राजनीति


एकीकृत समाजवादीलाई थ्रेसहोल्ड कटाउन कठिन

एकीकृत समाजवादीलाई थ्रेसहोल्ड कटाउन कठिन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल


नेपालखबर
मंसिर १२, २०७९ सोमबार १४:२, काठमाडौँ

सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादीलाई समानुपातिक मतको थ्रेसहोल्ड (३ लाख २० हजार मत) कटाउन कठिन देखिएको छ। किनकि समानुपातिक मत गणना अन्तिम चरणमा पुगिसक्दा पनि उसले मत संख्या ३ लाख पनि पुर्‍याउन सकेको छैन। अहिलेसम्मको हिसाबअनुसार थ्रेसहोल्ड पार गर्न ३ लाख २० हजार माथि मत ल्याउनुपर्ने देखिएको छ।  

तीन लाख २० हजारबाट एकीकृत समाजवादीले यो खबर लेख्दासम्म पाएको मत २ लाख ५३ हजार ९९ घटाउँदा ६६ हजार ९०१ हुन्छ। अर्थात् थ्रेसहोल्ड पार गर्न उसले अझै ६६ हजारभन्दा माथि मत ल्याउनुपर्ने देखिन्छ।  

तर यो खबर लेख्दासम्म समानुपातिक मत ९३ लाख २८ हजार १ सय ५६ गनिसकिएको छ। निर्वाचन आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो। अहिलेसम्मको आकलनअनुसार यसमा ३ लाख मत बदर भएका छन्। यसो हुँदा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन आउँछ। अब यसबाट अहिलेसम्म गनिएको समानुपातिक मत ९३ लाख २८ हजार १ सय ५६ घटाउँदा १३ लाख ४१ हजार ८ सय ४४ बाँकी बस्छ। अर्थात् अब गन्न बाँकी मत यही संख्या आसपास छ। 

समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ दलले भाग लिएका छन्। गन्न बाँकी मत पनि सबैमा धेरथोर बाँडिनेछ। त्यसमा पनि एमाले, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्रलाई बढी मत गइरहेको अवस्था छ। यो परिस्थितिमा एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन निकै कठिन देखिन्छ। तर सम्भावनै नभएकाे चाहिँ हाेइन। यसका लागि मत गणना नसकिँदासम्म पर्खनुपर्ने हुन्छ। 

यस्तै कठिन अवस्थामा छ– जनमत पार्टी पनि उसले पनि यो खबर लेख्दासम्म समानुपातिक मतको संख्या ३ लाख पनि पुर्‍याउन सकेको छैन। अर्थात् अहिलेसम्म उसले २ लाख ६५ हजार ६ सय ६२ मत प्राप्त गरेको छ। 

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .