नै बन्दको विरोध गर्नु थियो, नेपाल खुल्ला भएको आभास दिलाउनु थियो।

कसैले बन्द घोषणा गरेका दिन उनीहरु आफ्नो सवारी साधन लिएर सडकमा निस्कन्थे। नेपाल खुला छ भन्ने ब्यानर टाँसेर भेला गर्थे। बन्दविरुद्ध र्‍याली निकाल्थे। पसल खुलाउने प्रयास गर्थे।

पछि उनीहरु ‘नेपाल खुल्ला’ अभियानकर्ताका रुपमा चिनिन थाले। यही अभियानपछि थापा मिलन पाण्डे, पुकार बमलगायतका युवाहरुसँग जोडिन पुगे र वैकल्पिक राजनीतिको यात्रामा अघि बढे।

यो पनिः विवेकशील पार्टीका संस्थापक उज्वल थापाको निधन

राजनीतिक उतारचढाव
२०११ मा पहिलो संविधानसभाको म्याद गुज्रिँदै थियो तर त्यसले संविधान निद सकिरहेको थिएन। त्यसबेला थापासहितको समूहले नेपाल युनाइटस् नामक भन्ने नागरिक अभियान सुरु गर्‍यो।

जसमा उनीहरुले विभिन्न पेसाका अगुवा र गैरराजनीतिक युवाहरुलाई समेटे। उनीहरु ‘ज्याला पुरा लियौ, अब संविधान देऊ’ भन्ने नारासहित संविधानसभा भवनअघि उभिएर सभासदमाथि दबाब सिर्जना गरे।

पहिलो संविधानसभा असफल भएपछि पैदा भएको निराशाका माझमा थापाहरुको समूहले विवेकशील दलको परिकल्पना गरेका थिए। सुरुमा विभिन्न क्षेत्रका नागरिक, अगुवाहरुको अन्तक्र्रियापछि उनीहरु राजनीतिक दल खोल्ने निर्णयमा पुगे।

हरेक नागरिकमा सही र गलत छुट्याउन सक्ने ‘कमन सेन्स’ हुनुपर्ने उनीहरुको विश्वास थियो। त्यही शब्दलाई उनीहरुले भाषान्तरण गरेर विवेकशील नाम जुराए। थापासहितका युवाहरुल तत्कालीन चौध अञ्चलको ‘विवेकशील पदयात्रा’ गरेर पार्टीको सुरुवात गरेका थिए।

‘नागरिकलाई विवेकशील बनाउन सक्यौँ भने मात्र नेतृत्व जवाफदेही हुने हो। त्यसैले हाम्रो मुख्य सिद्धान्त नै विवेकशील नागरिक बनाउनु हो,’ दलका संस्थापक अध्यक्ष थापा भन्थे।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा विवेकशीलले काठमाडौँ महानगरपालिकाको मेयरमा नेतृ रन्जु दर्शनालाई उठाएको थियो। रन्जु देखिने अनुहार भएपनि पर्दापछाडि थापाले अभियान शशक्त पारेका थिए। जसले परिणाम पनि देखायो,  रन्जुले २३ हजार ४२९ मत पाइन्। मेयरको प्रतिस्पर्धामा तेस्रो स्थानमा रहेपनि यो विवेकशील र उसका एजेन्डाहरुप्रति शहरिया युवाहरु आकर्षित रहेको प्रमाण पनि थियो।

त्यहीबेला बीबीसी नेपाली सेवाको प्रमुख पद त्याग्दै रवीन्द्र मिश्रको समूहले पनि वैकल्पिक राजनीतिका लागि भन्दै साझा पार्टी दर्ता गरेको थियो। स्थानीय तह निर्वाचनमा एक हुन नसकेका दुवै वैकल्पिक पार्टीहरु विवेकशील र साझाबीच २०७४ साउनमा एकता हुँदै विवेकशील साझा पार्टी बन्यो। नयाँ पार्टीको संयोजकको जिम्मेवारीमा मिश्र र थापाले वहन गहन गरे।

२०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा थापाले काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका थिए। उक्त क्षेत्रमा एमालेका ईश्वर पोखरेल २३ हजार २९ मतसहित विजयी भए। थापाले ६ हजार ८५३ मतसहित तेस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो।

विवेकशील र साझाको एकता १७ महिना पनि टिक्न सकेन। २०७५ पुस २७ गते थापासहितको समूह पुरानै विवेकशील नेपाली दलमा फर्किए। सोहीकारण केही नेताहरुले उनलाई पार्टी फुटाएको दोष थुपार्दै आएका छन्। त्यसबेला थापाले भने वैचारिक विमति तथा पार्टीमा निषेधको राजनीतिका कारण अलग हुनुपरेको कारण दिए।

साझाबाट छुटेपछि २०७६ असोजमा जनकपुरमा विवेकशीलको सम्मेलन भयो। पार्टीले मिलन पाण्डेलाई अध्यक्ष चुन्यो। त्यसयता थापा राजनीतिमा सक्रिय थिएनन्। पार्टीका साथीभाइसँग उनले केही समय सक्रिय राजनीतिबाट विश्राम लिने बताएका थिए।

गत मंसिरमा विवेकशील र साझा पार्टीबीच पुनः एकता भएर फेरि विवेकशील-साझा पार्टी बनेको छ। तर एकताका बेला थापा कतै दृश्यमा देखिएका थिएनन्।

यहीबीच अघिल्लो साता कोरोना भाइरसको संक्रमणबाट थापा सिकिस्त बनेको खबर बाहिरिएको थियो।

उनको निधनसँगै विवेकशील साझा पार्टीको मंगलबार बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा हाम्रा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यहरूलाई आह्वान समेत गरेको छ। पार्टीमा "उज्वल थापाको जीवन र विचार" विषयमा छलफल र बहस चलाउने निर्णय पनि भएको छ।

'नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ। खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ,' पार्टीले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .