पार्टीको बृहत्तर एकता र भावी कार्यदिशाका विषयमा छलफल गर्न नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले विचार गोष्ठी आयोजना गरेको छ।
शनिबार (आज) सुरु गोष्ठी २ दिन अर्थात् आइतबारसम्म सञ्चालन हुने कांग्रेस कर्णालीले जनाएको छ।
नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्य र पार्टीबाट कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको विशेष आतिथ्यमा विचार गोष्ठी सुरु गरिएको प्रदेश सभापति ललितजंग शाहीले जानकारी दिए।
वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा कर्णालीबाट प्रतिनिधित्व गर्ने वर्तमान र पूर्वपदाधिकारी तथा सदस्य, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, संघीय सांसद, प्रदेश सांसद, पार्टीकातर्फबाट निर्वाचित जिल्ला समन्वय समिति प्रमुख एवम् उपप्रमुख, नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका प्रमुख, उपप्रमुख, कर्णाली प्रदेश कार्यसमितिका भ्रातृ तथा शुभचिन्तक संस्थाका पदाधिकारी, क्षेत्र, प्रदेश र पालिका सभापति सहभागी छन्।

यस्तै सुर्खेत जिल्ला कार्यसमिति, क्षेत्रीय समितिका पदाधिकारी, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरु, वडा सभापति र वडाध्यक्षहरूलाई कार्यक्रममा सहभागी छन्।
प्रदेश महामन्त्री निरञ्जन केसीले पार्टीको बृहत्तर एकताका लागि विचार गोष्ठीको आयोजना गरिएको बताए। उनले संघदेखि स्थानीय तहसम्म कर्णालीमा कांग्रेस पहिलो पार्टी रहेको बताउँदै यसलाई अझ एकतावद्ध बनाउनका लागि विचार गोष्ठीले महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने दाबी गरे।
‘कर्णालीबाट एकताको सन्देश प्रवाह गर्न विचार गोष्ठी आयोजना गरेका हौँ’, उनले भने।
Shares

प्रतिक्रिया