ad ad

राजनीति


सभामुखले सुनुवाइसम्बन्धी पत्र फिर्ता पठाएकोमा राष्ट्रिय सभा अध्यक्षको आपत्ति (वक्तव्यको पूर्णपाठ)

सभामुखले सुनुवाइसम्बन्धी पत्र फिर्ता पठाएकोमा राष्ट्रिय सभा अध्यक्षको आपत्ति (वक्तव्यको पूर्णपाठ)

नेपालखबर
माघ १९, २०७७ सोमबार ९:४०,

प्रतिनिधि सभा सभामुखले सुनुवाइसम्बन्धी पत्र फिर्ता पठाएकोमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आपत्ति जनाएका छन्।

सभामुख अग्निप्रसाद सापकोटाले सुनुवाइसम्बन्धी सक्कलै पत्र फिर्ता गरी उनले सभामुखमा निहित अधिकार प्रयोग गरी त्यसो गरिएको हिजो आइतबार जानकारी गराएका थिए।

प्रतिनिधि सभाका सभामुखले पत्रहरु फिर्ता गर्नुका साथै त्यसमा प्रयुक्त व्यहोराबारे आफ्नो ध्यानाकर्षण भएको तिमिल्सिनाले बताएका छन्।

‘पत्रमा उल्लिखित संघीय संसद तथा सो अन्तर्गतका समितिहरुको व्यवस्थापन, सञ्चालन समेत व्यवस्था गर्ने अधिकार सभामुखमा निहित भएको भन्ने व्यहोराले दुई सदनात्मक संघीय व्यवस्थापिकासम्बन्धी संवैधानिक व्यवस्था, स्थापित अभ्यास, माथिल्लो सदन राष्ट्रिय सभाको भूमिका र गरिमामा प्रहार भएको छ,’ तिमिल्सिनाले सोमबार पत्रकार सम्मेलन गरी आफ्नो आपत्ति व्यक्त गरे।

GaneshTimilsina Rastriyasabha 3

नेपालको संविधान र संघीय संसदको बैठक तथा संयुक्त समिति कार्यसंचालन नियमावली २०७५ ले संसदीय सुनुवाइ समिति गठन र सञ्चालनसम्बन्धी व्यवस्था गरेको भन्दै तिमिल्सिनाले दुवै सदनको प्रतिनिधित्व रहने संसदीय सुनुवाइ समितिका संयुक्त समितिहरु सञ्चालनको अधिकार संघीय संसदको कुनै एक सदन वा पदाधिकारीमा निहित नरहेको बताएका छन्।

अध्यक्ष तिमिल्सिनाद्वारा आज सोमबार जारी गरिएको प्रेस नोट

‘प्रतिनिधि सभाका सम्माननीय सभामुखबाट मिति २०७७/१०/१८ गते ‘संसदीय सुनुवाइ सम्बन्धी प्राप्त सक्कलै कागजात फिर्ता पठाइएको सम्बन्धमा’ भएको पत्राचार, अधिकारक्षेत्र र त्यसमा प्रयुक्त व्यहोराप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

पत्रमा उल्लिखित ‘संघीय संसद तथा सो अन्तर्गतका समितिको व्यवस्थापन, सञ्चालन समेतको व्यवस्था गर्ने अधिकार प्रतिनिधि सभाका सभामुखमा निहित भएको’ भन्ने व्यहोराले दुई सदनात्मक संघीय व्यवस्थापिका सम्बन्धी संवैधानिक व्यवस्था, स्थापित अभ्यास, माथिल्लो सदन (राष्ट्रिय सभा)को भूमिका र गरिमामा प्रहार भएको छ।

नेपालको संविधान र संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०७५ ले संसदीय सनुवाइ समिति गठन र सञ्चालनसम्बन्धी व्यवस्था गरेको छ। जसअनुसार दुवै सदनको प्रतिनिधित्व रहने संसदीय सनुवाइ सहितका संयुक्त समितिहरु सञ्चालनको अधिकार संघीय संसदको कुनै एक सदन वा पदाधिकारीमा निहित रहेको छैन।

अधिकारप्राप्त निकायबाट आएका कुनै पनि कागजात संघीय संसदको दुवै सदनको सम्पत्ति हो। संसदीय सनुवाइ सम्बन्धी पत्र फिर्ता सम्बन्धी प्रक्रियामा संंघीय संसदको माथिल्लो सदन ९राष्ट्रिय सभा० संलग्न नरहेको जानकारी गराउँछु।

संविधानको धारा २ मा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा रहेको भन्ने व्यवस्था र संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम ६ ले संयुक्त बैठकको अध्यक्षताको सम्बन्धमा मात्रै उल्लेख गरेको छ। नियमावलीको नियम २५ र २६ ले संसदीय सनुवाइ समिति गठन, सञ्चालन र सनुवाइ सम्बन्धी कार्यविधिको विस्तृत र स्पष्ट व्यवस्था गरेको छ। नियम ४१ ले नियमको व्याख्या गर्ने अधिकार समेत संघीय संसदको कुनै एक पदाधिकारीलाई दिएको छैन। संयुक्त नियमावलीको व्याख्या आवश्यक परेकै अवस्थामा राष्ट्रिय सभा अध्यक्षसँगको परामर्शमा मात्रै सभामुखले गर्न सक्ने प्रावधान छ।

सुनुवाइका लागि संबैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सनुवाइ समितिको दुई तिहाई बाहेकका अन्य कुनै पनि निकाय वा पदाधिकारीलाई अस्वीकार वा फिर्ता गर्ने कानूनी व्यवस्था छैन। विगतमा पनि संसदीय सनुवाइ समिति नरहेको अवस्थामा सभामुखको एकल निर्णयबाट फिर्ता भएको नभई संवैधानिक परिषद्बाट झिकाउने निर्णय भइ अनुरोध गरिएकोले मात्र संसद सचिवालयले फिर्ता गरेको हो।

नियमावलीअनुसार संघीय संसदको महासचिव नै सनुवाइ समितिको पदेन सचिव हो। परिषद्ले मिति २०७७/०९/३ मा लेखेको पत्रमा पनि ‘संघीय संसदका महासचिव तथा संसदीय सनुवाइ समितिका सचिव’ लाई नै सम्बोधन गरेको पत्र मिति २०७७/९/५ मा प्राप्त भएको देखिन्छ। विगतमा पनि मुस्लिम आयोगका अध्यक्षको सनुवाइ सम्बन्धमा संसदीय सनुवाइ समितिले निर्णय दिन नसक्दा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २६(२) अनुरुप समयावधि गणना गर्दा महासचिवले पत्र बुझेको दिनबाट गणना भई नियुक्ति प्रक्रिया अघि बढेको तथ्य स्मरणीय छ।

संविधानको धारा ११४ मा मन्त्रिपरिषद्को सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट जारी भएको अध्यादेश संघीय संसदले अस्वीकृत गरेको अवस्थामा बाहेक कानून सरह लागू हुन्छ भनी उल्लेख गरिएको छ। संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) अध्यादेश, २०७७ सम्बन्धमा सम्मानीत सर्वोच्च अदालतबाट अन्यथा आदेश भएको अवस्था होइन र छैन।
म समेत सहभागी भै निर्णय भएको संवैधानिक परिषद्का सिफारिसहरु विधिसम्मत ढंगले संसदीय सनुवाइ समितिलाई उपलब्ध गराइएको हो। प्रतिनिधि सभा विघटनपूर्व संघीय संसदका महासचिव एवं सनुवाइ समितिका सचिवलाई सिफारिसपत्रहरु उपलब्ध भएको र प्रक्रियामा रहेको अवस्थामा हठात् सिफारिसपत्रहरु नेपालको संविधान र संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ विपरित सभामुखको एकल निर्णयले फिर्ता पठाएकोमा गम्भीर आपत्ति प्रकट गर्दछु।

गणेशप्रसाद तिमिल्सिना
अध्यक्ष
राष्ट्रियसभा, संघीय संसद, नेपाल
मिति–२०७७/१०/१९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .