मुगुका गणेश नेपालीले गरेको आत्मदाह प्रयासमा तथ्यहीन प्रचार गरिएको भन्दै ट्राफिकले त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय नेपालीले बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै जिउमा आगो लगाएका थिए।
शरीरको ६० प्रतिशतभन्दा धेरै भाग जलेर गम्भीर घाइते भएका नेपालीको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ता र सञ्चार माध्यमले ट्राफिक प्रहरीले नेपालीलाई जरिवाना तिराएको र सोही कारणले आहत भएर उनले आत्मदाहको प्रयास गरेको भनी भ्रम सिर्जना गर्ने काम भएको ट्राफिक प्रहरीले जनाएको छ।
‘उक्त घटनामा ट्राफिक प्रहरीले गणेश नेपालीलाई फाइन तिराएको र सोही कारणले आत्मदाहको प्रयास गरेको भनी फैलाइएका विवरणहरू पूर्णतः तथ्यहीन र भ्रामक रहेका छन्,’ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘घटनास्थलको वस्तुस्थिति तथा प्रारम्भिक छानविनका क्रममा ट्राफिक प्रहरीद्वारा निजलाई कुनै पनि प्रकारको जरिवाना नगरिएको र ट्राफिक प्रहरीसँग यस घटनाको कुनै पनि सम्बन्ध नरहेको तथ्य स्पष्ट पार्न चाहन्छौँ।’
घटनाको वास्तविक कारणबारे सम्बन्धित अनुसन्धान अधिकारीहरुबाट कानुनी रुपमा अनुसन्धान अघि बढिसकेको भन्दै ट्राफिक प्रहरीले भनेको छ, ‘यस अवस्थामा सत्यतथ्य नबुझी, आधिकारिक पुष्टि बिना र सुरक्षा निकायको नाम जोडेर सम्प्रेषण गरिने सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गर्ने हुँदा अफवाहको पछि नलाग्न अनुरोध गरिन्छ।’
अनुसन्धानको वस्तुनिष्ठ निष्कर्ष नआउँदै समाजमा भ्रम फैलाउने खालका कपोलकल्पित समाचार सम्प्रेषण नगर्न र आधिकारिक तथ्यलाई मात्र आधार मान्नसमेत ट्राफिक प्रहरीले सबैलाई अनुरोध गरेको छ।
Shares

प्रतिक्रिया