राजनीति


३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीत

३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीत

नेपालखबर
मंसिर ११, २०७९ आइतबार २:१९, काठमाडौँ

पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए। यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो। 

विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपानेले विजयी भएपछि यस क्षेत्रमा कांग्रेसले जीत हासिल गर्न सकेको थिएन। तर रोचक कुरा त के छ भने २०४८ सालमा कांग्रेस उम्मेदवार न्यौपानेसँग पराजित भएका हिक्मतबहादुर बिस्टले ३० वर्षपछि कालीकोटमा कांग्रेसलाई जीत दिलाउन सफल भएका छन्।

तत्कालीन समयमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार बिस्ट कांग्रेसका न्यौपानेबाट २८६ मतले पराजित भएका थिए। न्यौपानेले आठ हजार आठ मत ल्याउँदा विष्टले सात हजार सात सय १७ मत ल्याएका थिए।

यही मंसिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा विष्टले कालीकोट प्रदेशसभा २ सदस्यमा १३ हजार ७८३ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का वीरेन्द्रबहादुर बोगटी पाँच हजार ८३८ मत प्राप्त गरे।

विसं २०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेस उम्मेदवार तिलकप्रसाद न्यौपानेलाई एमालेका यज्ञराज न्यौपानेले पराजित गरेका थिए भने २०५६ सालको निर्वाचनमा एमाले उम्मेदवार प्रेमबहादुर सिंहले कांग्रेसका नेत्रबहादुर शाहीलाई पराजित गरेका थिए। साथै, २०६४ सालको संविधानसभा निर्वाचनमा विष्टलाई नै माओवादीका खड्बहादुर विश्वकर्माले पराजित गरेका थिए।

विसं २०७० को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भुपेन्द्रजङ्ग शाहीलाई माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भुपेन्द्रजङ्ग शाहीलाई माओवादी केन्द्रका दुर्गबहादुर रावतले पराजित गरेका थिए। तर २०७९ सालको प्रदेशसभामा भने कांग्रेसले कालीकोटमा एक सिट सुरक्षित गर्न सफल भएको छ । 

‘प्रदेशसभा सदस्यमा कांग्रेसले जीत निकाल्न सफल भएको छ’, कांग्रेस जिल्ला सभापति अम्मबहादुर शाहीले भने, ‘३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीतले निकै खुसी बनाएको छ।’ 

वाम लोकतान्त्रिक गठबन्धनका कारण कांग्रेसले लामो समयपछि कालीकोटमा जीत निकालेको कांग्रेस महासमिति सदस्य नारायण प्रसाद भट्टराईले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .