केही सञ्चारमाध्यमको मूल प्रवेशद्वारमा शंकास्पदरूपमा गाडी पार्किङ गरिएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी (नेकपा) आपत्ति जनाएको छ।
सोमबार एक विज्ञप्ति जारी गर्दै नेकपाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर्न माग गरेको हो।
नेकपाले घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनी कारबाही गर्न तथा यस्ता निन्दनीय र अराजक गतिविधि दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग पनि गरेको छ।
‘पञ्चायती निरंकुशता, राजतन्त्रको दमन र शाही सत्ताका बुट सम्पादकीय कक्षसम्म पुगेका कठिन दिनहरूमा पनि नेपाली पत्रकारिता लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले त्रास, धम्की वा दमनबाट नेपाली प्रेस झुक्ने छैन भन्ने इतिहासले पटक–पटक प्रमाणित गरिसकेको छ।’
प्रेसलाई तर्साएर, दबाबमा राखेर वा भयको वातावरण सिर्जना गरेर सत्यलाई रोक्न सकिन्छ भन्ने सोच लोकतन्त्रविरोधी मानसिकताको उपज मात्र भएको भन्दै यसलाई कीमार्थ स्वीकार गर्न नसकिने नेकपाले जनाएको छ।


प्रतिक्रिया