राजनीति


ओलीसँग एकता गर्ने कि नयाँ पार्टी खोल्ने? दोधारमा माधव नेपाल

ओलीसँग एकता गर्ने कि नयाँ पार्टी खोल्ने? दोधारमा माधव नेपाल

नेपालखबर
जेठ २२, २०७८ शनिबार १:४३,

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका नेता माधवकुमार नेपाल दोधारमा परेका छन्।

आफ्नै समूहमा दुईथरी मत देखिएपछि नेता नेपाल अब राजनीति कुन बाटोबाट अघि बढाउने भन्ने विषयमा दोधारमा परेका हुन्।

एउटा पक्ष अन्तिम क्षणसम्म पनि पार्टी एकता प्रयास गर्ने भन्दै अध्यक्ष ओली पक्षसँग वार्ता गरिरहेको छ भने अर्का पक्षले अब ओलीको पछाडि लागेर हुँदैन नयाँ पार्टी खोल्नुपर्छ भनेर जोड दिइरहेको छ।

यसैकारण माधव नेपाल भन्न थालेका छन्, ‘नयाँ दल निर्माण र केपी ओली पक्षसँग वार्ता सँगसँगै अगाडि बढाउनुपर्छ।’

आफूनिकट केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकमा उनले ओली पक्षसँग जारी वार्ता आफूसँग परामर्श गरेरै भइरहेको बताएका हुन्।

केही दिनयता नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट ओली पक्षसँग वार्तामा रहेको खबर सार्वजनिक भएको छ।

यो वार्ता नेता नेपालको इच्छाविपरीत भइरहेको भन्ने चर्चा भएपछि उनले भर्चुअल बैठकमा आफैसँगको सल्लाहमा त्यो भएको दाबी गरेका हुन्।

‘वार्ता र छलफलमा जानु भएका साथीहरूले जानु भन्दाअघि नै मसँग परामर्श र छलफल गर्नुभएको छ। बाहिर आएको जस्तो कुरा होइन। एकल बसे पनि सामूहिक बसे पनि मेरो नोटिसमै भइरहेको हो,’ नेपाललाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘तर वार्ताका नाममा हाम्रो वैकल्पिक पार्टी निर्माण गर्ने विषयलाई अलमल्याउने खोजेको हो कि भनेर हामी चनाखो बन्नुपर्छ। अहिले वार्ता र वैकल्पिक राजनीतिक दल बनाउने विषय सँगसँगै जान्छ।’

भर्चुअल बैठकमा केन्द्रीय सदस्यहरूले वार्ताका नाममा ओली पक्षले नयाँ दल बन्नबाट रोक्ने रणनीति लिएको हुन सक्ने भन्दै नेपाललाई सचेत गराएका थिए।

छलफलमा नेता नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नहुने पनि जानकारी गराएका छन्। ओलीका गतिविधि पार्टीको मात्रै विषय नभएको भन्दै नेता नेपालले हस्ताक्षर फिर्ता नहुने बताएका हुन्।

‘ओलीले जे गरेका छन्। त्यो पार्टीको मात्रै विषय होइन। यो देश र संविधान रक्षाको कुरा हो। यो विषय आफ्नो प्रक्रियामा अघि बढिरहन्छ,’ नेता नेपालले भने, ‘देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र संसद् विघटनविरुद्ध अदालतमा परेको रिट फिर्ता हुँदैन।’

नेता नेपालसहित एमालेका २३ जना सांसदले प्रधानमन्त्री ओलीले दोस्रोपटक गरेको संसद् विघटनविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चाका सांसदसँग मिलेर अदालतमा मुद्दा दायर गरेका छन्।

बिहीबार र शुक्रबार दुई दिन भएको छलफलमा सहभागी भएका केन्द्रीय सदस्यहरुले २०७५ जेठ २ गतेको संगठन ब्युँताउने विषयमा सहमति गरेर मात्रै एकता हुन नसक्ने बताएका थिए।

उनीहरूले ओलीले प्रधानमन्त्री पदबाट पनि राजीनामा दिनुपर्ने धारणा राखेको एक नेताले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .