शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरस्थित खरिपाटी र बोडेमा रहेको सुकुमवासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीका लागि राहत सामग्री वितरण गरेको छ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सोमबार ती दुवै होल्डिङ सेन्टर पुगेर विद्यार्थीका लागि शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेका हुन्।
विद्यार्थीका लागि शैक्षिक सामग्री (झोला, कापी कलम तथा अन्य) तथा खेलकुदका सामग्री (क्यारमबोर्ड, ब्याडमिन्टन, चेस, भलिबललगायत) वितरण गरिएको छ। सो क्रममा शिक्षामन्त्री पोखरेलले बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले होल्डिङ सेन्टरमा बस्दै आएका विद्यार्थीको पठनपाठनमा कुनै कठिनाइ नहोस् भन्ने कुरामा मन्त्रालय प्रतिबद्ध रहेको पनि जानकारी गराए। मन्त्री पोखरेलले भर्नामा समस्या भएका विद्यार्थीहरूका लागि मन्त्रालयको तर्फबाट आवश्यक सहजीकरण गरिने बताएका छन्।
शिक्षामन्त्री पोखरेल शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पदाधिकारीसहित होल्डिङ सेन्टर पुगेका थिए। त्यहाँको अन्य आवश्यकता र थप बन्दोवस्तीका लागि केन्द्रले आवश्यक अध्ययन तथा सहजीकरण गर्ने मन्त्रीको सचिवालयले जनाएको छ।
यसैबीच होल्डिङ सेन्टरमा रहेका विद्यार्थीलाई विद्यालय जान सहजताका लागि भोलि मंगलबारदेखि बसको पनि व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। खरिपाटीमा २१ र बोडेमा १८ जना विद्यार्थी छन्।
यसअघि आइतबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकारका उच्चस्तरीय मन्त्रीहरूको टोलीले होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरी सुकुमवासीहरूको जीवनयापन, उनीहरूले भोगिरहेका समस्या र सरकारी सुविधाको अवस्थाबारे जानकारी लिएको थियो।
Shares

प्रतिक्रिया