राजनीति


रामकुमारी झाँक्री : टक्कर दिइन्, तर भत्काउन सकिनन् एमालेको विरासत

रामकुमारी झाँक्री : टक्कर दिइन्, तर भत्काउन सकिनन् एमालेको विरासत

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १३:४९, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले नेकपा एमालेको विरासत भत्काउनबाट चुकेकी छन्। 

एमालेबाटै विद्रोह गरेर एकीकृत समाजवादी पार्टी बनाउन माधवकुमार नेपाललाई डोर्‍याएर निर्वाचन आयोगसम्म पुगेकी उनी गुल्मी क्षेत्र नम्बर २ मा गोकर्ण विष्टसँग हारेकी छन्। 

तत्कालीन नेकपामा हुँदा एकै गुटमा रहेका यी दुई नेताबीचको भिडन्तमा एमालेका सचिवसमेत रहेका विष्टले बाजी मारे। 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समेत साथ लिएर गृहजिल्ला फर्किएकी उनले करिब २ महिना कठिन मिहिनेत गरिन्। 

एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीकी कट्टर आलोचकमध्ये एक उनले निर्वाचनअघि बुटवलमा गरेको भाषण पनि प्रत्युत्पादक भयो। 

उनले त्यहाँ आएर यो पटक एमालेका कार्यकर्ताले सूर्यमा होइन, कलममै भोट हाल्नुपर्ने भन्दै भाषण दिइन्। कडा लवजमा दिएको उक्त भाषणले एमाले कार्यकर्तालाई तान्नेभन्दा पनि बिच्काउने काम गर्यो।

त्यसअघि उनले सामाजिक सञ्जाल फेसबुकमा यो पटकको निर्वाचनमा एमालेको किल्ला भत्काउनै पर्ने भन्दै विवादमा पर्ने गरी फेसबुकमा फोटोसहित एउटा पोस्ट गरिन्। जसको एमालेसहितका कार्यकर्ताले चर्को आलोचना गरेपछि उनले फेसबुकबाट हटाएकी थिइन्। 

खासगरी गुल्मीमा महिला र युवा मतदातालाई आफूतिर तान्न उनले कठिन मिहिनेत गरिन्। एमालेका केही नेतालाई समेत उनले आफूतिर तानेकी थिइन्। तर उनी चुनावी मैदानमा उत्रिएपछि समाजवादीका जिल्ला इन्चार्ज र अध्यक्ष नै एमालेमा फर्किएपछि रामकुमारीलाई सुरुमै धक्का लागेको थियो। 

अनेक विवादबीच एमालेबाट विद्रोहमा नेतृत्व गरेकी झाँक्रीले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न असफल भइन्। 

गुल्मीमा एमालेका विष्टलाई कांग्रेसले २०५६ यता टक्कर दिन सकेका थिएनन्। २०६४ सालमा माओवादीले विष्टलाई हराए पनि त्यसपछि लगतार विजयी भएका छन्। 

गुल्मी २ बिष्टले २८ हजार ४७६ मत ल्याउँदा रामकुमारीले २६ हजार ४४२ मत ल्याएकी छन्। २ हजार ३४ मतान्तरसहित झाँक्रीले हार ब्याहोरिन्। 

गुल्मी २ मा गत स्थानिय तहमा एकीकृत समाजवादीका वडाअध्यक्षको मत ६ सय ५८ मात्रै थियो। उनी सहरी विकास मन्त्रीबाट हटेसँगै गुल्मीमा लड्न मिहिनेत गरेकी थिइन्। 

प्रतिस्पर्धामा राम्रो मत ल्याए पनि एमालेको विरासत भत्काउन असफल रहिन्। कांग्रेस र माओवादी समेतले साथ दिँदा विष्टको शालीन स्वभावमा झाँक्रीको आक्रोश विजयमा परिणत हुन सकेन। 

२०६२–६३ को आन्दोलन र विद्यार्थी राजनीतिका बेला झाँक्री राष्ट्रिय चर्चामा रहिन्। एमालेबाट विद्रोह गर्दा झाँक्रीको राष्ट्रव्यापी चर्चा भयो।

उनी करिब ७ महिना सहरी विकासमन्त्री पनि भइन्। तर, गोकर्ण विष्टसँगको स्थानीय आक्रोशबीच गठबन्धनको मत पाउँदा पनि गुल्मीमा जित हासिल गर्न सकिनन्। 

झाँक्री एमाले विभाजनको औचित्य पुष्टि गर्नुपर्नेमा आफ्नै पूर्वसहकर्मी तथा नेतासँगको भिडन्तमा फेल भइन्। 

गुल्मीको मदाने गाउँपालिका म्यालपोखरीमा जन्मिएकी झाँक्री विद्यार्थी राजनीतिबाटै उदाएकी हुन्। 

पुर्र्कोटदकको पृथ्वी माध्यमिक विद्यालयमा पढ्दा अनेरास्ववियुमा संठगित भएकी उनी २०५० मा क्षेत्रीय अध्यक्ष भइन्। 

उच्च शिक्षाका लागि काठमाडौं आएकी उनले पद्मकन्या क्याम्पसको अध्यक्ष हुँदै २०५६ मा केन्द्रीय सदस्य भइन्। २०६५ सालमा उनी अनेरास्ववियु अध्यक्ष भइन्। २०७१ को नवौँ महाधिवेशनबाट गोकर्ण विष्ट सचिव बन्दा उनी एमाले केन्द्रीय सदस्य भएकी थिइन्। 

२०७४ सालमा एमालेको तर्फबाट समानुपातिक संसाद भएकी उनी पार्टी विभाजनपछि एकीकृत समाजवादीकी सचिव रहेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .