ad ad

राजनीति


मधेश प्रदेश : संघ र प्रदेश दुवैमा खुम्चिए माओवादी र मधेशकेन्द्रित दल

महिन्द्र रायले धानिदिए हँसिया हथौडाको इज्जत
मधेश प्रदेश : संघ र प्रदेश दुवैमा खुम्चिए माओवादी र मधेशकेन्द्रित दल

फाइल तस्बिर


जयन्त ठाकुर
मंसिर ११, २०७९ आइतबार १९:२७, जनकपुरधाम

२०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचन हुँदा मधेशकेन्द्रित दलहरुले राम्रो परिणाम मात्रै निकालेनन्। मधेश प्रदेशमा सरकार पनि बनाउन सफल भएका थिए। 

मधेश आन्दोलनको रापताप र तत्कालीन मधेशकेन्द्रित दलहरु संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)ले मिलेर चुनाव लडेकाले बहुमत ल्याउन सफल भएका थिए।

मिलेर लडेका कारण राम्रो नतिजा ल्याएका यी दुई मिलेर जनता समाजवादी पार्टी (जसपा) गठन गरे। तर पार्टी गठन भएको एक वर्ष नबित्दै विभाजित भए। 

अनि मधेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को उदय भयो। पार्टी विभाजनका कारण मधेशकेन्दित दलहरु जसपा र लोसपा मधेश प्रदेशमै गत मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा खुम्चिएका छन्।

मधेश प्रदेशमा यो निर्वाचन मधेशकेन्द्रित दल मात्रै नभई माओवादी केन्द्रलाई समेत फापेको छैन। २०७४ को निर्वाचनमा मधेश प्रदेशमा ५ प्रतिनिधिसभा क्षेत्रमा जित निकालेको नेकपा माओवादी केन्द्रले यस पटकको निर्वाचनमा एउटा पनि प्रतिनिधिसभा क्षेत्र जितेन। 

माओवादीको चुनाव चिह्न लिएर सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचन लडेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले मात्रै साख जोगाएका हुन्।  

माओवादी प्रदेशसभाको निर्वाचनमा समेत खुम्चिएको छ। २०७४को निर्वाचनमा ६ प्रदेशसभा क्षेत्रमा जीत निकालेकोमा २ सिट घटेर ४ मा झरेको छ।

यता मधेश प्रदेशमा सबैभन्दा बढी घाटा मधेशकेन्द्रित दलहरु जसपा र लोसपालाई नै भएको छ। जसपाले मधेश प्रदेशको प्रदेशसभा तर्फ ९ सिटमा जीत निकालेको छ। 

जबकि तत्कालीन संघीय समाजवादी फोरम (अहिलेको जसपा) ले २०७४ मा कुल २० सिटमा जितेको थियो। 

त्यस्तै तत्कालीन राजपा (अहिलेको लोसपा)ले १५ प्रदेशसभा क्षेत्रमा जित निकालेको थियो। लोसपा यस पटकको निर्वाचनमा ७ प्रदेशसभा सिटमा सीमित भएको छ।

यस्तै स्थिति मधेश प्रदेशको प्रतिनिधिसभा क्षेत्रमासमेत मधेशकेन्द्रित दलहरुको देखिएको छ। तत्कालीन राजपाले २०७४ को निर्वाचनमा मधेश प्रदेशबाट १० प्रतिनिधिसभा क्षेत्रमा जित निकालेको थियो। 

जबकि यस पटकको निर्वाचनमा लोसपा ३ सिटमा खुम्चिएको छ। त्यस्तै तत्कालीन संघीय समाजवादी फोरमले २०७४ मा ९ प्रतिनिधिसभामा जित निकालेको थियो। यस पटक जसपाले ६ प्रतिनिधिसभामा मात्रै जितेको छ।

विश्लेषकहरु यसो भन्छन्
मधेश प्रदेशमा मधेश केन्द्रित दल र माओवादी केन्द्र यसरी नराम्री पराजित हुनुमा आफैँ दोषी रहेको राजनीतिक विश्लेषकहरु बताउँछन्। 

पहिचानको आन्दोलनबाट जन्मिएका मधेककेन्द्रित दल र माओवादीको यो हविगत हुनुले दुरगामी असर पर्ने विश्लेषक डा. भोगेन्द्र झा बताउँछन्। 

उनका अनुसार ती दलहरु आफ्नो एजेण्डालाई लिएर जनतामाझ जानुको साटो सत्ताकेन्द्रित राजनीति गरेकाले यहाँका जनताले कडा जवाफ दिएका हुन्। 

'कि त मधेशकेन्द्रित दलहरु एकठाउँमा आउनु पर्थ्यो, कि त पहिचानवादी आन्दोलन गरेर उदाएको शक्ति माओवादीसँग मिलेर आउनु पर्थ्यो', विश्लेषक झाले भने ‘तर यी दलहरु आफ्नो एजेण्डालाई अगाडि बढाउनुको साटो सत्ताकेन्द्रित राजनीतिमा लिप्त देखिए।’ 

पछिल्लो निर्वाचनमा यहाँका जनताले नरुचाएका दल एमालेसँग मिल्नु पनि जसपाका लागि घाटा भएको उनको भनाइ छ। झाका अनुसार मधेशमा एमालेले जसपाको मत लिएर फाइदा उठाएको स्पष्ट गरे।

अर्का राजनीतिक विश्लेषक रोशन जनकपुरीले पनि यी दलहरु आफ्नो रााजनीतिक चरित्र र एजेण्डा बिर्सेको आरोप लगाए। 

'त्यसैले मधेशका जनता यी दलहरुलाई नपत्याएको उनको भनाइ छ। मधेशकेन्द्रित दलहरु संगठन निर्माणमै लागेका थिए। त्यहीबीचमा दलमा विभाजन भएपछि शक्ति क्षीण भयो', जनकपुरीले भने, ‘तर कांग्रेस र एमालेसँग पहिलेदेखि नै मजबुत संगठन थियो। जसको फाइदा यी दलले उठाए।’ 

यस पटकको निर्वाचनको परिणामले मधेशकेन्द्रित दल र माओवादी केन्द्रलाई राजनीतिक चरित्रमा सुधार ल्याउनुपर्ने यहाँको मतदाताले सन्देश दिएको जनकपुरीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .