राजनीति


विश्वासको मतअगावै गण्डकी सरकारमाथि विपक्षीको कडा प्रहार

विश्वासको मतअगावै गण्डकी सरकारमाथि विपक्षीको कडा प्रहार

वाशुदेव मिश्र
असार ४, २०७८ शुक्रबार ८:४०,

विश्वासको मत पाउनेमा ढुक्क रहेका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो कार्यकालमा विपक्षीको कडा चुनौती सामना गर्नुपर्ने देखिएको छ।

मुख्यमन्त्री नेपालीले प्रदेशमा स्थायित्व कायम राख्नका लागि आफूलाई विश्वासको मत दिन अनुरोध गरेका थिए।

त्यसपछि सदनमा बोल्न आएका विपक्षी सांसदहरुको अभिव्यक्तिले उनीहरु मुख्यमन्त्रीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने छनक देखाएका हुन्।

विश्वासको मतको प्रस्तावको विपक्षमा बोल्न रोष्ट्रममा उभिएका अधिकांश एमाले सांसदहरुले तर्क, उखान–टुक्का र आरोपसहित अहिलेको सरकार अपवित्र भएको जिकिर गरे।

उनीहरुले नयाँ सरकार गठन हुुनु र प्रदेशमा आएको बाढीपहिरोको संयोगलाई पनि अपसकुनको रुपमा व्याख्या गर्न समेत भ्याए।

यो पनिः स्थायित्वका लागि मलाई विश्वासको मत दिनुहोस् : मुख्यमन्त्री नेपाली पोखरेल

एमाले सभासद कृष्ण थापाले यो सरकार बन्नासाथ प्रदेशमा बाढीपहिरो आएको विषयमात्रै उठान गरेनन्, कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मरण गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई वृद्धभत्ता खाने उमेरको भन्दै व्यंग्य समेत गरे।

भारतीय कविको कवितांश स्मरण गर्दै यो सरकारमा गुण्डाहरुलाई मन्त्री बनाइएको आरोप लगाए। उनको संकेत आपराधिक पृष्ठभूमिबाट राजनीतिमा उदाएका दीपक मनाङेप्रति लक्षित थियो। यद्यपि, मनाङेलाई उनकै पार्टी एमालेले राजनीतिमा ल्याएको हो। उनी एमाले समर्थनमा निर्वाचित भएका हुन् भने यसअघि एमाले नेतृत्वको सरकारले नै उनलाई सबैभन्दा पहिले मन्त्री बनाएको हो।

सभासद मिना गुरुङले सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको भएपनि कमजोर धरातलमा उभिएको टिप्पणी गरिन्।

एमाले सभासद धनञ्जय दवाडीले मुख्यमन्त्रीतिर फर्कंदै भने, ‘तपाइँको पार्टी (कांग्रेस)लाई दस्तावेजको हिसाबले माओवादी केन्द्रले दुष्मन मान्छ। यो गठबन्धनमा संघीयता नमान्ने पनि छन्, संघीयताका पक्षधर पनि छन् त्यसैले यो अराजनीतिक हो, अप्राकृतिक हो,’ उनको तर्क थियो।

यो पनिः मुख्यमन्त्रीलाई विपक्षीको जवाफ– स्थिरता तोडेर बनेको गठबन्धन अलोकतान्त्रिक

अर्का विपक्षी सभासद मनबहादुर गुरुङले यो सरकारले कास्कीकै बाढीपहिरो पीडितको समस्याप्रति उदाशिनता देखाएको आरोप लगाए।

सभासद राजिव पहारीले यो सरकार केन्द्रको चोचोमोचोमा बनेको जिकिर गर्दै सरकार न हाँसको न बकुल्लाको चालजस्तो भएको टिप्पणी गरे।

विश्वासको मत किन छिटो लिएको भन्ने प्रश्न गर्दै उनले ११ मन्त्री बनाउने तयारीले फजुल खर्च बढाउने बताए। यद्यपि, मन्त्रालय यसअघिकै सरकारले फुटाएको तथ्यबारे भने उनले चर्चा गरेनन्।

सत्तापक्षीय सभासदले चाहिँ विपक्षीको भनाइको बचाउ गरिरहेका छन्। विपक्षी सभासद ओमकला गौतमले विपक्षीले भनेजस्तो यो सरकार खिचडी नभएको र समयको आवश्यकता भएको बताइन्।

हिजो आफ्नो गठबन्धनमा हुँदा त्यही व्यक्ति राम्रो हुने र आज अर्को गठबन्धनमा जाँदा त्यही व्यक्ति अपवित्र नहुने उनको तर्क थियो।

सरकारलाई सघाएको राष्ट्रिय जनमोर्चाकी सभासद पियारी थापाले नयाँ सरकार जनताबाट चुनिएको र गठबन्धनबाट म्याण्डेट पाएको बताइन्। उनले आफ्नो पार्टीले गुण र दोषको आधारमा नयाँ सरकारलाई समर्थन वा विरोध गर्ने बताइन्।

यो पनिः विपनामा त कुरै छोड्नुस्, सपनामा पनि एमालेले विश्वासको मत दिँदैनः गण्डकी सांसद थापा

जसपाकी सभासदको असन्तुष्टि !
जनता समाजवादी पार्टीकी सभासद धनमाया लामाले भने नयाँ सरकारको गठनप्रति कुनै उत्साह देखाइनन्। सदनको रोष्ट्रममा उभिएर बोल्दा उनको अनुहारमा उज्यालो थिएन। उनी रोष्टममा पुगेर पनि खासै खुलेर आफ्ना धारणा राखिनन्।

अनुहारमा असन्तुष्टि झल्काउँदै बोलेकी उनले मुख्यमन्त्रीप्रति जनता समाजवादी पार्टीको समर्थन रहेको मात्रै बताइन्। उनको दलका नेता हरिशरण आचार्यसँगै आफूलाई पनि मन्त्री नबनाइएकोमा उनी रुष्ट छन्।

नेपाली पोखरेललाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्दा जसपाले समर्थन जनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .