ad ad

राजनीति


कांग्रेसका ५ जिल्ला सभापतिको संसदमा ‘डेब्यु’

कांग्रेसका ५ जिल्ला सभापतिको संसदमा ‘डेब्यु’

फाइल।


केशव सावद
मंसिर १२, २०७९ सोमबार ६:५५, काठमाडौँ

नेपाली कांग्रेसका विभिन्न ५ जिल्लाका सभापतिहरुले मंसिर ४ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा ‘डेब्यु’ गरेका छन्। कांग्रेसबाट प्रतिनिधिसभामा ‘डेब्यु’ गर्नेमा अछाम, मुगु, म्याग्दी, भक्तपुर र रामेछापका सभापतिहरू रहेका छन्।

अछामबाट जिल्ला कार्यसमिति सभापति पुष्पबहादुर शाह दोस्रो पटकको प्रयासमा संसदीय यात्रा तय गर्न सफल भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटीलाई झण्डै ७ हजार मतान्तरले पराजित गरेका छन्। शाह २२ हजार ९५४ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा बोगटीले १६ हजार ११४ मत ल्याएका छन्।

यसअघि २०७४ को निर्वाचनमा भने उनी बोगटीसँग पराजित भएका थिए। उक्त निर्वाचनमा शाहले १९ हजार १०६ मत ल्याउँदा एमाले नेता बोगटी २१ हजार ९६५ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।

मुगुका सभापति ऐनबहादुर शाहीले पनि दोस्रो प्रयासमा प्रतिनिधिसभा सदस्यमा ‘डेब्यु’ गरेका छन्। उनी नेकपा एमालेका नेता राजबहादुर कार्कीलाई झण्डै ४ हजार मतको अन्तरले पराजित गर्दै संसदीय यात्रा तय गर्न सफल भएका हुन्। 

निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मत परिणामअनुसार सभापति शाही १४ हजार ७०२ मत पाएर निर्वाचित हुँदा कार्कीले १० हजार ७०८ मतमा चित्त बुझाउनुपरेको छ। 

यसअघि शाही २०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा पनि मुगुबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। तर, उनको संसदीय यात्रामा एमाले नेता मोहन बानियाँ अवरोध बन्न पुगेका थिए। 

उक्त निर्वाचनमा बानियाँले सभापति शाहीलाई १ हजार ८९० मतले पराजित गरेका थिए। एमाले नेता बानियाँ ८ हजार १४२ मतसहित संविधानसभा सदस्य निर्वाचित हुँदा शाहीले ६ हजार २५२ मत ल्याएका थिए। 

कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजाले पनि पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। एमाले उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८३२ मतले हराउँदै गर्बुजाको संसद् यात्रा सुरु भएको छ। उनले २४ हजार २१ मत पाएका छन् भने श्रेष्ठले २० हजार १८९ मत ल्याएका छन्।

उनी पनि दोस्रो प्रयासमा संसद् प्रवेश गर्न सफल भएका हुन्। २०७४ मा पहिलो पटक संसद् प्रवेशका लागि प्रयास गरेका गर्बुजालाई एमाले नेता भुपेन्द्रबहादुर थापा रोक्न सफल भएका थिए। 

उक्त निर्वाचनमा सभापति गर्बुजा २ हजार ३२८ मतले पराजित हुन पुगेका थिए। एमाले नेता थापा २३ हजार ३०८ मतका साथ विजयी हुँदा २० हजार ९८० मत पाएका गर्बुजाको संसदीय यात्रा रोकिन पुगेको थियो।  

निर्माण व्यवसायीसमेत रहेका रामेछापका सभापति पूर्णबहादुर तामाङले दोस्रो प्रयासमा संसद् यात्रा तय गरेका छन्। उनले एमाले उम्मेदवार कैलाश ढुंगेललाई १६ हजार २६९ मतान्तरले पराजित गर्दै संसदीय यात्रा तय गरेका हुन्। सभापति तामाङ ४७ हजार ९८ मतसहित

प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा एमाले नेता ढुंगेलले ३० हजार ७२९ मत प्राप्त गरेका छन्। २०७० मा पार्टीको समानुपातिक बन्द सूचीमा परेका तामाङ २०७४ मा प्रत्यक्षतर्फ प्रत्यासी थिए। 

उक्त निर्वाचनमा एमाले नेता श्यामकुमार श्रेष्ठसँग पराजित हुन पुगेका तामाङले ३५ हजार ७७१ मत ल्याएका थिए। श्रेष्ठ ४२ हजार ११७ मतसहित विजयी भएका थिए। 

दोस्रो कार्यकाल भक्तपुर सभापति रहेका दुर्लभ थापाले भने पहिलो प्रयासमै चुनाव जितेर संसदीय यात्रा तय गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने युवा नेता महेश बस्नेतलाई ९५७ मतले पराजित गर्दै उनी संसदीय यात्रा तय गर्न सफल भएका हुन्। 

कांग्रेस भक्तपुरका सभापति थापा २४ हजार २३९ मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा एमाले नेता बस्नेतले २३ हजार २८२ मत ल्याएका छन्। 

अहिलेसम्म कांग्रेसले ५३ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जित निकालेको छ। जस मध्ये ३७ जना यसअघि नै संसद्को अनुभव संगालिसकेका नेताहरू रहेका छन्। कांग्रेसका निर्वाचित ५३ प्रतिनिधिसभा सदस्यमा १ जनामात्र महिला नेतृ छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .