राजनीति


विवेकशील पार्टीका संस्थापक उज्वल थापाको निधन

विवेकशील पार्टीका संस्थापक उज्वल थापाको निधन

नेपालखबर
जेठ १८, २०७८ मंगलबार ११:३७,

विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको निधन भएको छ।

थापाको मंगलबार ४ बजेर २५ मिनेट जाँदा निधन भएको उपचारमा संलग्न डा. विश्व दवाडीले नेपालखबरलाई बताए।

कोरोना संक्रमणबाट सिकिस्त भएका उनको केहि दिनदेखि ललितपुरस्थित मेडिसिटी अस्तालमा उपचार भइरहेको थियो।

भेन्टिलेटर र इक्मो विधिबाट उपचार गर्दा पनि कुनै सुधार नभएपछि गत २–३ दिनदेखि उनको स्वास्थ्य स्थिति अत्यन्त जटिल रहेको उनको उपचारमा संलग्न डाक्टर र परिवारजनले बताएका थिए।

अस्पतालले उनको निधनको घोषणा गरेपछि थापाको परिवार, साथी र शुभेच्छुकका तर्फबाट समेत जानकारी दिइएको छ।

नेपाल बन्द, भ्रष्टाचारजस्ता प्रवृत्तिविरुद्ध सशक्त अभियान सुरु गरी आफूलाई एक सामाजिक अभियन्ताका रुपमा स्थापित गरेका थापाले विवेकशील नेपाली दलको स्थापना गरी काठमाडौंबाट निर्वाचन पनि लडेका थिए।

सबै यातायात ठप्प पार्ने गरी विभिन्न दल तथा समूहले नेपाल बन्द गर्दा उनले ‘नेपाल खुला छ’ भन्ने अभियान सुरु गरेका थिए।

उनले हरेक अभियानलाई शान्तिपूर्ण प्रदर्शन र पारदर्शिताको उदाहरणको रुपमा प्रस्तुत गर्ने गरेका थिए। थापाले सुरुवात गरेका शैलीलाई अन्य दल र समूहले पनि अनुसरण गर्ने गरेका छन्।

परिवारजनले जारी गरेको जानकारी जस्ताको तस्तै:

उज्वल थापा हामीबिच रहनुभएन !
हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजूरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वल बहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४:२५ बजे) हामीबिच रहनु भएन ।
हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ !

उहाँले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरू; नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरु; युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ ! उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो । उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पित छौँ !

उहाँको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति हामी आभारी छौँ । यस्तो विषम परिस्थितिमा धैर्य धारण गरी संयमताका साथ उज्वलको लागि साथ, सहयोग दिनुहुने र अनवरत प्रार्थना गरिरहनु भएका उज्वलका आफन्तजन, नेपाल भित्र र बाहिरका साथी तथा शुभेच्छुक सबैप्रति हामी कृतज्ञ छौँ । तपाईंहरूले व्यक्त गर्नुभएका सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । नेपालका राष्ट्रपतिज्यू, नेपाल सरकार तथा विभिन्न राजनीतिक दलका तर्फबाट व्यक्त भएको सहयोग गर्ने इच्छा, सद्भाव र शुभेच्छाको लागि हामी कृतज्ञ छौँ ।

अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको भए पनि अहिलेको संक्रामक रोगको समयमा उहाँको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनुहुन हामी आग्रह गर्दछौँ ।

उज्वल बहादुर थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट,
२०७८ जेठ १८ गते

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .