ad ad

राजनीति


विश्वासको मत नपाएका रावलले बुझाए राजीनामा

विश्वासको मत नपाएका रावलले बुझाए राजीनामा

नेपालखबर
माघ २६, २०७९ बिहिबार १८:४९, काठमाडौँ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुखे देवराज जोशीलाई राजीनामा बुझाएका छन्। 

बिहीबार बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत लिन असफल उनले प्रदेश प्रमुख कार्यालय पुगेर राजीनामा बुझाएका हुन्। 

उनले विश्वासका मत लिन छलफलका लागि प्रदेश सभा बैठकमा पेश गरेको प्रस्ताव अस्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरेका थिए।

उनको यो घोषणासँगै रावल स्वत: पदमुक्त भएका थिए। संविधानको धारा १६८ (२) अनुसार गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएको २९ दिनपछि विश्वासको मत लिन नसकेपछि रावल कुर्सीबाट बाहिरिए।

एमालेका समानुपातिक सांसद रावल पुस २७ मा नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। 

समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य बनेर नेकपा एमाले संसदीय दलको नेता चुनिएका रावललाई माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सहित २९ सांसदको समर्थन थियो।

तर रेशम चौधरीलाई रिहा गर्नुपर्ने अडानबाट पछि नहटेको नागरिक उन्मुक्तिले बिहीबार संसदमै अनुपस्थित भएपछि सरकारबाट रावलको बहिर्गमन भयो।

प्रदेश प्रमुख जोशीलाई रावलले राजीनामा बुझाएसँगै बिहीबारै सबैभन्दा ठूलो नेपाली कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्दैछन्। 

रावलको सरकार ढलेपछि अब संविधानको धारा १६८ (३) अनुसार अर्को मन्त्रिपरिषद् गठन हुने छ। जसअनुसार कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्दैछन्। उनलाई आजै मुख्यमन्त्रीमा नियुक्त गरिँदैछ।

‘प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ,’ उपधारा ३ मा भनिएको छ।  

मुख्यमन्त्री रावलले विश्वासको मत नपाएपछि अब संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने कांग्रेस दलका नेता शाहले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .