ad ad

राजनीति


सुदूरपश्चिमको नतिजा : ७ सिटसहित कांग्रेस ठूलो दल, एमालेलाई धक्का, नागरिक उन्मुक्तिको उदय

माओवादी ‘क्लिन स्विप’ हुँदा समाजवादीलाई उत्कृष्ट नतिजा
सुदूरपश्चिमको नतिजा : ७ सिटसहित कांग्रेस ठूलो दल, एमालेलाई धक्का, नागरिक उन्मुक्तिको उदय

फाइल तस्बिर


गोकुल जोशी
मंसिर ९, २०७९ शुक्रबार १९:२५, कञ्चनपुर

सुदूरपश्चिमका प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्रमध्ये १५ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

अन्तिम मतपरिणाम सार्वजनिक भएका १५ प्रतिनिधि सभा क्षेत्रमध्ये नेपाली कांग्रेसले ७ सिट जितेको छ। 

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरा, रमेश लेखक कञ्चनपुर ३, एनपी साउद कञ्चनपुर २, वीरबहादुर बलायर कैलाली ४ र डिल्लीराज पन्त कैलाली ५ बाट निर्वाचित भएका छन्। 

यस्तै, दार्चुलाबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र अछाम २ बाट पुष्पबहादुर शाह कांग्रेसबाट प्रतिनिधि सभाका सदस्य बनेका छन्।

नेपाली कांग्रेसले सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये सत्तारुढ गठबन्धनको भागबन्डामा ९ क्षेत्र आफूसँग राखेको थियो। 

बाजुरामा कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे उम्मेदवार छन्। त्यहाँ मतदानको दिन विवाद हुँदा निर्वाचन प्रक्रिया नै अन्योलमा छ।

गठबन्धनबाट कांग्रेसको भागमा परेको कैलाली १ मा कांग्रेसका रामजनम चौधरी नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठसँग हारे। 

गठबन्धनको बलमा कांग्रेसले सुदूरपश्चिममा ०७४ को बदला लिएको छ। ०७४ को चुनावमा वाम गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गरेको कांग्रेसले डडेल्धुरामा मात्रै जितेको थियो।

यसपटक कांग्रेस सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल बनेको छ।

माओवादी ‘क्लिन स्विप’
सत्तारुढ गठबन्धनबाट चुनाव लडेको नेकपा माओवादी केन्द्र यसपटक प्रतिनिधि सभातर्फ सुदूरपश्चिम ‘क्लिन स्विप’ भएको छ।

गठबन्धनबाट माओवादी केन्द्रले प्रदेशका १६ क्षेत्रमध्ये ४ सिटमा उम्मेदवारी दिएको थियो। तर एउटा क्षेत्रमा पनि जित्न सकेन।

गठबन्धनबाट भागमा परेको कैलाली ३ मा कृष्णकुमार चौधरी, बैतडीमा नरेन्द्रबहादुर कुँवर र कञ्चनपुर १ बिना मगर हारे। कैलाली २ मा गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रका भगत बढुवाल जारी मतगणनामा तेस्रो स्थानमा छन्। उनको पनि हार निश्चित छ।

०७४ सालको चुनावमा एमालेसँग माओवादी केन्द्र तालमेल गरेर चुनावमा होमिएको थियो। त्यस बेला माओवादी केन्द्र सुदूरपश्चिमका ३ क्षेत्र जितेको थियो। 

एमालेले जोगाउन सकेन विरासत
सत्तारुढ गठबन्धनसँग एक्लै चुनाव लडेको नेकपा एमालेले यसपटक सुदूरपश्चिममा ०७४ सालको विरासत जोगाउन सकेन। 

सुदूरपश्चिमका दुई क्षेत्रमा नेकपा एमालेले जितेको छ। बाजुरामा एमालेका कर्ण थापा उम्मेदवार छन्। 

नेकपा एमालेबाट कञ्चनपुर १ मा तारा लामा तामाङ र बैतडीमा दामोदर भण्डारी निर्वाचित भएका छन्।

वाम गठबन्धन भएको ०७४ को चुनावमा नेकपा एमालेले सुदूरपश्चिमका ११ क्षेत्रमा चुनाव जितेको थियो।

समाजवादीको उत्कृष्ट नतिजा
नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमका ३ क्षेत्रमा जितेको छ।

गठबन्धनबाट एकीकृत समाजवादीकाे भागमा परेका अछाम १ मा शेरबहादुर कुँवर, डोटीमा प्रेमबहादुर आले र बझाङमा भानुभक्त जोशी विजयी भएका छन्।

सांगठनिक रुपमा कमजोर रहेको एकीकृत समाजवादीले गठबन्धनको बलमा पाएका प्रदेशका तीनवटै क्षेत्रमा जितेको हो।

नागरिक उन्मुक्तिको उदय
स्थानीय तह निर्वाचनमा कैलालीमा वर्चश्व जमाएको नागरिक उन्मुक्ति पार्टीले संसदीय निर्वाचनमा पनि बलियो शक्तिका रुपमा उदाएको छ।

कैलालीका ३ वटा निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरेको छ।

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ, २ मा अरुणकुमार चौधरी र ३ मा गंगाराम चौधरी प्रतिनिधि सभा सदस्य चुनिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .