ad ad

राजनीति


तेस्रो प्रयासमा संसद् छिर्न सफल विश्वप्रकाश

गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने वाचा
तेस्रो प्रयासमा संसद् छिर्न सफल विश्वप्रकाश

केशव सावद
मंसिर ७, २०७९ बुधबार २०:२९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाले काठमाडौं–४ मा जितको ‘हयाट्रिक’ गरेपछि सामाजिक सञ्जाल फेसबुकमा लेखे– ‘जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ।’ 

उनले यो स्टाटससँगै नेपालको नक्सा, राष्ट्रिय झण्डा, अबिरले निधार रातम्य भएको मुस्कुराई रहेको थापाको तस्बिर पनि राखेका थिए। 

मंगलबार गरिएको सो पोस्टमा अहिलेसम्म हजारौंले खुसी व्यक्त गर्दै महामन्त्रीद्वयलाई बधाई र शुभकामना दिइरहेका छन्। 

समाचार तयार पार्दासम्म गरिएका चार हजार कमेन्टमध्ये पत्रकार बबिता बस्नेतले महामन्त्री थापालाई अर्का महामन्त्री शर्माले संसदीय दलको नेता हुँदै प्रधानमन्त्री पदमा प्रस्ताव गरेको हेर्न ठूलो जनसंख्या प्रतीक्षामा रहेको प्रतिक्रिया दिएकी छन्। 

‘मलाई लाग्छ देशको ठूलो जनसंख्या त्यो क्षणको प्रतीक्षामा छ, बेस्ट विसेस,’ उनले लेखेकी छन्। 

स्टाटस लेखेको एक दिनपछि शर्मा झापा १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। यससँगै उनले थापालाई सबैभन्दा पुरानो दल कांग्रेसको संसदीय दलको नेतामा प्रस्ताव गर्ने हैसियत पनि बनाएका छन्।

बुधबार साँझ सार्वजनिक अन्तिम मत परिणामअनुसार उनी निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेललाई १४ हजारभन्दा बढी मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। 

निर्वाचन आयोगका अनुसार शर्मा ३९ हजार ६२४ मतका साथ प्रतिनिधि सभा सदस्यमा विजयी हुँदा एमालेका खरेलले २५ हजार ३४९ मतमा चित्त बुझाउनु परेको छ। महामन्त्री शर्मा तेस्रो प्रयासमा सांसद चुनिएका हुन्।

२०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीसँग पराजित भएपछि उनको संसदीय यात्रामा दोस्रो पटक धक्का लागेको थियो। उक्त निर्वाचनमा कार्की ३६ हजार १७३ मतसहित प्रतिनिधि सभा सदस्यमा विजयी हुँदा शर्माले ३३ हजार ३१० मत पाएका थिए। 

त्यसअघि उनी पहिलो पटक २०७० को संविधान सभा निर्वाचनमा एमालेका रविन कोइरालासँग ६७९ मतको झिनो अन्तरले हारेका थिए। कोइराला १७ हजार २२९ मत पाएर संविधान सभा सदस्यमा निर्वाचित हुँदा शर्माले १६ हजार ५४० मतमा चित्त बुझाउनु परेको थियो। 

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा चाहेको भए उनी सहजै संविधान सभा सदस्य बन्न सक्ने अवस्था थियो। तर, शर्माले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले समानुपातिकतर्फको उम्मेदवारका लागि गरेको ‘अफर’ अस्वीकार गरेका थिए। उनले त्यो बेला नै जनताबाट प्रत्यक्ष रुपमा अनुमोदिन भएर मात्रै संसद् छिर्ने मनमनै प्रण गरेका थिए। 

झापाको धुलाबारीका शर्माका बुवा पर्शुराम भण्डारी पञ्चायतले दलहरुमाथि लगाएको प्रतिबन्धको समयमा जिल्लामा कांग्रेसको संगठन विस्तार गर्ने नेताहरूमध्ये एक थिए। उनी लामै समय कांग्रेस झापाको जिल्ला कार्यसमिति सदस्य थिए।

प्राथमिक तहमा अध्ययन गर्दादेखि नै स्कुले झोलामा राजनीतिक पर्चाहरू बोक्ने महामन्त्री शर्मा कक्षा ८ मै धुलाबारी माविमा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाइ सभापति बनेका थिए।

उनी २०४३ मा मेची क्याम्पसमा नेविसंघको सभापति र २०४७ सालमा जिल्ला अध्यक्ष बनेका थिए। जिल्लाको नेतृत्व सम्हालेको एक वर्षपछि शर्मा नेविसंघको केन्द्रीय सदस्यमा चुनिएका थिए। २०५३ सालमा नेविसंघको महामन्त्री र २०५७ मा सभापति बनेका शर्माले कार्यकाल पुरा हुन एक साता बाँकी छँदै महाधिवेशन गराएर गुरु घिमिरेलाई पद हस्तान्तरण गरेका थिए।

शर्माले २०६७ मा सम्पन्न पार्टीको १२ औं महाधिवेशनमा झापा सभापतिमा उम्मेदवारी दिएका थिए। त्यो बेला उनी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षीय नेता उद्धव थापासँग झिनो मतले पराजित भएका थिए। १३ औं महाधिवेशनबाट भने शर्मा केन्द्रीय सदस्य चुनिएका थिए।

१३ औं महाधिवेशनबाट सभापतिमा विजयी शेरबहादुर देउवाले उनलाई पार्टी प्रवक्ता बनाएका थिए। पार्टी प्रवक्ता बनाइएपछि उनी देउवाकै समूहबाट १४ औं महाधिवशेनमा महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्न इच्छुक थिए। 

तर, महाधिवेशनको अन्तिम समयमा देउवा र पूर्वमहामन्त्री सिटौला पक्षबीच सहकार्य गर्ने सहमति जुटेपछि उनी संस्थापन समूहबाट बाहिरिनु परेको थियो। देउवाले आफ्नो समूहका चार जना आकांक्षीलाई छाडेर सिटौलानिकट अर्का युवा नेता प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएका थिए। 

देउवाको टिमबाट हालका पार्टी प्रवक्ता डा. प्रकाशशरण महत र पौडेल महामन्त्रीको उम्मेदवार बन्ने निश्चित भएपछि शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए। महाधिवेशनमा डा. शेखर कोइराला समूहबाट थापा ३ हजार २३ र सिंह प्यानलबाट शर्मा १ हजार ९८४ मत ल्याएर महामन्त्रीमा विजयी भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .