दुई दिनदेखि भइरहेको वर्षाले कोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। सोमबार साँझ ६ बजेसम्म पानीको बहाव १ लाख ७२ हजार ९०० क्युसेक पुगेको प्रशासनले जनाएको छ।
पानीको बहाव बढ्दै जाँदा तटीय क्षेत्रमा खतरा बढेको सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले बताएका छन्। उनका अनुसार सम्भावित जोखिम गर्न कोसी ब्यारेजका ५६ मध्ये २० वटा ढोका खोलिएको छ भने जोखिमको संकेतस्वरूप रातो झण्डा र रातो बत्तीसमेत बालिएको छ।
यता, जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका ३४ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन, अनावश्यक रूपमा नदी किनारमा नजान तथा स्थानीय प्रशासनको सूचनाको पालना गर्न आग्रह गर्दै आएको छ।
नदी तटीय क्षेत्र उदयपुर , सुनसरी र सप्तरीका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ।

प्रतिक्रिया