नेकपा एमालेका जनवर्गीय संगठनले पार्टी विरोधीहरुलाई अनुशासनको कारबाही गरेको भन्दै त्यसको स्वागत गरेको छ।
विभिन्न १६ वटा एमाले निकट संगठनहरुले एक विज्ञप्ति निकाल्दै माधव नेपाल, झलना खनाल, भीम रावल लगायत नेताहरुलाई एमाले स्थायी समितिले गरेको कारबाहीको स्वागत गरेको हो।
'हाम्रो मातृपार्टी नेकपा (एमाले) मा रही यही पार्टीलाई समाप्त पार्न आफ्नो कुत्सित महत्वाकांक्षा पूरा गर्न पार्टी अध्यक्षमा कमरेड केपी ओली निर्वाचित हुनुभएको भोलिपल्टदेखि र वर्तमान सरकारको नेतृत्व सम्हाल्नुभए लगत्तै सरकार र सम्माननीय प्रधानमन्त्री केपी ओलीका विरुद्धमा अनेक वितण्डा मच्चाउन उद्धत् पार्टीविरोधी तत्वहरुलाई पार्टीले अनुशासनको कारवाही गरेकोमा त्यसको हार्दिक स्वागत गर्दछौँ', विज्ञप्तिमा भनिएको छ।
उनीहरुले मूल पार्टीको पक्षमा दृढतापूर्वक उभिई स्थिरता, विकास र 'समृद्ध नेपाल, सुखी नेपाली' को राष्ट्रिय आकांक्षालाई पूरा गर्न एकजुट भई लाग्नसमेत अनुरोध गरेका छन्।
प्रतिनिधिसभा विघटनको विषयमा सेवानिवृत्त भएका केही व्यक्तिहरुले आफ्नो पदीय मर्यादा नाघी सडकबाटै न्याय दिऊँला जस्तो गरेको आरोप उनीहरुको छ।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावितसमेत गर्ने बदनियत देखिएको उनीहरुले बताएका छन्।
'प्रतिनिधिसभा विघटनको मुद्दामा बहस गर्न भनी गएका केही कालोकोटधारीहरु अत्यन्तै उत्तेजित, अमर्यादित हुँदै ईजलासको समेत अपमान गर्दै आर्फैले भने अनुसारको न्यायाधीश हुनुपर्ने र निर्णय पनि आफुले चाहे अनुसारकै हुनुपर्ने माग गर्ने जस्तो दुनियाँमा काँही नभएको विचित्रको अवस्था देखिन थालेको छ, जुन कुराले सम्मानित अदालतको स्वच्छता, निष्पक्षता, न्यायिक निरुपणमा समेत बाधा पुग्ने देखिएकाले यस्तो हर्कत नगर्न र सम्मानित अदालतलाई आफ्नो कार्य संविधान, कानून र स्थापित संवैधानिक परम्परा अनुसार गर्न बाधा नपुर्याउन अपिल गर्दछौ', विज्ञप्तिमा भनिएको छ।
Shares

प्रतिक्रिया