जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्ष संघीय सरकारमा सहभागी भएसँगै प्रदेश २ मा नयाँ सत्ता समीकरणको खेल सुरु भएको छ।
अहिले प्रदेश २ मा जसपा नेतृत्वको सरकार छ। पूर्वसंघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर सरकार बनेको थियो।
दुई पार्टीबीच एकता भएपछि अहिले एकल बहुमतको सरकार छ। तर राजनीतिक घटनाक्रमले जसपा दुई कित्तामा विभाजित भएको छ।
प्रदेश २ मा ठाकुर पक्षलाई सरकारबाट हटाएर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकारमा ल्याउने समीकरण बनाउन जसपाका अध्यक्ष उपेन्द्र यादव आफै सक्रिय भएका छन्।
शुक्रबार बिहान कांग्रेस उपसभापति विमलेन्द्र निधिसँग भेटेर प्रदेश सरकार समीकरणको विषयमा कुरा गरेका यादव बिहीबार साँझ नै प्रदेश २ को अस्थायी मुकाम जनकपुर आइपुगेका छन्। उनले जनकपुरमा सत्ता समीकरणको विषयमा पार्टी भित्र, कांग्रेस र माओवादीका नेताहरुसँग छलफल सुरु गरेका हुन्।
सत्ता समीकरणकै विषयमा वार्ता तथा छलफल गर्न अध्यक्ष यादव शुक्रबार साँझ जनकपुर आएको जसपाका नेता तथा निवर्तमान सांसद डा. सुरेन्द्र यादवले जानकारी दिए।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि केन्द्रमा प्रतिगमनको विरुद्धमा भन्दै बनेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षको गठबन्धन अनुसार प्रदेश २ मा सरकारकाको समीकरण मिलाउने तयारीमा जसपाको उपेन्द्र पक्ष छ।
तर माधव नेपाल पक्ष अहिलेसम्म क्लियर भएको छैन। तत्काल कांग्रेस र माओवादीलाई सत्ता समीकरण मिलाउँदा जसपा उपेन्द्र पक्ष जोड्दा पूर्ण बहुमतको सरकार बन्न सक्छ।
ठाकुर पक्षका मन्त्री र राज्यमन्त्रीलाई हटाएर तत्काल लालबाबु राउतलाई नै मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीलाई कायम राख्ने विषयमा छलफल जारी रहेको एक नेताले बताए।
पूर्व राजपाबाट जितेन्द्र सोनलको नेतृत्व प्रदेश सरकारमा छ। भौतिक पूर्वाधार विकासमन्त्री रहेका सोनल महन्थकै कोटामा मन्त्री भएका थिए।
भौतिक पूर्वाधार विकास मन्त्रालय, समाजिक विकास मन्त्रालय र उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालय तत्कालित राजपाको कोटामा थियो। तीनवटै मन्त्रालयमा तीन राज्यमन्त्रीसहित ६ मन्त्री छन्।
पछिल्लो समय पार्टीमा महन्थ र राजेन्द्र महतो पक्ष ओलीलाई सघाउन थालेपछि खटपट हुँदा पूर्वराजपाकै दुई मन्त्रीले कित्ता फेरेका छन्।
राजेन्द्र महतोको कोटाबाट समाजिक विकासमन्त्री भएका नवलकिशोर साह र तत्कालिन राजपाकै महेन्द्र राय यादवको कोटाबाट उद्योग वन पर्यटन तथा वातावरण मन्त्री बनेका रामनरेश राय पछिल्लो समय उपेन्द्र पक्षमा लागेका छन्। दुबैजना जसपाको कार्यकारिणी सदस्य हुन्।
पार्टीबाट महन्थ ठाकुरसहित चार नेतालाई कारबाही गर्ने निर्णयमा उनीहरुले समेत हस्ताक्षर गरेका छन्। दुबैजनालाई मन्त्रीमै यथावत राख्ने र महन्त ठाकुर पक्षका मन्त्री जितेन्द्र सोनलसहित तीन राज्यमन्त्रीलाई हटाउने तयारी उपेन्द्र पक्षको छ।
यस्तो छ प्रदेशको अंकगणित
हाल प्रदेश २ मा जनता समाजवादी पार्टीभित्रका पूर्वसंघीय समाजवादी फोरमका ३० र पूर्वराजपाका २५, एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ र एक जना स्वतन्त्र सांसद छन्।
यसअघि प्रदेश सभाको सदस्य संख्या १०७ भए पनि एमाले ओली पक्षमा सामेल एक समानुपतिकसहित आफ्ना ४ जना प्रदेश सांसदलाई माओवादी केन्द्रले कारबाही गरेको थियो।
तर माओवादी केन्द्रले खाली समानुपातिक कोटामा सांसद चयन गरि नसकेकाले अहिले प्रदेश सभामा कायम सदस्य संख्या १०४ छ।
यस हिसाबले प्रदेश २ मा बहुमतको सरकार बनाउन कम्तीमा ५३ सांसद चाहिन्छन्।
सत्ता समीकरणका लागि महन्थ ठाकुर पक्षपनि प्रदेश २ मा सक्रिय भएको छ। महन्थ पक्षका जसपा नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले कांग्रेस, एमाले र माओवादीका सांसदहरुसँग सरकार निर्माणको लागि छलफल गरिरहेको श्रोतले जनाएको छ।
पूर्वराजपाका एक मन्त्री र तीन राज्यमन्त्रीलाई मात्र हटाएर कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन खोजिए पनि भागबण्डा मिलाउन उपेन्द्र यादवलाई सकस भएको छ।
केही मन्त्रालय फुटाएर भएपनि कांग्रेस र माओवादी सन्तुष्ट हुनेगरी सरकारमा ल्याउने विषयमा उपेन्द्र यादवले छलफल चलाएको स्रोतले जनाएको छ।
तर महन्त ठाकुर पक्षका युवा नेता तथा उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले आफूहरु सरकार परिवर्तनको लागि कुनै प्रकारको गतिविध नगरेको दावी गरे।
उपेन्द्र यादव पक्षले नै सत्ता समीकरणको लागि छलफल गरिरहेकाले पर्ख र हेरको अवस्थामा आफूहरु रहेको अवस्थामा रहेको उनको भनाई छ। उनले पार्टीको निर्देशन अनुसार आफूहरु अघि बढ्ने बताए।

प्रतिक्रिया