राजनीति


नागरिकता विवाद : गोपनीयता कायम गर्न माग गर्दै रविले बुझाए स्पष्टीकरण

नागरिकता विवाद : गोपनीयता कायम गर्न माग गर्दै रविले बुझाए स्पष्टीकरण

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार २०:९, काठमाडौँ

नागरिकता विवादबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्पष्टिकरण बुझाएका छन्। 

मंगलबार अपरान्ह ४ बजेतिर चितवन क्षेत्र नं. २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले स्पष्टीकरण बुझाएका हुन्। 

मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश रितेन्द्र थापाले रविको स्पष्टीकरण आइपुगेको बताए।

उनीसँग वैधानिक नेपाली नागरिकता नरहेको भन्दै राजकुमार पाण्डेले उजुरी गरेका थिए। 

उजुरी परेपछि आयोगले उनलाई यस विषयमा ७ दिनको समय दिएको थियो। 

आयोगले कात्तिक २८ गते नै स्पष्टीकरण सोधे पनि उनले स्पष्टीकरण पत्र ३० गते मात्रै बुझेका थिए।

आयोगले दिएको म्यादको अन्तिम दिन आफैँ पुगेर उनले स्पष्टिकरण बुझाएका हुन्। 

उनले स्पष्टीकरणसँगै निवेदन समेत पेश गरेका छन्। उनको निवेदनमा उक्त स्पष्टीकरणको खामबन्दी निर्वाचन आयोगमा पठाइदिन माग गरिएको छ।

यस्तै उनले आफ्नो स्पष्टिकरणको गोपनीयता कायम गरिदिन पनि माग गरेका छन्। 

‘उहाँले लाहाछाप लगाएर पठाएको खामबन्दी हामीले खोलेका छैनौँ। गोपनीयता कायम गर्न माग गरेकाले हामी जस्ताको तस्तै, खोल्दै नखोलि आयोगमा पठाइदिन्छौं’, थापाले नेपालखबरसँग भने। 

लामिछाने पहिले नेपाली नागरिकता नत्यागी अमेरिकाको नागरिकता लिएको, पछि फेरि नेपाली नागरिकता नलिएको भन्दै उनी हालको नागरिकता वैधानिकतामा प्रश्न उठाइएको छ।

यता रविको नागरिकताविवादका बिच निर्वाचन अधिकृतको कार्यालयले मत गणना जारी राखेको छ। 

पछिल्लो मतपरिणाम अनुसार रविलामिछानेले नै अग्रता लिएका छन्। उनको पार्टीले अन्य केही ठाउँमा पनि अग्रता लिएको छ। 

मतगणना सकिएपछि आयोगले घोषणा गर्ने तयारी गरेको छ। त्यसपछि भने रविको नागरिकता विवाद सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुग्ने देखिएको छ। 

रविले भने पहिलेको नागरिकता आफूले नत्यागेको र सरकारले पनि खारेज नगरेकाले पुनः प्राप्ति गरिरहनु नपर्ने दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .