ad ad

राजनीति


सीके राउत : देश विखण्डन अभियान छाडेर संसदको यात्रामा

जसपा अध्यक्ष यादवलाई दोब्बर बढी मतले हराए
सीके राउत : देश विखण्डन अभियान छाडेर संसदको यात्रामा

फाइल तस्बिर


जयन्त ठाकुर
मंसिर ६, २०७९ मंगलबार १९:५५, जनकपुरधाम

मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई अस्तित्व संकट परिरहेको समयमा केही वर्षअघि जन्मिएको जनमत पार्टी नयाँ शक्तिका रुपमा उदाएको छ। 

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पछाडि पार्दै जनमतका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) राउतले सुरुदेखि नै जित्ने संकेत दिएका थिए। 

यो क्षेत्रमा आधाभन्दा बढी मत गन्नुअघि नै राउतले जसपा अध्यक्ष यादवलाई दोब्बरभन्दा बढी मतले पछाडि पारेका थिए। 

अन्तिम परिणामअनुसार यहाँ उनले ३५ हजार ४२ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी उपेन्द्र यादव १६ हजार ९७१ मतमा समेटिए।

 पाँचदलीय गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत प्राप्त गरे।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २को दुवै प्रदेशसभा क्षेत्रमा जनमत पार्टीका उम्मेदवारले जितेका छन्। 

सप्तरी २ (क)मा जनमतका सतिश सिंहले मधेश प्रदेशका अर्थमन्त्री समेत रहेका जसपाका शैलेन्द्रप्रसाद साहलाई पराजित गरे। 

त्यस्तै सप्तरी २(ख) मा जनमत पार्टीका उम्मेदवार महेश यादवले माओवादी केन्द्रका उमेश यादवलाई पराजित गरेका हुन्। उमेश पूर्व सिँचाइमन्त्री पनि हुन्। 

सप्तरी २ का मतदाताले प्रतिनिधिसभाका साथै प्रदेशसभा क्षेत्रमासमेत जनमतकै उम्मेदवारलाई आफ्नो जनप्रतिनिधि बनाएका हु्न्। 

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वचनपूर्व जनमत पार्टीलाई अन्य राजनीतिक दलले हल्का रुपमा लिने भूल गरेका थिए। 

स्थानीय तह निर्वाचनमा जनमत पार्टीले केही पालिकाको नेतृत्वसँगै केही वडाहरुमा जीत निकालेको थियो। 

स्थानीय तह निर्वाचन परिणामबाट हौसिएका जनमतका अध्यक्ष राउतले सप्तरी २ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका थिए। 

सप्तरी २ बाट निर्वाचन लड्ने घोषणा गरेका राउतले जसपा अध्यक्ष यादव र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरलाई पनि भेटेर साथ खोजे। 

तर त्यहाँबाट खाली हात फर्किएका राउत आफ्नो अडानमा अडिग रहे। फलस्वरुप आज त्यही निर्वाचन क्षेत्रबाट लडेका जसपा अध्यक्ष यादव र लोसपाका उम्मेदवार जयप्रकाश ठाकुर हार तर्फ उन्मुख छन्। 

मूलधारको राजनीतिमा आउने क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग हात मिलाउँदै सीके राउत

फरक छाप
विखण्डनकारी राजनीतिबाट आफ्नो राजनीतिक करिअर सुरु गरेका राउत मूलधारको राजनीतिमा आएको ४ वर्ष नबित्दै संसद भवनसम्मको यात्रा तय गरेका हुन्।

मधेशलाई छुट्टै देश बनाउने योजनासहित राउतले बनाएका स्वतन्त्र मधेश गठबन्धनले २०७५ फागुन २४ गते तत्कालीन नेपाल सरकारसँग ११ बुँदे सम्झौता गरेसँगै मूलधारको राजनीतिमा प्रवेश गरे। 

सुरुका दिन उच्छृंखल रुपमा मधेशमा प्रस्तुत भएको जनमत पार्टी भने पछिल्ला १-२ वर्षमा योजनावद्ध रुपमा अगाडि बढिरह्यो। 

किसान आन्दोलन, भ्रष्टाचारविरुद्धको आन्दोलन, मधेश माटी यात्रा यसका उदाहरण हुन्। 

आफूलाई मधेशकेन्द्रित दल भन्ने जसपा र लोसपासँग कुनै नयाँ एजेण्डा नरहेकाले जनमत पार्टीको उदय भएको राजनीतिक विश्लेषक रोशन जनकपुरी बताउँछन्। 

'मधेशकेन्द्रित दलको सबैभन्दा ठूलो मुद्दा नागरिकता थियो। सबै दलले यसलाई आफ्नो मुद्दा बनाए', जनकपुरीले भने, ‘जसपा र लोसपाका मुद्दा राष्ट्रिय पार्टीहरु नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रले समेत उठाएपछि यिनीहरुसँग  कुनै एजेण्डा नै रहेन।’ 

तर जनमत र उक्त पार्टीका मुखिया राउतले आफूलाई यी दलभन्दा पृथक रुपमा प्रस्तुत गरे। त्यही कारण पनि जनताले पत्याएको हुन सक्ने जनकपुरीको भनाई छ।

आफ्ना समर्थकहरुमाझ सीके राउत

विखण्डनदेखि संसदसम्मको यात्रा
सप्तरीको महदेवा गाउँपालिकास्थित महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत थिए। 
सन् २०११ को अन्त्यतिर उनी त्यहाँबाट राजीनामा दिएर नेपाल फर्किए। उनी अमेरिकामा दर्ता गरिएका तथा मधेशी हक–हितका लागि अन्तर्राष्ट्रिय स्तरमा काम गर्ने गैरआवासीय मधेशी संघका संस्थापक अध्यक्षसमेत हुन्।

पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केही समय विभागीय प्रमुखका रुपमा काम गरे।

त्यहाँबाट पनि राजीनामा दिएर जापान सरकारले दिने मोनबुसो स्कोलरशिपमा पढ्न गए। त्यहाँ अध्ययन सकेर उनी अमेरिकातर्फ लागे। 

उनी जापानबाट सन् २००६ को अगस्तमा घर फर्किँदा मधेसका अधिकारका लागि आन्दोलन चलिरहेको थियो। 

त्यही क्रममा राउत लगायउतका केही व्यक्तिले मधेश छुट्टै देश हुनु पर्छ भन्दै स्वतन्त्र मधेश गठबन्धन बनाए। 

त्यसबीचमा उनी सन् २००९ मा उनी अमेरिका पुगे। त्यहाँ प्रख्यात संस्था बीबीएनमा वैज्ञानिकका रुपमा काम गरे। तर उनले आफ्नो योजनामाथि त्यहाँबाटै काम गरिरहे। 

देश टुक्र्याउन खोजेको आरोप लाग्दा पक्राउ परेका सीके राउत

पहिलो पटक इन्जिनियरिङ पढ्न काठमाडौँ आउँदा यहाँ ऋतिक रोशन काण्ड भएको थियो। जापानमा फर्कने क्रममा इराकका आतंकवादीले १२ नेपालीको हत्या गरेपछि काठमाडौँमा दंगा भड्किएको थियो। 

ती दुवै घटनालाई उनले मधेसीमाथि भएको दमनका रुपमा लिए। यहीँबाट उनको मनमा मधेशलाई अलग्गै देश बनाउनु पर्छ भन्ने योजना बुनेका थिए। 

स्वतन्त्र मधेश गठबन्धन नामक पार्टी खोलेर ६ वर्षसम्म मधेश लाई अलग्गै देश बनाउने अभियान चलाउँदा पटक पटक जेलमा परे। 

राज्य विप्लव मुद्दा खेपि रहेकै समयमा राउतले २०७५ फागुन २४ गते तत्कालीन केपीशर्मा ओली नेतृत्वको सरकारसँग ११ बुँदे सहमति गरेर सुरक्षित अवतरण गरे। 

त्यसपछि स्वतन्त्र मधेश गठबन्धनलाई विघटन गरेर जनमत पार्टी बनाए। जनमत पार्टी निर्माण गरेको ४ वर्ष नबित्दै राउत संसद भवनसम्म पुग्न लागेका छन्। 

यति मात्र होइन समानुपातिकतर्फको मतगणना अनुसार मधेश प्रदेशमा जनमत पार्टी सबैभन्दा ठूलो दलको रुपमा उदय हुन लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .