राजनीति


रास्वपाको सिरहा अधिवेशनमा झडप, निर्वाचन प्रक्रिया स्थगित

रास्वपाको सिरहा अधिवेशनमा झडप, निर्वाचन प्रक्रिया स्थगित

सुभाष कर्ण
जेठ २५, २०८३ सोमबार १८:५९, जनकपुरधाम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिरहा जिल्ला अधिवेशनको क्रममा अधिवेशनस्थलमै झडप भएको छ। प्रतिनिधि सभा सदस्यहरूले रामसोगारथ यादवको नेतृत्वमा कार्यसमिति चयन गरेर घोषणा गर्न दबाब दिएपछि विवाद उत्पन्न भएको बताइएको छ। 

सांसदहरू तपेश्वर यादव, शिव यादव, शम्भु यादवलगायतले जिल्ला कार्यसमितिमा दबदबा कायम राख्न आफ्ना नातेदार रामसोगारथको नेतृत्वमा कार्यसमिति गठन गरेको भन्दै विरोध भएको थियो। निवर्तमान सभापति हरिप्रसाद मैनालीको समूह विरोधमा उत्रिएको हो। 

सभापति पदका उम्मेदवारी दर्ता भइसकेपछि मतदान प्रक्रियामा जानुपर्नेमा सांसदहरूले आफ्ना नातेदार रामसोगरथको नेतृत्वमा कार्यसमिति गठन गर्न खोजेकाले आफूहरू विरोधमा उत्रिएको मैनाली पक्षधरका प्रतिनिधिले जनाएका छन्। उनीहरू विरोधमा उत्रिएपछि झडप भएको हो। 

उद्घाटन सत्र सम्पन्न भई सर्वसहमतिबाट कार्यसमिति गठन गर्न खोजिएको थियो। अध्यक्षमा मैनाली, रामसोगरथ र सुभाष यादवले दावेदारी गर्दा सहमति हुन नसकेपछि मतदान प्रक्रियामा जाने भनी उम्मेदवारी दर्ता भई अन्तिम नामावली समेत जारी भइसकेको थियो। 

झडपको क्रममा रास्वपा ¥यापिट एक्सन टिमका जिल्ला प्रमुख दिनेश थापालगायत केही व्यक्तिमाथि हातपात भएको छ। झडप भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको छ। मंगलबार बिहानसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको जनाएको छ। 

यसअघि आइतबार दिनभरि सर्वसम्मतको प्रयास भए पनि टुंगो लागेको थिएन। त्यसपछि सोमबार बिहान १० बजेबाट निर्वाचन प्रक्रिया सुरु गर्ने निर्णय भएको थियो। तर, बिहान पनि वातावरण असहज देखिएपपछि निर्वाचन प्रक्रिया रोकिएको थियो। 

निर्वाचन आयोगले सोमबार दिउँसो साढे २ बजेबाट निर्वाचन प्रक्रिया अगाडि बढाउने प्रयास गरेको थियो। तर, प्रक्रिया अगाडि बढाउन खोज्दा अधिवेशन स्थलमै दुवै पक्षबीच विवाद बढदै झडप भएको बुझिएको छ। 

विवाद थप चर्किएपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। आयोगका प्रमुख भुवन केसीले एक विज्ञप्ति जारी गरी जिल्ला अधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रिया मंगलबार बिहान ९ बजेपछि सञ्चालन गरिने जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad