राजनीति


मुख्यमन्त्रीमा दाबी गर्ने बेला सम्पर्कबाहिर नागरिक उन्मुक्ति, एमालेका रावललाई तनाव

मुख्यमन्त्रीमा दाबी गर्ने बेला सम्पर्कबाहिर नागरिक उन्मुक्ति, एमालेका रावललाई तनाव

मुख्यमन्त्रीमा दाबी गर्न लागेका एमाले दलका नेता राजेन्द्र रावल। तस्बिर : नेपालखबर


नेपालखबर
पुस २७, २०७९ बुधबार १५:१३, कञ्चनपुर

मुख्यमन्त्रीमा दाबीका लागि तोकिएको समय गुज्रिन लाग्दा पनि सुदूरपश्चिममा प्रदेश सरकार गठनको अन्योल कायमै छ। 

मुख्यमन्त्रीमा दाबी पेश गर्न तयार नेकपा एमालेको सम्पर्कमा अहिलेसम्म नागरिक उन्मुक्ति पार्टी आइसकेको छैन। 

बिहानदेखि नागरिक उन्मुक्ति नआएपछि एमाले प्रदेश प्रमुखसमक्ष दाबी गर्न जान सकेको छैन। 

नागरिक उन्मुक्तिले रेशम चौधरी रिहाइको लिखित प्रतिवद्धता नपाएसम्म समर्थन नगर्ने अडान लिएको हो। यही अडानसहित ऊ प्रदेशमा सत्तारुढ गठबन्धनको सम्पर्कमा नआएको हो।

शीर्ष तहमा छलफल भइरहेकाले सरकार गठनको समय सीमाभित्र गठबन्धन्लाई उन्मुक्तिले समर्थन गर्ने एमालेका एक नेताले बताएका छन्।

सुदूरपश्चिम प्रदेशमा अहिले सरकार गठबनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक छ। 

यो प्रदेशमा नागरिक उन्मुक्तिका ७ जना प्रदेशसभा सदस्य छन्। उसले एमाले नेतृत्वको गठबन्धनलाई समर्थन नगरे सरकार बन्न सक्दैन।

यहाँ नयाँ गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकसहित २९ प्रदेश सभा सदस्य छन्।

अर्कातिर यहाँ कांग्रेस सबैभन्दा ठूलो दल छ। उसका १९ सांसद छन्। अर्कातिर एकीकृत समाजवादी पार्टीका चार र एकजना स्वतन्त्र सदस्य छन्। 

यस्तोमा यहाँ मुख्यमन्त्रीका लागि विश्वासको मतका लागि २७ सदस्य चाहिन्छ। अहिले माओवादी र एमाले मिल्दा २१ जना हुन्छन्। त्यस्तै राप्रपाका एक जोड्दा २२ हुन्छ। तर नागरिक उन्मुक्तिले साथ नदिँदा अझै ५ सांसद गठबन्धनलाई पुग्दैन

अर्कातिर १९ सांससहितको कांग्रेसलाई नागरिक उन्मुक्तिले साथ दिएमा २६ सांसद हुन्छन्। त्यसमा स्वतन्त्र    मिसिएमा बहुमत पुग्छ। अर्कातिर राप्रपाका एकजना मिसिएको अवस्थामा एमाले-माओवादी प्रतिपक्षमा पुगेर कांग्रेस नेतृत्वको सरकार पनि बन्न सक्छ।

नागरिक उन्मुक्तिको अड्कोबीच प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि दिएको समय सीमा बिहीबार साँझ ५ बजे सकिँदैछ।

सुदूरपश्चिममा माओवादीका त्रिलोचन भट्टले विवाद र निराशाबीच आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरेर बिदा भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .