राजनीति


ठुला भ्रष्टाचार काण्डमा कांग्रेसले गरायो अख्तियारको ध्यानाकर्षण

ठुला भ्रष्टाचार काण्डमा कांग्रेसले गरायो अख्तियारको ध्यानाकर्षण

नेपालखबर
भदौ १८, २०७६ बुधबार १२:५६,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ।

नेपाली कांग्रेसले बुधबार पार्टी केन्द्रीय कार्य समितिले गरेको १७ बूँदे निर्णय सार्वजनिक गर्दै सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले दुई तिहाईको बलमा लोकतान्त्रिक तथा संवैधानिक व्यवस्था र जनसरोकारको विषयमा गम्भीर गल्ती गरेको दावी गर्दै तत्काल नसच्चिए सदन र सडक दुवैतर्फबाट आन्दोलनमा जान बाध्य हुने निर्णय लिइएको स्पष्ट पारे।

कांग्रेसले सरकारविरुद्धको आन्दोलनलाई सशक्त बनाउन आगामी भाद्र २४ गतेदेखि १५ दिने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान पनि सञ्चालन गर्ने निर्णय गरेको छ। दोस्रो चरणको राष्ट्रिय जागरण अभियान गाउँगाउँमा सञ्चालन गरेर सरकारविरुद्धको पार्टीको आन्दोलनलाई सशक्त बनाउने कार्यक्रम रहेको पनि सहमहामन्त्री डा. महतले बताए।

नेपाली कांग्रेसले संविधानको मर्म र भावना विपरित एउटै दलको सभामुख र उपसभामुख हुने व्यवस्था तत्काल हटाउन पनि सरकारसँग माग गरेको छ। त्यसैगरी लोकतान्त्रिक पद्धति, राष्ट्रिय सुरक्षा र गोपनियतासँग जोडिएको मन्त्रिपरिषद बैठकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट गरेको दावी गर्दै त्यसप्रति पनि आपत्ति जनाउँदै त्यस्ता अबाञ्छित कार्य आगामी नदिन नदोहो¥याउन पनि सरकारलाई सचेत गराइएको सहमहामन्त्री महतले बताए।

नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यकालमा भएका वाईडबडी विमान काण्ड, चिनी काण्ड, सुन काण्ड, मेलम्ची काण्ड, एनसेल कर काण्डको छानबिन कार्यलाई उच्च प्राथमिकतामा दिई दोषी उपर कडा कार्वाही हुने गरी छानबिन गर्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायको गम्भिर ध्यानाकर्षण पनि गराएको छ। सहमहामन्त्री महतले सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको काम कानुन सम्मत ढंगले अघि बढाउन नसकेकोमा पनि आपत्ति जनाए।

यसैबीच, नेपाली कांग्रेसले म्याद सकिएका भातृ संगठनहरुको ६ महिना म्याद थपी अधिवेशन सम्पन्न गरेर नयाँ केन्द्रीय कार्य समिति गठन गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी विदेशस्थित पार्टीको जनसम्पर्क समितिहरुको पनि म्याद ६ महिना थप गर्ने निर्णय गरिएको पनि कांग्रेसले जनाएको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिले संघीयता अनुकूलको पार्टीको विधान पारित गरीसंगठन निर्माणको कामलाई पनि अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad