राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कमल सुवेदीले कर्णाली विकास बैंकमा रकम जम्मा गरेका नागरिकको समस्यामा परेको जनाउँदै उनीहरूको निक्षेप रकम फिर्ता गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवेदीले दाङ, बाँके र बर्दियालगायत देशभरका हजारौँ नागरिक समस्यामा परेको बताए। ‘कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना निक्षेपकर्ताहरूको बचत रकम फिर्ता गर्न नसकेको र रकम अपचलन भएको विषय अत्यन्तै चिन्ताजनक छ,’ उनले भने।
कर्णाली विकास बै(कमा १७ हजार १५६ जना सर्वसाधारण र ६ हजारभन्दा बढी संघ संस्थाको गरी झण्डै चार अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको निक्षेप जोखिममा परेको उनले उल्लेख गरे। ‘भविष्यको सहाराका लागि नागरिकले जम्मा गरेको जीवनभरिको कमाइ फिर्ता नपाउँदा उहाँहरू गम्भीर मानसिक र आर्थिक पीडामा पर्नुभएको छ,’ सुवेदीले भने।
यसमा संलग्नलाई कारबाही गर्न सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन्। ‘म यस गरिमामय सदनमार्फत नेपाल सरकार र नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, दोषीहरूमाथि कानुन बमोजिम कडा कारबाही गरियोस्,’ सांसद सुवेदीले भने।
यससँगै सांसद सुवेदीले नागरिकको निक्षेप रकम फिर्ता गर्ने व्यवस्था गर्न पनि माग गरेका छन्। ‘आम सर्वसाधारण निक्षेपकर्ताहरूको रकम यथाशीघ्र फिर्ता हुने व्यवस्था तत्काल मिलाइयोस्,’ उनले भने।
Shares

प्रतिक्रिया