ad ad

राजनीति


इजलासमा टोपबहादुरको याचना : मेरो राजनीतिक भविष्य सिध्याउन मुद्दा लगाइयो, सफाइ पाऊँ

इजलासका २६ प्रश्नमा टोपबहादुरले दिए यस्तो जवाफ
इजलासमा टोपबहादुरको याचना : मेरो राजनीतिक भविष्य सिध्याउन मुद्दा लगाइयो, सफाइ पाऊँ

उजिर कार्की
जेठ १९, २०८० शुक्रबार १६:५५, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनाकै बयान सक्ने तयारी भएको छ। बयानको अन्तिम दिन जिल्ला अदालत काठमाडौंका छुट्टाछुट्टै फाँटमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, शरणार्थी नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनले बयान दिइरहेका छन्। 

यसअघि १५ जनाको बयानसकिएको छ। बयान सकिएसँगै सबै प्रतिवादीविरुद्ध थुनछेक आदेश आउने छ। यही प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले बिहीबार बयान दिएका थिए। उनलाई इजलासले २६ वटा प्रश्न गरेको थियो। 

जसमा रायमाझीले यसअघि जिल्ला सरकारी वकिल कार्यालय र प्रहरी समक्ष दिएको बयानभन्दा केही फरक बयान दिएका छन्। 

पहिलो प्रश्नमा उनको परिचय लगायत कुरा सोधिएको छ। जसमा उनले आफ्नो तीन पुस्तेसहित खुलाएका छन्। मोबाइल नम्बरसमेत खुलाएका रायमाझीले कुनै पनि सामाजिक सञ्जाल भने नचलाउने गरेको बताएका छन्। 

दोस्रो प्रश्न अदालतमा किन उपस्थित भएको भन्ने छ। त्यसमा उनले शरणार्थी सम्बन्धी मुद्दामा पक्राउ परेर बयान दिन उपस्थित भएको जवाफ दिएका छन्। 

इजलासले सवाल नम्बर ६ मा प्रतिवादीहरु ककसलाई चिन्नुहुन्छ भन्दै उनीहरुसँग लेनदेन र रिसइवी झगडा छ छैन भनेर सोधेको छ। 

केशव दुलाललाई १५/१६ वर्ष पहिले सुजाता कोइरालाको निवासमा जाँदा उनको स्वकीय सचिव भन्ने सुनेको र त्यही क्रममा चिनजान र भेटघाट भएको बताएका छन्। 

त्यसपछि धार्मिकस्थल गोसाइँकुण्डमा जाँदा भेटघाट भएको तर त्यसयता कुनै भेटघाट नभएको जवाफ दिएका छन्। सानु भण्डारीसँग सामान्य चिनजान रहेको बताएका छन्। सन्दीप रायमाझी छोरा भएको खुलाएका उनले बालकृष्ण खाँणसँग चिनजान रहेको बताएका छन्। टेकनाथ रिजालसँग सार्वजनिक कार्यक्रममा ६/७ वर्ष पहिले भेटघाट भएको र अन्यसँग चिनजान नरहेको र भेटघाट पनि नभएको जवाफ दिएका छन्। 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भने रकम लिई अमेरिका नपठाई रकम फिर्ता समेत नगरी ठगी गरेको भन्ने जाहेरीका बारेमा सोधिएको प्रश्नमा रायमाझीको जवाफ छ– जाहेरवाला जति पनि व्यक्तिहरु कसैसँग मेरो चिनाजान रहेको छैन। उनीहरुसँग चिनजान नभएको हुनाले लेनदेन पनि हुने प्रश्न नै भएन। म उर्जामन्त्री भएको समय भन्दाअगाडि संसद् सदस्य रहेको अवस्थामा भुटानी शरणार्थीहरुको समस्या समाधानको लागि विभागीय मन्त्रालयले कार्यदल बनाएको भन्ने कुरा पत्रपत्रिकाबाट थाहा पाएको थिएँ। तर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने विषयमा भने मलाई केही जानकारी छैन।

योजना कसले बनाएको भन्ने पनि उनले थाहा नभएको जवाफ दिएका छन्। 

उनले इजलासमा बयान दिँदा केशव दुलाल र सानु भणडारीबाट रकम लिएको कुरा अस्वीकार गरेका छन्। आफ्नो राजनीतिक छवि धमिल्याउन कसैको उक्साहटमा आएर निजले यस्तो बयान दिएको हुनसक्छ भन्दै रकम लिएको कुरा झुटा भएको र आफूलाई फसाउन खोजेको बताएका छन्। 

रायमाझीका स्वकीय सचिव लीला जिसीले केशव दुलाललाई मन्त्री क्वार्टरमा बोलाई समितिबाट निर्णय भएको अघिल्लो दिन १ करोड नगदै बुझिलिएको भन्ने बारेमा इजलासले सोधेको थियो। तर रायमाझीले यस बारेमा पनि आफूलाई थाहा नभएको बताए। 

इजलासले ११ औँ प्रश्न भने रामबहादुर थापा बादलदेखि केपी ओलीका स्वकीय राजेश बज्रचार्यको बारेमा सोधेको छ। केशव दुलालको बयानलाई आधार मान्दै सोधिएको छ– तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र तपाईंसँग मिटिङ गराई सकेपछि तपाईंहरुले काम हुने भयो भनी डा. अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितले जनही १ करोड बुझिलिएका भन्ने उल्लेख गरेको कुरा के कसो हो? तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र तपाईंबीच के विषयमा कुराकानी भएको थियो? खुलाइदिनुहोस्।

जवाफमा रायमाझीले भनेका छन्– सर्वप्रथम डा. अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितलाई चिन्दिनँ। रामबहादुर थापा बादलको मन्त्री क्वाटरमा मिटिङ बसेको सत्य होइन। सामाजिक समितिबाट भुटानी शरणार्थीको विषयमा निर्णय गराउने सम्बन्धमा रकम दिनुपर्छ भन्ने विषयमा मलाई जानकारी छैन।

यस्तै इजलासले २०७६ असार २८ गते सानु भण्डारीले रायमाझीको घरमा गई १ करोड ४० लाख नगदै दिएको र ४० लाख छोरा सन्दीपलाई दिएको भन्ने कुरा प्रष्ट पार्न भनेको छ। तर रायमाझीले आफूले रकम लिएको कुरा गलत भएको जवाफ दिँदै छोराको बारेमा उसैबाट प्रष्ट हुने बताएका छन्। 

उनले सानु भण्डारीको डायरीमा लेखेको कुरा पनि थाहा नभएको बताएका छन्। तर सानु भण्डारी र उनका छोरा सन्दीप व्यावसायिक साझेदार रहेको कुरा भने स्वीकारेका छन्। 

सानु भण्डारी र टोपबहादुर रायमाझीले एकअर्कालाई मामा–भान्जा भनेर सम्बोधन गर्थे। तर इजलासको बयानमा भने उनले सानु भण्डारी भान्जा नभएको र आफू उनको मामा पनि नभएको बताएका छन्। 

सानु भण्डारीको डायरीमा भएको विषय ज्यादै नै निन्दनीय भएको पनि उनले बताएका छन्। 

सानु भण्डारीको मोबाइलमा फेला परेको म्यासेज र अडिओको बारेमा पनि रायमाझीलाई इजलासमा प्रश्न सोधिएको छ। रायमाझीले त्यो नम्बर आफ्नो भए पनि सानु भण्डारीले उनको मोबाइलमा लेख्ने विषय आफूसँग सम्बन्धित नभएको बताएका छन्। भेटमा सानु भण्डारीले मामा नभनी माननीयज्यू भनेर सम्बोधन गर्ने गरेको उनको भनाइ छ।

यस्तै गोविन्द चौधरीले टेकनाथ रिजाललाई आफ्नो घरमा ल्याइदिएको कुरा पनि रायमाझीले अस्वीकार गरेका छन्। 

टेकनाथ रिजालले बयानमा रायमाझीको पनि संलग्नता रहेको कुरा हचुवामा लेखेको बताउँदै रायमाझीले एक पटकभन्दा उनीसँग भेट नभएको बताएका छन्। 

रिजालले आफूले गरेको अपराध लुकाउन बयानमा आफ्नो नाम लिएको उनसक्ने बताए। यदि आफ्नो संलग्नता भएको भए ५/६ वर्ष पहिले नै उजुरी दिनु पर्ने उनले बताएका छन्। 

त्यसपछि इजलासले १८ औँ सवालका रुपमा उनलाई अनुसन्धान मिसिलमा भएको कुरा पढेर सुनाएको थियो। 

उनले गोसाइँकुण्ड गएको कुरा स्वीकार गरेका छन्। इन्द्रजित राई सामान्य चिनजानको व्यक्ति भएको बताएका छन्। अर्घाखाँची जिल्लामा बाढीपहिरोबाट भएको क्षतिको सम्बन्धमा राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन भनी डेलिगेसनसहित गृह मन्त्रालय पुगेको बताएका छन्। यसबाहेक पटकपटक गृह मन्त्रालय जानुको कारण पनि जिल्लाका बाढीपहिरो पीडितका लागि भएको उनले बयान दिएका छन्। 

बालकृष्ण पन्थी कार्यदलको संयोजक भएको सामान्य जानकारी भएको बताएका उनले २०८० वैशाख २० गते सभामुखसँग अर्घाखाचीको बल्कोट माविको हिरक महोत्सवमा गएको बयान दिएका छन्। दिउँसो २ बजे आफू र छोरालाई पक्राउ पुर्जी जारी भएको जानकारी पाएपछि अर्घाखाँची बस्ने कार्यक्रम स्थगित गरेर काठमाडौं हाजिर हुने तयारी गरेको उनको बयान छ। सभामुखको ८ बजेको टिकट भए पनि आफ्नो लागि राति ९ बजेको मात्रै टिकट पाएको छोराको लागि पनि टिकट लिन खोज्दा नपाएको उनको बयान छ। रायमाझीले बुटवल हुँदै विमानस्थल जाने सोचे पनि बीचमै छोरा सन्दीपलाई गिरफ्तार गरेको जानकारी पाएको र आफ्नो लागि पनि विमानस्थलमा गिरफ्तारका लागि प्रहरी तयार रहेको जानकारी पाएको बताएका छन्। 

आफैँ हाजिर हुन भनी टिकट काटिसकेको मान्छेलाई गिरफ्तार गर्ने तयारी गरेको थाहा पाएपछि बिरामी पनि भएकाले उपचार गराएर आफैँ हाजिर हुन्छु भनेर केही ढिला भएको बताएका छन्। काठमाडौं हाजिर हुन भनी आएको समयमा प्रहरीले फेला पारी लगेको उनको बयान छ।

त्यसपछि रायमाझीलाई प्रेमराज पन्थीको जाहेरी पढेर सुनाइएको थियो। र यसमा भएको व्यहोरा के कसो हो भनी सोधिएको थियो। 

उनले पन्थीलाई रेस्टुरेन्टमा भेटेको कुरा पनि अस्वीकार गरेका छन्। यसमा पनि उनले आफ्नो राजनीतिक छवि धमिलो बनाउने उदेश्य स्वरुप कसैको उक्साहटमा यस्तो जाहेरी दिएको जवाफ दिएका छन्। 

आफूलाई पक्राउ गरेपछि पन्थीले झुटा व्यक्ति खडा गरी दिएको जाहेरीको विषयमा प्रहरीलाई थाहा होला भन्ने जवाफ दिएका छन्। 

उनले त्यसपछि पन्थी कार्यदलको प्रतिवेदनको बारेमा के के थाहा छ भनेर सोधिएको थियो। तर रायमाझीले यसबारेमा पनि पत्रपत्रिकाबाट थाहा पाएको तर प्रतिवेदन हेरफेर गरेको विषयमा थाहा नभएको जवाफ दिएका छन्। 

घटना विवरण कागजात पढेर सुनाउँदा पनि उनले यस विषयमा जानकारी नभएको जवाफ दिएका छन्। यस्तै सानु भण्डारीको मोबाइलमा फेला परेको अडिओ रेकर्डमा प्रेम राई, बादल, टोपबहादुर रायमाझीलाई ५ करोड दिएको, १ हजार ६२९ जनाको फाइल पास गराउनु पर्छ भनेको लगायतका विषयमा सोधिएको थियो। 

तर रायमाझीले यो कुरा पनि जानकारी नभएको बताए। 

उनलाई लगाइएको अभियोग र कानुनी व्यवस्थाबारे रायमाझीलाई सोधिएको प्रश्नमा भने उनले लामो राजनीतिक इतिहास बताउँदै जवाफ दिएका छन्। २०४८ सालदेखिको राजनीतिक योगदान सुनाउँदै उनले भुटानी शरणार्थी प्रकरणमा यो मुद्दा जे जसरी उठ्दै छ, त्यसको आन्तरिक र बाह्य कारणहरु रहेको बताएका छन्। धेरै विषयमा समयक्रममा खुल्दै जाने उनको भनाइ छ। आफ्नो लक्ष्य देश र जनताको विकास र समृद्धि रहेकाले नेपाली जनताले भुटानी शरणार्थी ठग्नेजस्तो कार्यमा संलग्न हुने सवाल नै नरहेको बताए। यसमा उनले २ करोड ठगेको पनि अस्वीकार गरेका छन्। आफू संलग्न नहुँदानहुँदै पनि आफ्नो राजनीतिक भविष्यलाई विचलित गराउन, निष्कलंकित व्यक्तिविरुद्ध राजनीतिक प्रतिशोध साँध्न आफूविरुद्ध दायर भएको मुद्दा खारेज गरी अदालतबाट सफाइ दिई न्याय दिलाउन उनले अनुरोध गरेका छन्। 

२४ औं प्रश्न उनलाई परिवारको आर्थिक अवस्था र जग्गाजमिन र बैंक खाताहरुको बारेमा सोधिएको थियो। 

उनले संसद् सचिवालयले खोलेको एभरेस्ट बैंकको खाता मात्र रहेको बताएका छन्। मेगा बैंकबाट ३ करोड ऋण छोराले लिएको जनाएका छन्। आफ्नो नाममा भने अर्घाखाँचीमा ८ रोपनी जग्गा मात्रै रहेको रायमाझीले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .