ad ad

राजनीति


सीके राउतको डरले एमालेलाई च्याप्दै उपेन्द्र यादव

राजीनामा लेखेर पनि एमालेका मन्त्रीले छाडेनन् मधेश सरकार
सीके राउतको डरले एमालेलाई च्याप्दै उपेन्द्र यादव

फाइल तस्बिर


जयन्त ठाकुर
चैत १३, २०७९ सोमबार १२:३४, जनकपुरधाम

संघीय सरकारबाट बाहिरिएको नेकपा एमाले प्रदेश सरकारबाट पनि अलग्गिँदैछ। सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार पहिले नै ढलिसकेको छ।

एमाले अहिलेसम्म बागमती प्रदेश सरकारबाट बाहिरिसकेको छ। उता लुम्बिनी र गण्डकीमा पनि माओवादीले साथ नदिएपछि एमालेको सरकार धरापमा परिसकेको छ। कोशी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार संकटमा छ।

तर उता मधेश सरकारबाट भने एमाले न आफैं हट्ने निर्णय गरेको न त मुख्यमन्त्री लिएको जनता समाजवादी पार्टी नै उसलाई बिदा गर्ने पक्षमा छ। 

मधेशमा सरकारको नेतृत्वमा रहेको जसपा संघीय सरकारतिर नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस लगायत १० दलीय गठबन्धनमा छ।

केन्द्रमा एमालेको साथ छाडेको जसपाले मधेश सरकारबाट तत्कालै हटाउने मुड बनाएको देखिँदैन। 

मंसिर ४ को निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग नमिठो पराजयपछि जसपा अध्यक्ष उपेन्द्र यादवको संसद यात्रा रोकिएको थियो।

यस्तोमा उनले त्यही बेलादेखि नै कुनै हालतमा प्रतिनिधिसभामा पुग्ने अठोट लिएका थिए। त्यहीकारण उनले मंसिर ४ को चुनावमा तालमेल गरेको एमालेलाई छाडेर कांग्रेस-माओवादीसँग मिसिँदै बारा क्षेत्र नम्बर २ बाट निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाइसकेका छन्। 

आफ्ना विश्वासपात्र रामसहायलाई उपराष्ट्रपतिमा निर्वाचित गराएपछि उपेन्द्र आफैँ बारा २ बाट उपचुनाव लड्ने तयारीमा छन्।

सीके राउतबाट संसदीय राजनीतिमा धक्का खाएका उनी उपनिर्वाचनबाट कमब्याक गर्ने योजनासहित अहिले आन्तरिक तयारीमा जुटिसकेका छन्। उता निर्वाचन आयोगले पनि बारा २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा गरिसकेको छ। वैशाख १ मा तनहुँ १ र चितवन २ मा पनि उपनिर्वाचन हुँदैछ।

यादवका लागि उपनिर्वाचन पनि सजिलो छैन। जनमत पार्टीका अध्यक्ष सीके राउत नेतृत्वको जनमत पार्टी पनि १० दलीय गठबन्धनमा छ। उसका सांसद अब्दुल खान मन्त्री नै छन्। 

तर १० दलकै घटक जसपा अध्यक्ष यादव र राउतको सम्बन्ध अहिले पनि राम्रो छैन। यादवसँगको तिक्ततापूर्ण सम्बन्धकै कारण जनमतले बारा २ मा उम्मेदवारी दिने तयारी गरेको छ।

जनमतका अध्यक्ष राउत अहिले पनि आफ्ना प्रत्येक मन्तव्यमा जसपा अध्यक्ष यादवविरुद्ध कटाक्ष गरिरहन्छन्। 

सत्ता गठबन्धनकै सदस्य दल विरोधमा उत्रिएपछि जसपा अध्यक्ष यादव सशंकित छन्। त्यसैले उनकै इशारामा अहिलेसम्म मधेश प्रदेश सरकारबाट एमालेलाई हटाउने तयारी रोकिएको छ।

जसपा अध्यक्ष यादव मधेश प्रदेशमा सत्ता गठबन्धनमा रहेका अन्य दलबाट उपनिर्वाचनमा समर्थन खोजिरहेका छन्। 
जसपाका एक नेताका अनुसार, सरकारमा सहभागी हुने दलबाट अध्यक्ष यादवले उपनिर्वाचनमा सघाउने प्रतिवद्धता खोजिरहेका छन्। 

‘उपेन्द्र यादवलाई सत्ता गठबन्धन दलबाट उपनिर्वाचनमा सघाउने प्रतिवद्धता नआएसम्म मधेश प्रदेश सरकारबाट  एमालेको बहिर्गमन सम्भव देखिँदैन,’ ती नेताले भने। 

सत्ता गठबन्धनले नसघाए अध्यक्ष यादव उपनिर्वाचनमा एमालेसँग गठबन्धनको योजनामा छन्। 

त्यसैले एमालेलाई मधेश सरकारमा रोकिराख्न मुख्यमन्त्री सरोज यादवलाई उपेन्द्र स्वयम्ले खटाएको श्रोतको भनाइ छ। 

यता नेपाली कांग्रेसले पनि मधेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी सुरु गर्न थालेपछि मधेसमा समीकरण फेरिन सक्ने संकेत देखिएको छ। यद्यपि जसपा कुनै जोखिम लिन चाहँदैन, त्यसैले न गठबन्धनसँग सम्बन्ध तोड्न चाहन्छ न त एमालेसँगै। 

यसअघि एमालेबाट मधेश सरकारमा सहभागी पाँच मन्त्रीहरूले राजीनामा दिने तयारीसमेत गरिसकेका थिए। 
उनीहरूले राजीनामापत्र समेत तयार पारिसकेका थिए। तर, मुख्यमन्त्री यादवसँगको छलफलपछि राजीनामा रोके। 

मधेश प्रदेशमा एमाले र माओवादीको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए। 

फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनका क्रममा नयाँ गठबन्धन बनेपछि मधेश सरकारबाट एमाले बाहिरिन खोजेको थियो।

नयाँ समीकरण बनेसँगै मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्ने चर्चा सुरू भएको थियो। 

त्यसपछि एमालेका मन्त्रीहरुले गत चैत ९ गते राजीनामापत्र तयार पारिसकेका थिए। 

‘मुख्यमन्त्री र एमाले नेतृत्वसँगको छलफलपछि राजीनामा रोक्यौँ,’ मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेश सभा मामिलामन्त्री राजकुमार लेखीले भने।

मधेश प्रदेशमा एमालेबाट भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुधन सिंह कोइरी, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहम्मद जैयद आलम, कानुन, न्याय तथा प्रदेश सभा मामिलामन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव राय छन्।

मधेश प्रदेश सभामा एमालेका २५, कांग्रेसका २२, जसपाका १७, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नौ, माओवादीका आठ, एकीकृत समाजवादीका सात तथा नागरिक उनमुक्ति पार्टी र राप्रपाका एक–एक सांसद छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .