ad ad

राजनीति


स्थानीय निर्वाचनका ‘शेर’, संसदीय निर्वाचनमा ‘बिरालो’

स्थानीय निर्वाचनका ‘शेर’, संसदीय निर्वाचनमा ‘बिरालो’

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १९:३५, काठमाडौँ

नयाँ नेतृत्वका बाबजुद राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तह निर्वाचन–२०७९ मा अपेक्षा गरेअनुसार सफलता प्राप्त गर्न सकेन। तर,  हेटौँडा उपमहानगरपालिका (मकवानपुर) मा राप्रपाका उम्मेदवारले प्राप्त गरेको मत भने सनसनीपूर्ण थियो। 

राप्रपाबाट कमल थापाको बहिर्गमनका बाबजुद सो पार्टीका मेयरका उम्मेदवार दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत प्राप्त गरेका थिए। 

भलै सिंह तेस्रो स्थानमा रहेर पराजित भए तर, २०४९ देखि एमालेको कब्जा रहेको हेटौँडामा विजयी एकीकृत समाजवादीकी मीना लामाले प्राप्त गरेको २३ हजार ८० र निकटतम प्रतिद्वन्द्वी एमालेका अनन्तप्रसाद पौडेलले प्राप्त गरेको २० हजार ९ सय ८० को तुलनामा राप्रपाका सिंहले प्राप्त गरेको २० हजार ५ सय ३१ मत २०६२–०६३ का परिवर्तनकारी शक्तिहरुका विष्मयकारी थियो। 

पञ्चायतकालदेखि नै दरबारसँग निकट सम्बन्ध रहेका सिंहले प्राप्त गरेको मत मात्र सनसनीपूर्ण थिएन, सार्वजनिक–राजनीतिक जीवनमा कमै देखिने सिंहको स्थानीय चुनावका बेला सार्वजनिक तस्बिर पनि सनसनीपूर्ण थियो। 

ठकुरी खलकका उनी ‘थर’ले त ‘सिंह’ थिए नै, बुढेसकालतिर ढल्किँदा समेत खाइलाग्दो जिउ, फुलेर सेतै भइसके पनि शेरकै जस्ता बाक्ला–रवाफिला जुँगा, पुष्ट अनुहार र त्यसमाथि कालो चस्माका कारण उनी साँच्चिकै ‘सिंह’ जस्तै देखिन्थे। 

यस्तो तस्बिर र स्थानीय तह निर्वाचनमा प्राप्त मतका कारण सिंहको पुन: उपस्थितिलाई हेटौँडाको राजनीतिमा ‘नयाँ शेर’ को उदय भएको मान्न थालिएको थियो। 

त्यहीकारण राप्रपाले प्रतिनिधि सभा निर्वाचनमा पनि उनलाई मकवानपुर–१ बाट प्रतिस्पर्धामा उतार्यो। स्थानीय तह निर्वाचनमा प्राप्त मत र देशव्यापी रुपमा देखिएको राप्रपाप्रतिको आकर्षणका कारण सिंहले बाजी मार्न बेर लगाउँदैनन् भन्ने कतिपयको आकलन थियो। 

तर, त्यही हेटौँडा (मकवानपुर) ले ७ महिना नबित्दै उनको परिचय बदलिदिएको छ। स्थानीय तह निर्वाचनमा हेटौँडाका ‘नयाँ शेर’  मानिएका उनको राजनीतिक हैसियत ४ मंसिरको निर्वाचनले ‘बिरालो’ मा झारिदिएको छ। 

पछिल्लो मत परिणाम अनुसार सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) यहाँ ७ हजार ५ सय ८० मतसहित अग्रस्थानमा छिन्। एमाले उम्मेदवार रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले ५ हजार १ सय ८ मतसहित उपाध्यायलाई पछ्याइरहेका छन्। 

यसपटक पनि ‘शेर’ बनेर मकवानपुर–१ मा सफल सिकार गर्लान् भनेर राप्रपाले मैदानमा उतारेका सिंहले मंगलबार अपराह्नसम्मको गणना अनुसार २ हजार ३ सय ७७ मत मात्र प्राप्त गरेका छन्। 

स्थानीय निर्वाचनको जस्तो सनसनी यसपटक सिंहले सिर्जना गर्न नसक्ने मकवानपुर–१ को मतगणनामा देखिएको अहिलेसम्मको रुझानले बताउँछ।

जानकारहरुका भनाइमा दुई कारणले स्थानीय तह निर्वाचनमा सिंहले सनसनीपूर्ण मत प्राप्त गरेका थिए। 

पहिलो कारण सत्ता गठबन्धन र एमाले दुवैतर्फ देखिएको असन्तुष्टि थियो। 

‘एमाले किल्ला’ को परिचय पाएको हेटौँडा उपमहानगरपालिकाको मेयरका लागि सो पार्टीबाट थुप्रै आकांक्षी थिए। तर, अनन्तप्रसाद पौडेलले बालकोटको आशीर्वाद प्राप्त गरे। यस्तोमा एमालेका असन्तुष्टहरुले सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी मीनालाई भन्दा राप्रपाका सिंहलाई मत दिनु उपयुक्त ठाने।   

त्यो भन्दा ठूलो असन्तुष्टि सत्ता गठबन्धनभित्र थियो। पार्टीको कम प्रभावका बाबजुद एकीकृत समाजवादीकी मीना लामाले सत्ता गठबन्धनबाट टिकट प्राप्त गरेकी थिइन्। त्यहीकारण कांग्रेसका असन्तुष्टहरुले मत पर्ने डालो पनि सिंहको चुनाव चिन्ह हलो बन्न पुग्यो। 

माओवादीले त झन् मेयर–उपमेयर दुवै पाएको थिएन। यसले गर्दा माओवादी समर्थित असन्तुष्ट केही मत पनि सिंहलाई नै प्राप्त भयो। 

कमल थापाको राप्रपाबाट बहिर्गमनका बाबजुद उनकै गृहनगर हेटौँडामा सिंहले तरक्की गर्नुको राजनीतिक कारण यही थियो। 

अर्काे कारण झनै रोचक थियो। 

गणतन्त्र स्थापनापछि मकवानपुरको राजनीतिमा गुमनामप्रायः रहेका सिंहले २०७० को निर्वाचनमा मकवानपुर–२ मा प्रतिस्पर्धा गरी दोस्रो स्थान हासिल गरेका थिए। तर, त्यसपछि उनी फेरि त्यहाँको राजनीतिमा गुमनाम रहे। 

सार्वजनिक जीवनमा कमै देखिने उनी ‘रसरङ्गी’ स्वभावका कारण पञ्चायतकालमा निकै चर्चित थिए। ‘दीपक राजा (दीपकबहादुर सिंह) का बडिगार्डसमेत खाइलाग्दा केटीहरु हुन्छन्’ भन्ने चर्चा चल्थ्यो। हेटौँडामा उनको बाहुबली शैलीको पनि निकै चर्चा हुने गथ्र्याे। 

सिकारका सौखिन उनी चितवन राष्ट्रिय निकुन्जभित्र छिरेर अवैध सिकार  गर्ने समेत हिच्किचाउँदैनथे। दरबार र सेनाका उच्च अधिकृतहरुसँगको सम्बन्ध–सम्पर्कले यसमा उनलाई सजिलो बनाएको थियो।

२०५४–५५ ताका सेनाको तत्कालीन कर्णेल दीलिप शमशेर राणासँग सिकार गर्दागर्दै उनी मारिएको रतुवासहित पक्राउ परेका थिए। उनीसँगै पक्राउ परेका कर्णेल राणा तत्कालीन प्रधानसेनापति धर्मपालवरसिंह थापाका ज्वाइँ भएकाले उनीहरुलाई उन्मुक्ति मिल्यो। 

नाम होस् या दुर्नामा, यस्ता घटनाका कारण उनी हेटौँडामा चर्चित थिए। पछिल्लो समय सार्वजनिक जीवनमा धेरै नदेखिने हुँदा उनी रहस्यका पात्र जस्तै थिए। 

यस्तो रहस्यका पात्र बनेका यी ‘ठकुरी राजा’ २०७० को निर्वाचनपछि एकचोटि २०७९ को स्थानीय तह निर्वाचनमा देखिएर हेटौँडावासीहरुको ध्यान आफूतिर आकर्षण गर्न सफल भए। हेटौँडाको राजनीतिमा उनको अवतरण र आकर्षण लामो समय भूमिगत रहेर सार्वजनिक भएको नेताको जस्तै भयो। 

एमाले, कांग्रेस, माओवादी सबैतिरको असन्तुष्टिका अलावा यही आकर्षणले उनलाई त्यति धेरै मत प्राप्त गर्न सघायो।  

तर, ६ महिनाअघि मात्र निर्वाचनमा प्रतिस्पर्धा गरेका कारण उनी यसपटक मकवानपुरवासीका लागि रहस्यको पात्र रहेनन्। ‘रहस्यका पात्र’ का रुपमा प्राप्त मत त्यसैकारण यसपटक उनलाई प्राप्त भएन। 

अर्काेतिर सत्ता गठबन्धन र एमालेबीचको प्रतिस्पर्धा निकै प्रतिष्ठाको विषय बन्यो, त्यसले गर्दा उनले विपक्षी पार्टीका असन्तुष्ट मतदाताहरुको मत प्राप्त गर्ने स्थिति पनि रहेन।  

स्थानीय तह निर्वाचनमा देशव्यापी रुपमा एमालेलाई सघाउने निर्णय गरे पनि सिंहसँगको लामो राजनीतिक सहकार्यका कारण हेटौँडाको हकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा मौनजस्तै थिए। 

अध्यक्ष थापा यसपटक आफैँ एमाले उम्मेदवारका रुपमा मकवानपुर–१ का प्रतिस्पर्धी बने। यसले गर्दा पनि सिंहलाई असहज भयो। 

परिणाम– स्थानीय तह निर्वाचनमा ‘शेर’ बनेका सिंहको हैसियत ७ महिनापछिको आम निर्वाचनमा ‘बिरालो’ को जस्तो हुन पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .