ad ad

राजनीति


डा. तोसिमा, जो स्वास्थ्य क्षेत्रको बेथिति हटाउन अस्पताल छाडेर सदन प्रवेश गरिन्

‘एउटा डाक्टर कुर्बान भएर केही भएन, म असल राजनीतिज्ञ हुन सकेँ भने।’
डा. तोसिमा, जो स्वास्थ्य क्षेत्रको बेथिति हटाउन अस्पताल छाडेर सदन प्रवेश गरिन्

डा. तोसिमा कार्की ललितपुर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएकी छन् (तस्बिरः सरोज बैजु)


राधिका अधिकारी
मंसिर ८, २०७९ बिहिबार १५:४३, काठमाडौँ

डा. तोसिमा कार्की राजनीतिमा होमिनुअघि पाटन अस्पतालमा जनरल सर्जनका रुपमा कार्यरत थिइन्। राजनीतिमा आउनकै लागि डाक्टरी पेसा छाडिन्। र आफूले लामो समयदेखि सडक र सामाजिक मोर्चामा उठाउँदै आएको स्वास्थ्य क्षेत्रका समस्याबारे सदनमा बोल्ने सपना राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर ३ मा उम्मेदवार बनिन्।

संसदसम्मको यात्रा सहज थिएन। उनले चार पटक मन्त्री भइसकेकी पम्फा भुसालदेखि बलियो संगठन भएको एमालेका अमृत खड्कासँग प्रतिस्पर्धा गर्नु थियो।

अस्पतालबाट सिधै राजनीतिमा आएकी तोसिमाको यात्रामा निर्वाचन आयोगले पनि बाधा हाल्यो। आयोगले उनको उम्मेदवारी नै खारेज गरिदियो। नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेपछि उनले कानुनी लडाइँ लडिन्। अदालतले उनको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो।

अदालतको आदेशअघि नै उनको पक्षमा माहौल बन्न सुरु भइसकेको थियो। आयोगको निर्णय अन्यायपूर्ण भन्दै समर्थकले विरोध प्रदर्शन समेत गरे। र, आयोगको सो कदमले तोसिमालाई राजनीतिक फाइदा भयो। उनको उम्मेदवारीको थप चर्चा भयो। सामाजिक सञ्जालमा उनी छाइन्। अन्ततः न्यायाधीश कुमार चुडालको इजलासले ‘प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी सन्दर्भबाट निवेदकलाई हुन सक्ने अपुरणीय क्षतिको स्थिति तथा सुविधाको सन्तुलन समेतको रोहबाट प्रस्तुत मुद्दाको अन्तिम टुंगो नलागेसम्म कार्कीको ललितपुर–३ को उम्मेदवारी अयोग्य हुने गरी आयोगले कात्तिक १२ मा गरेको निर्णय कार्यान्वयन नगर्नू/नगराउनु’ भनी कात्तिक १६ मा आदेश दियो।

त्यसपछि ‘स्वस्थ नेपाली सुखी नेपाली’को नारा सहित मतदाताका घरदैलोमा देखिएकी तोसिमा लामो राजनीतिक विरासत बोकेका पार्टीका उम्मेदवारका लागि भारी साबित भइन्। उनले आफ्ना प्रतिस्पर्धीलाई १८ हजारभन्दा धेरै मतले पछि पार्दै जित हासिल गरिन्। उनीसँग नेकपा एमालेका अमृत खड्का र नेकपा उर्जामन्त्री रहेकी माओवादी केन्द्रकी पम्फा भुसाल पराजित भए। 

तोसिमाका बुबा मंसिर लागेपछि छोरीको विवाह गरिदिने भनिरहन्थे। छोरी आफ्नै  खुट्टामा उभिएकोमा निकै खुसी थिए। तर बुबाले सोचेको जस्तो भएन। तोसिमाले अस्पतालको जागिर छोडिन्। यसले बुबाको मन नदुखेको होइन। तर छोरीले विभिन्न समय खेलेको नेतृत्वदायी भूमिकाको उनी प्रशंसक हुन्। त्यसैले पनि छोरीको सपनाको सारथी बनिदिए। 

तोसिमाको पेसा प्रतिष्ठित थियो। आम्दानी पनि राम्रो थियो। विभिन्न समयमा सामाजिक कार्य पनि गरेकै थिइन्। डाक्टरी पेसामार्फत पनि उनले सेवा नै गरेकी थिइन्। उनी आफैँले आफ्नो राजनीतिक यात्रालाई बाध्यताको नाम दिएकी छिन्।

भन्छिन्, ‘एउटा डाक्टरले आम नगरिकलाई राम्रो स्वास्थ्य दिनु पर्ने हो। तर त्यसमा अहिलेको राजनीतिले रोक लगाइरहेको छ। एउटा डाक्टर कुर्बान भएर केही भएन तर म एक असल राजनीतिज्ञ हुन सकेँ भने हजारौँ डाक्टरले लाखौँ जनतालाई राम्रो सेवा गर्न पाउँछन् भनेर पेसाप्रतिको सपनालाई तिलाञ्जली दिनु परेको हो।’

ललितपुरको आदिनाथ गाउँमा जन्मिएकी तोसिमा सानैबाट आफूलाई असहज लागेपछि पाएको अवसर पनि छोड्ने स्वभावकी थिइन्। निम्न मध्यमवर्गीय परिवारमा जन्मिएकी तोसिमालाई राम्रो स्कुलमा पढाउने उनका बुबाको सपना थियो। त्यसैले नाम चलेको ठूलो स्कुलमा भर्ना गरिदिए। जुन स्कुलमा उच्च वर्गका केटाकेटी पढ्थे। उनलाई त्यहाँ सहज लागेन। राम्रो स्कुलमा पढ्ने अवसरलाई उनको असहजताले जित्न सकेन। त्यसपछि उनले भर्खर बोर्ड स्कुलमा परिणत भएको सरकारी स्कुलबाट आफ्नो अध्ययन अगाडि बढाइन्। त्यसैको एउटा निरन्तरता हो डाक्टरको जागिर छोडेर सुर गरेको राजनीतिक यात्रा। 

त्यसो त तोसिमालाई सानैबाट अभिनयमा रुचि थियो। स्कुल जीवनमा थुप्रै नाटकमा अभिनय गरिन्। त्यहीताका उत्कृष्ट बाल अभिनयको अवार्ड समेत जितेकी थिइन्। केही साताअघि मात्रै प्रदर्शन भएको फिल्म ‘महापुरुष’ मा उनी एक चिकित्सकको भूमिकामा देखिएकी छिन्। चराचुरुङ्गीसँग विशेष रमाउने उनको प्रिय एउटा सुगा छ। तोसिमाको त्यही सुगासँग ‘महापुरुष’ मा हरिवंश आचार्यले बारम्बार संवाद गरेका छन्। 

अभिनय मोहले गर्दा उनलाई बेलाबखत अरु सबै छाडेर कला क्षेत्रमै लागौँ जस्तो नभएको होइन। फेरि आफ्नो खाँचो सामाजिक क्षेत्रमै देखिन् उनले। ३२ वर्षीया तोसिमाले थुप्रै आन्दोलनको नेतृत्व गरिन्। खासगरी स्वास्थ्य क्षेत्रमा देखिएका बेथितिविरुद्ध डाक्टर गोविन्द केसीको अनशनका क्रममा सबैभन्दा धेरै सुनिएको आवाज तोसिमाकै थियो।

तोसिमा मधेशका विभिन्न जिल्लामा ‘जाडोमा न्यायो अभियान’ मार्फत न्यानो लुगा वितरण गर्दै हिँडिन्। विनाशकारी भूकम्पका बेला राहत तथा स्वास्थ्य शिविरको अग्र भागमा देखिएकी तोसिमाले कोभिड महामारीका बेलामा पनि निरन्तर ड्युटीमा रही स्वास्थ्यकर्मीहरुको सुरक्षा सामग्रीको व्यवस्थापन र सर्वसाधारणका लागि होम आइसोलेसनमा समेत सहजीकरणको भूमिका निर्वाह गरिन।

मेडिकल काउन्सिलकी निर्वाचित सदस्य समेत रहेकी तोसिमाले मेडिकल क्याम्पेनरका रुपमा थुप्रै काम गरेकी छिन्। 

२०७१/२०७२ मा मेडिकल कलेजमा इन्टर्न डाक्टर र मेडिकल विद्यार्थीहरुको आन्दोलनको नेतृत्व उनैले गरेकी थिइन्। अस्पताल र स्वास्थ्यकर्मीमाथि हुने शारीरिक र मानसिक हमाला न्यूनीकरणका लागि ‘चिकित्सा भातृत्व बचाउ आन्दोलन’ को नेतृत्व विगत ७ वर्षदेखि सम्हाल्दै आएकी तोसिमा अब यी सबै बेथितिविरुद्ध सदनमा आवाज उठाउने बताउँछिन्।

भन्छिन्, ‘मलाई समाजसेवा मन पर्छ। डाक्टरी पेसाभन्दा ठूलो समाजसेवा राजनीति हुनु पर्छ भन्ने मान्यता सहित राजनीतिमा आएको हुँ। म मेरा मतदाताप्रति इमान्दार भएर काम गर्छु। मेरो निर्वाचन क्षेत्रमा २२ वटा वडा छन्। कम्तीमा एउटा वडाका लागि एक दिन छुट्टयाएर दिनको दुई घण्टा मात्रै उहाँहरुका कुरा सुन्न पाएँ भने त्यहाँको समस्या र खाँचोका बारेमा जान्न र समाधानका लागि पहल गर्न सहज हुने छ। म त्यो प्रयास गर्नेछु।’

तोसिमाको हातमा जुन दिन नागरिकता पर्यो, त्यही दिन उनको चेतनामा घण्टी बजेको थियो। उनलाई लागेको थियो, ‘यो देशले मलाई पहिचान दियो, देशलाई मैले के दिन सकुँला?’

जब डाक्टर भएर अस्पताल छिरिन्, त्यहाँ भित्रको विकृति र बेथितिसँग साक्षात्कार हुने मौका पाइन्। 

उनलाई लाग्यो, ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा त यति बेथिति छ भने अन्य क्षेत्रमा कस्तो होला?’

त्यहीदिन उनले मनमनै वाचा गरेकी थिइन्, ‘यो सबै बेथितिका विरुद्ध मैले बोल्नु पर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .