ad ad

राजनीति


सातौं पटक डडेल्धुराबाट देउवाको जित, छैटौं पटक प्रधानमन्त्री बन्ने बाटो खुल्यो

सातौं पटक डडेल्धुराबाट देउवाको जित, छैटौं पटक प्रधानमन्त्री बन्ने बाटो खुल्यो

केशव सावद
मंसिर ७, २०७९ बुधबार ५:५०, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लागि मुलुकको छैटौं पटक प्रधानमन्त्री हुने बाटो खुलेको छ। बुधबार बिहानै भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै उनलाई छैटौं पटक प्रधानमन्त्री हुने बाटो खुलेको हो। 

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा आफूलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको बताउँदै आएका छन्। यद्यपि, अब गठन हुने सरकारको नेतृत्व लिनका लागि उनले आफ्नै दलभित्र संसदीय दलको नेता चुनिन पर्ने हुन्छ।

संसदीय दलको नेता चयनमा सभापति देउवाका लागि महामन्त्री गगन थापा चुनौतीका रुपमा देखिएका छन्। काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापाले अब प्रधानमन्त्रीका लागि दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्। 

यद्यपि, कांग्रेसभित्र आफूलाई आगामी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिरहेका झण्डै आधा दर्जन नेताहरु छन्। भावी प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरिरहेका नेतामध्ये अहिलेसम्म महामन्त्री थापा र केन्द्रीय सदस्य प्रकाशमान सिंहमात्रै निर्वाचित भएका छन्। अन्य नेताको क्षेत्रमा मतगणना चलिरहेको छ।

देउवाको जितको इतिहास
२०४८ को प्रतिनिधि सभा निर्वाचनमा २४ हजार ५७० मत प्राप्त गर्दै देउवाले संसदीय यात्राको सुरुवात गरेका थिए। उक्त निर्वाचनमा उनका प्रतिस्पर्धी नेकपा एमालेका गोविन्दप्रसाद कलौनीले ६ हजार ६२८ र राप्रपा चन्दका गणेशप्रसाद भट्टले ३ हजार ५८० मत पाएका थिए। निर्वाचन आयोगका अनुसार ७५ हजार ७८ मतदातामध्ये ३७ हजार २३७ मत खसेको थियो भने ३४ हजार ७७८ मत सदर भएको थियो। 

निर्वाचन आयोगका अनुसार २०५१ को आमनिर्वाचनमा ७८ हजार ५५३ मतदातामध्ये ३४ हजार ८४६ मत खसेको थियो। ३३ हजार ५२३ सदर मतमध्ये देउवा २० हजार ७०१ का साथ सांसद बनेका थिए। उनका प्रतिस्पर्धी नेपाल जनवादी वाममोर्चा (नेजवामो) का खेमराज भट्ट ‘मायालु’ ले ९ हजार ९६६, राप्रपाका लालबहादुर खडायतले २ हजार ८५६ मत पाएका थिए। 

२०५६ को आम निर्वाचनमा भने प्रधानमन्त्री देउवाले एमालेका बागेश्वरी चटौतलाई भारी मतान्तरले पराजित गरेर ‘ह्याट्रिक’ गरेका थिए। देउवाले २८ हजार ६५१ मतसहित जित्दा एमालेका नेता चटौत ७ हजार ८४० मा सीमित भएका थिए। तेस्रो भएका राप्रपा चन्दका नेता गणेशप्रसाद भट्टले ४ हजार ८९३ मतमा चित्त बुझाउनु परेको थियो। 

२०६४ को संविधान सभा निर्वाचनमा भने देउवा झिनो मतले विजयी भएका थिए। देउवा २० हजार ५२९ मत ल्याएर संविधान सभा सदस्यमा विजयी हुँदा तत्कालीन नेकपा माओवादीका नेता खगराज भट्टले १९ हजार १६१ मत ल्याएका थिए। एमाले उम्मेदवार विक्रमबहादुर शाहीको ७ हजार ९८२ मत आएको थियो। 

दोस्रो संविधान सभा निर्वाचनमा पनि तत्कालीन एकीकृत नेकपा माओवादीले भट्टलाई नै देउवाविरुद्ध चुनावी प्रतिस्पर्धामा उतारेको थियो। तर, उनी दोस्रो पटक पनि झण्डै दोब्बर मतअन्तरले पराजित भएको थियो।  

देउवाले २३ हजार ९२० मत ल्याउँदा भट्टले १२ हजार ४९३ मत प्राप्त गरेका थिए। तेस्रो भएका एमालेका नेता ताराप्रसाद जोशीको ७ हजार १९० मत आएको थियो। 

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि नेकपा माओवादीका नेता भट्ट नै देउवाको निकटतम प्रतिस्पर्धी रहे। देउवा २८ हजार ४४६ मतले प्रतिनिधि सभा सदस्य बन्दा भट्टको २१ हजार ४९८ मत आएको थियो। उक्त निर्वाचनमा उनलाई एमालेले सघाएको थियो। 

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा डडेल्धुरामा अझै पनि कांग्रेसको बलियो उपस्थिति देखिन्छ। निर्वाचन आयोगको मतपरिणामले डडेल्धुरामा कांग्रेसको पक्षमा २१ हजार ७३५, माओवादी केन्द्रको पक्षमा १२ हजार ८७८, एमालेको पक्षमा १० हजार ४४९, नेकपा एकीकृत समाजवादीको पक्ष्मा ५ हजार ४१, राप्रपाको पक्षमा ७१४ र जनता समाजवादी पार्टी ९जसपा० को पक्षमा १५६ मत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .