राजनीति


रास्वपा महाधिवेशन: ९९ सदस्यका लागि ४ सयभन्दा बढीको उम्मेदवारी, अधिकांश सांसद-मन्त्री

रातभर मनोनयन दर्ता र प्रचार
रास्वपा महाधिवेशन: ९९ सदस्यका लागि ४ सयभन्दा बढीको उम्मेदवारी, अधिकांश सांसद-मन्त्री

रास्वपा महाधिवेशन स्थल। तस्बिर: सरोज नेपाल


नेपालखबर
असार १०, २०८३ बुधबार ७:५७, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ केन्द्रीय सदस्य पदका लागि तेब्बरभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्।

चितवनमा जारी प्रथम महाधिवेशनमा मंगलबार साँझ ७ बजे सुरु उम्मेदवारी दर्ता आज बिहान २ बजेसम्म चलेको रास्वपा निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिए।

‘चार सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएको देखिन्छ, यो प्रारम्भिक विवरण हो, हामी उम्मेदवारी दिएकाको नाम रुजु गरिरहेका छौँ’, उनले बुधबार बिहान नेपालखबरसँग भने, ‘केन्द्रीय सदस्यका लागि अधिकांश मन्त्री र सांसदले मनोनयन गरेका छन्।’

रास्वपाका १८२ जना सांसद र १६ जना मन्त्री छन्। रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र ९९  जना केन्द्रीय सदस्य पदका लागि निर्वाचन हुनेछ। जुन आज गरिँदै छ। 

यद्यपि सभापति पदमा अन्य कसैको उम्मेदवारी नपरेपछि रवि लामिछाने मंगलबारै निर्विरोध निर्वाचित भइसकेका छन्।

‘अब उम्मेदवारउपर दाबी-विरोध, उम्मेदवारी फिर्ताको समय दिइनेछ’, उनले भने, ‘अनि आजै केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ।’

उम्मेदवारी दिएकाहरूले मंगलबार बेलुकादेखि नै आफ्ना लागि मत मागिरहेका छन्। उनीहरूले रातभर मत मागिरहेका थिए।

चितवन उद्योग संघको परिसरस्थित प्रदर्शनी केन्द्रको हलमा मतदान हुनेछ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार निर्वाचनमा कुनै पनि उम्मेदवारका प्रस्तावक र समर्थक आफैँ उम्मेदवार बन्न पाउने छैनन्।

पार्टीको निर्वाचन आयोगको यो नियमविपरीत मनोनयन फारम दर्ता गरिएमा उम्मेदवारी स्वतः अमान्य हुने रास्वपाले जनाएको छ।

आयोगले विभिन्न पदका लागि प्रस्तावक र समर्थकको संख्या पनि तोकेको छ। 

रास्वपाले सभापति पदको उम्मेदवारीका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक तथा केन्द्रीय सदस्यका लागि १ जना प्रस्तावक र २१ जना समर्थक हुनुपर्ने नियम बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad