ad ad

राजनीति


भूकम्प प्रभावित क्षेत्रमा काम गर्न दलहरूबीच प्रतिस्पर्धा

भूकम्प प्रभावित क्षेत्रमा काम गर्न दलहरूबीच प्रतिस्पर्धा

दिनेश बुढा
मंसिर ११, २०८० सोमबार १७:२३, सुर्खेत

जाजरकोट र रुकुमका भूकम्प प्रभावित क्षेत्रमा प्रमुख राजनीतिक दलले आआफ्ना कार्यकर्ता खटाएका छन्। नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका स्वयंसेवकहरूको समूहले भूकम्पबाट क्षतिग्रस्त घरको भग्नावशेष हटाउने, पुरिएका अन्न, भाँडाकुँडा निकाल्ने र अस्थायी टहरा बनाउने काम गरिरहेका छन्। 

भूकम्पपछि चिसोका कारण त्रिपालमा बसिरहेकाहरूको ज्यान जान थालेको छ। उनीहरूको पुनर्स्थापनामा तीनै तहको सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरहँदा एमाले, कांग्रेस र माओवादी केन्द्रका स्वयंसेवकबीच भने सो क्षेत्रमा स्थानीयलाई सघाउन प्रतिस्पर्धा देखिएको छ। 

गत कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम जिल्लाका नागरिकहरू बढी प्रभावित भएका छन्। 

नेकपा एमाले 
हालसम्म सबैभन्दा बढी नेकपा एमालेका स्वयंसेवक भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन्। जाजरकोटमा पाँच सय बढी र रुकुमपश्चिमा तीन सयको हाराहारीमा खटिएका छन्। 

नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले हाल जाजरकोट जिल्लाका विभिन्न ठाउँमा एमालेका १२ र रुकुमपश्चिमा ५ वटा समूहले काम गरिरहेको जानकारी दिए।

उनका अनुसार जाजरकोटको भेरी नगरपालिका–३ थाप्लेमा जिफन्टको तीन वटा समूहले काम गरिरहेको छ। जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको नेतृत्वको एउटा समूहमा २५ जना सदस्य छन्। सोही ठाउँको पिपल डाँडामा अर्को समूहले काम गरिहरेको छ। जहाँ अनेरास्ववियुका महासचिव नरेश रोकायाले नेतृत्व गरेका छन्। कोशी प्रदेशबाट खटिएको स्वयंसेवक टोली भेरी नगरपालिका–४ मा काम गरिरहेको छ। 

सुर्खेतबाट गएको टोलीले भेरी नगरपालिका–१ को रावत गाउँमा काम गरिरहेको छ। त्यहाँ नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाको नेतृत्वमा नेकपा एमाले कर्णाली प्रदेश कमिटीको तर्फबाट गएको स्वयंसेवक टोलीले रिम्नामा काम गरिरहेको छ। जसको नेतृत्व एमाले नेता मोहन बडुवालले गरेका छन् भने किरण गौतमको नेतृत्वमा खेलकुद महासंघको टिमले पनि काम गरिरहेको छ। 

जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा एमाले जिल्ला कमिटी सुर्खेतका पार्टी सचिव कविन्द्रकुमार केसीको नेतृत्वको टोलीले खटिएको छ। नलगाड–१ कै पाली गाउँमा सुदूरपश्चिम प्रदेशबाट खटिएको युवा संघ प्रदेश कमिटीका अध्यक्ष अरुण कुँवरको टिम काम गरिहेको छ। 

यस्तै, युवा संघको पालिका कमिटी टिमले बिहीबारदेखि कुशे गाउँपालिका–१ को धनराशीमा पनि कामको थालनी गरेको छ। जहाँ युवा संघका केन्द्रीय सदस्य तथा एमाले जाजरकोट जिल्ला कमिटीका उप–सचिव गोपाल नेपाली लगायतका नेताहरूले समन्वय गरिरहेका छन्। 

शुक्रबारदेखि बारेकोट गाउँपालिका–१ बयालामा पनि एमाले बारेकोट गाउँ कमिटीका अध्यक्ष भक्तबहादुर बस्नेतको नेतृत्व तथा समन्वयमा कामको थालनी गरिरहेको छ। 

यस्तै, रुकुमपश्चिम जिल्लाको चौरजहारी नगरपालिका–१० मा एमाले गण्डकी प्रदेशबाट आएको टोली र चौरजहारी नगरपालिका–११ मा एमाले लुम्बिनी प्रदेशबाट आएको समूहले काम गरिरहेको छ। यी गण्डकी र लुम्बिनी प्रदेशबाट आएको स्वयंसेवकको समूहले चौरजहारी नगरपालिकाको वडा नम्बर १०, ११, १३, १४ लगायत भूकम्पबाट प्रभावित क्षेत्रमा काम गर्ने एमालेले जनाएको छ।  

सुदुरपश्चिबाट खटिएको एमालेको स्वयंसेवक टिमले रुकुमपश्चिको सानीभेरी नगरपालिका र आठबीसकोटको १३ नम्बर वडा लगायतका भूकम्प प्रभावित क्षेत्रमा काम गरिहरेको छ। 

सबै टोली प्रमुखले आफ्नो समूहमा रहेका सदस्यहरूलाई प्रत्येक दिन काम गर्नु पहिला कामको बारेमा जानकारी दिएपछि खटिने गरेका छन्। नेकपा एमालेको विपद् व्यवस्थापन विभाग प्रमुख किरण पौडल, भूतपूर्व सैनिक संगठनका अध्यक्ष विनोद भण्डारीले स्वयंसेवकहरूलाई प्राविधिक सहयोग तथा उनीहरूले गर्ने कामका बारेमा जानकारी दिइरहेका छन्।

पहिलो चरणको काममा स्वयंसेवकहरू सबै भग्नावशेष हटाउने काममा केन्द्रित भएको एमाले केन्द्रीय सदस्य आचार्यले जानकारी दिए। उनले भने, ‘स्वयंसेवकहरूले जोखिम क्लियर गर्ने, घरमा भएका सामानहरू निकाल्ने काम गरिरहेका छन्। एक हम्तासम्म स्वयंसेवकहरूले हालसम्म जाजरकोटमा मात्रै दुई सय बढी भग्नावशेष घरहरूबाट समानहरू र रुकुमपश्चिमका भूकम्पबाट क्षति भएका ५० बढी भग्नावशेष घरहरूबाट सामान निकालिएको छ। पहिला घर भएको घडेरीलाई सफा बनाएपछि टहरा निर्माणमा लाग्ने छ।’
 
हालसम्म नेकपा एमालेलेका स्वयंसेवकहरूले जारकोटमा र रुकुमपश्चिमा गरि एक सय ५० बढी टहरा निर्माण गरिसकेको छ। फरक–फरक क्षेत्रमा रहेका स्वयंसेवकको समूहले भाग्नावशेष हटाउने, टहरा निर्माण गर्नेका लागि आवश्यक पर्ने औजारहरू घरबाटै बोकेर भूकम्प प्रभावित क्षेत्रमा खटिएका हुन्। 

साथै प्रत्येक स्वयंसेवकहरूले आफूलाई खान, बस्नका लागि चाहिने खाद्यान्न तथा लुगा पनि बोकेको एमाले केन्द्रीय सदस्य आचार्यले जानकारी दिए। उनीहरू राति टेन्ट हालेर बस्ने र बिहानदेखि रातिसम्म काम गर्ने गरेको उनको भनाइ छ।

नेपाली कांग्रेस
यस्तै, नेपाली कांग्रेसले पनि भूकम्प प्रभावित क्षेत्रहरूमा आफ्नो कार्यकर्तालाई स्वयंसेवकका रुपमा खटाएर काम गरिरहेको नेपाली कांग्र्रेस कर्णाली प्रदेश समितिले जनाएको छ। 

कांग्रेस कर्णाली प्रदेश समितिका प्रवक्ता दमन शाहीले कार्यसमितिको पदाधिकारीको आकस्मिक बैठक बसेर भूकम्प गएको अर्को दिनबाट नै पार्टीका प्रदेश तथा केन्द्रीय नेताहरूको सहभागितामा उद्धार तथा राहतमा खटिएको र त्यसपछि विभिन्न समूह बनाएर भूकम्प प्रभावित क्षेत्रमा नेपाली कांग्रेसको टिम जाने आउने गरेको जानकारी दिए। 

‘भूकम्प गएको केही दिनमै हाम्रो पार्टीका प्रदेश सभापति ललितजंग शाहीको अध्यक्षमा बैठक बसेर भूकम्प प्रभावित जिल्लाका सभापति तथा स्थानीय जनप्रतिनिधि रहनेगरी सभापतिको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापना समिति बनाएका थियौँ,’ उनले भने, ‘उक्त समितिले केन्द्रीय कार्यसमितले गरेको निर्णय अनुसार नै भूकम्प प्रभावित क्षेत्रमा काम गरिरहेको छ।’

यस्तै, प्रवक्ता शाहीले नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रका ११ सय वटा अस्थायी टहरा बनाउन सहयोग गर्ने निर्णय गरी केही टहरा निर्माण भइरहेको जानकारी दिए। 

उनले भने, ‘यी टहरा निर्माणमा सरकारले प्रभावितलाई उपलब्ध गराएको रकमबाट नेपाली कांग्रेसले एउटा अस्थायी घर निर्माण गर्न एक जना दक्ष सिकर्मीसँगै १० जना स्वयंसेवक खटाउने छ। जसका लागि कर्णाली प्रदेश सरकार र स्थानीय सरकारकासँग सहजीकरणको काम नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले गर्नुभएको छ।’

यस्तै, कांग्रेस नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका १०० अस्थायी आवासको आधारभूत संरचना निर्माण गरेको छ। पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोलीले जाजरकोटको नलगाड नगरपालिका–५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको थियो। टोलीले शुक्रबारसम्म श्रमदान गरेर १०० वटा अस्थायी आवासको आधारभूत संरचना निर्माणमा सहयोग गरिसकेको छ। 

पौडेल नेतृत्वको टोली एक हप्ता भूकम्प प्रभावित क्षेत्रमा काम गरेर फर्किसकेको छ। 

प्रवक्ता शाहीले भने, ‘अबको केही दिनमा एक जना केन्द्रीय सदस्यको नेतृत्वमा १४/१५ वटा समूह भूकम्प प्रभावित क्षेत्रमा पुग्नेछन्। जहाँ एक समूहमा दुई दक्ष सिकर्मीसहित १० जना स्वयंसेवक हुनेछन्। त्यसपछि प्रत्येक हप्तामा उक्त समूहले काम गरेको अनुगमन, मुल्याङ्कन गर्ने र फेरि थप्ने योजना रहेको छ।’ 

उनले थपे, ‘पार्टीका विभिन्न संगठनहरूले आ–आफ्नो संगठनको योजना अनुसार पनि काम गर्नेछन्।’

नेकपा माओवादी केन्द्र
यस्तै, नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका दुई सय नेता, कार्यकर्ताहरू यतिबेला जाजरकोटस्थित भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन्। अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा स्वयंसेवकहरूले भूकम्प प्रभावित क्षेत्रमा काम गरिरहेका छन्। 

अध्यक्ष सिंहका अनुसार भूकम्प प्रभावित क्षेत्रमा खटिएका क्रान्तिकारीका स्वयंसेवकहरूले ध्वस्त भएका घरहरू पन्छाउने, पुरिएको अन्न, भाँडाकुडाहरू निकाल्ने र अस्थायी टहरा निर्माण गर्ने काम गरिरहेका छन्।

अध्यक्ष सिंहले भनिन्, ‘हामीले पहिलो चरणको काम भनेको भूकम्पबाट क्षतिग्रस्त घरहरू पन्छाउने काम थालेका छौँ। जाजरकोटमा कर्णालीबाट खटिएको दुई सय स्वयंसेवकहरूले भेरी नगरपालिका–१ का विभिन्न आठ वटा टोलमा काम गरिरहेका छन्। आइतबारबाट लुम्बिनी प्रदेशबाट आएको समूहले रुकुमपश्चिमका भूकम्पबाट प्रभावित क्षेत्रमा काम गर्ने छ।’

अध्यक्ष सिंहले भूकम्प प्रभावित नागरिकहरूले त्रिपालमुनि कष्टकर दैनिकी बिताइरहेकाले उनीहरूमा स्वास्थ्य समस्या पनि देखिन थालेको जानकारी दिइन्। 

उनले भनिन्, ‘जनतालाई छिटो पालमुक्त बनाउनु पर्ने देखिन्छ। त्यसो नगरे चिसोले नागरिकहरूमा स्वास्थ्य समस्या बढ्ने सम्भावना छ भने विभिन्न खालका रोगहरू फैलन सक्छ। पालमुनि वृद्धवृद्धा, सुत्केरी तथा गर्भवती र बालबालिकाको अवस्था निकै कठिन छ। यसमा सरकार चनाखो हुनुपर्नेछ।’
    
साथै केन्द्र सरकारले अस्थायी आवास निर्माण गर्ने भनेर ५० हजार रकम दिने भनिए पनि अहिलेसम्म स्थानीय सरकारले नागरिकको लगतसंकलन गर्न नसेको अध्यक्ष सिंहले बताइन्। 

नेकपा माओवादी केन्द्रले भूकम्प प्रभावित जिल्लाका नेता–कार्यकता तथा जिल्ला कमिटीलाई नै भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवकका रुपमा खटाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .