ad ad

कोशी


८ ट्रक सुपारीमा उच्च तहको सहमति, निर्यातको तयारी

८ ट्रक सुपारीमा उच्च तहको सहमति, निर्यातको तयारी

फाइल फोटाे


सुमन पुरी
असोज ७, २०७९ शुक्रबार ९:१२, विराटनगर

दुई महिनाअघि प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धानका लागि राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीलाई बुझाएको ८ ट्रक सुपारी छाड्ने तयारी भएको छ। 

उच्च तहमा सुपारीका सम्बन्धमा कुरा मिलेपछि अदालतमा रहेको प्रक्रियालाई टुंग्याएर सुपारी निर्यातको तयारी भएको छ। 

साउन ५ गते नेपाल प्रहरीले भन्सार जाँचपास भई भारतीय कस्टममा राजश्व तिरिसकेको ८ ट्रक सुपारी गैरकानुनी भएको भन्दै नियन्त्रणमा लिएको थियो। 

प्रहरीले सुपारी नियन्त्रणमा लिएपछि निर्यातकर्ता मनोकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरे उच्च अदालत गएका थिए। 

तर दुई महिनाको अवधिमा सुपारीको डिल मिलेपछि सुपारी निर्यातकर्ता मनोकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरेले उच्च अदातलमा हालेको रिट फिर्ता लिएका छन्।

उनी रिट फिर्ता गर्न माग राख्दै मंगलबार अदालत गएका थिए। उनले दिएको निवेदन उपर उच्च अदालत विराटनगरका न्यायाधीश मुरारीबाबु श्रेष्ठ र राजनप्रसाद भट्टराईको संयुक्त इजलासले रिट फिर्ताको आदेश दिइसकेको उच्च अदालतका सूचना अधिकारी ओम अधिकारीले बताए।

प्रहरीले गत साउन ५ गते भन्सार जाँच पास भई नेपालबाट भारत निर्यात भइरहेको ८ ट्रक सुपारी नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो। 

उक्त सुपारीबारे अनुसन्धान सुरु भएसँगै निर्यातकर्ता मनकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरेले साउन २६ गते उच्च अदालतमा रिट दायर गरेका थिए।

घिमिरेले नेपालको उत्पादन भएको सुपारी सम्पूर्ण कानुनी प्रक्रिया पुर्याएर भारत निकासी गर्न लागेका बेला प्रहरीले गैरकानुनी रूपमा पक्राउ गरी राजश्व अनुसन्धानमा बुझाएको भन्दै रिट दायर गरेका हुन्।

उनले राजश्व अनुसन्धान कार्यालय इटहरी, विराटनगर भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरङ र भन्सार विभागलाई विपक्षी बनाएका छन्। 

अदालतमा रिट परेपछि राजश्व अनुसन्धान एकाइ कार्यालयले प्रहरीले बुझाएको सुपारीका विषयमा अनुसन्धान गरेको थिएन। राजश्व अनुसन्धानका एक अधिकारीले रिट फिर्ता हुनुलाई सुपारी निर्यात गर्ने बाटो खुलेको बताए। 

उनले भने, ‘यो सरल बाटोको अनुसन्धान थिएन। दुवै पक्षका स्वार्थले राजश्वसम्म सुपारी आएकाले यो मुद्दा पनि त्यसरी नै टुंगिन्छ।’

उनका अनुसार अदालतको आदेश अहिलेसम्म राजश्व कार्यालयमा आइनपुगेको र आइपुगेपछि अनुसन्धानको प्रक्रिया आगाडि बढ्ने छ। 

राजश्व अनुसन्धान एकाइ कार्यालय इटहरीका प्रमुख तीर्थराज खनालले रिट फिर्ता लिएपछि अनुसन्धानका लागि सहज भएको बताए। 

उनले उक्त सुपारी भारतको भएको दाबी गरे। भन्सारबाट आवश्यक कागजपत्र हेरेर जाँचपास भएको तथा भारतीय कस्टममा राजश्वसमेत तिरिसिकेकाले सुपारी भारतको भएको खनालले दाबी गरे। 

उनले प्राविधिक कारणले नेपाली बाटो मात्रै प्रयोग भएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताए। 

‘हामीले आवश्यक कागजात हेर्ने हो। कागजत मिले/नमिलेको अनुसन्धान गर्ने र थप अनुसन्धानका लागि राजश्व विभागलाई अनुरोध गर्ने हो’, उनले भने।

८ वटा ट्रकमा २ लाख १९ हजार ५९६ किलो सुपारी छ। जसको मूल्य करिब ८ करोड ६३ लाख ८१ हजार रुपैयाँभन्दा बढी पर्ने प्रहरीको भनाइ छ।

मनोकामना ट्रेडर्स विराटनगर १४ का नाममा झापाबाट खरिद भएर आइसा एक्सपोर्ट कोलकातालाई बिक्री गरेको सुपारी झापामा उत्पादन भएको कागजत भन्सारलाई पेस गरिएको छ। 

सुपारी निर्यातका लागि नेपाल सुपारी खेती विकास संस्था अर्जुनधारा सिफारिस गरेको छ। सो सुपारी झापामै उत्पादन भएको उद्योग वाणिज्य संघ भद्रपुर झापाले उत्पतिको प्रमाणपत्र समेत दिएको छ।

बालुवाटार निकट व्यापारीको सुपारी बेच्न ८ ट्रक नियन्त्रणमा  
दुई वर्षअघि  तेस्रो मुलुकबाट सुपारी आयात गर्न कोटा खोलिएको थियो। २५ हजार मेट्रिक टन सुपारी आयातमा बालुवाटार निकटका दुई फर्मले समेत कोटामा सुपारी नेपाल भित्र्याएका थिए। 

तर, तेस्रो मुलुकबाट सुपारी नेपाल ल्याई नेपालमा उत्पत्तिको प्रमाणपत्र बनाएर भारत पठाउने व्यापारमा प्रदेश १ का व्यापारीहरुले कब्जा जमाएका थिए। 

सुपारी किङका रुपमा परिचित दीपक पोखरेलको नेतृत्वमा रहेको सुपारी आयात/निर्यातकर्ताहरुको बजारमा बालुवाटार निकट फर्महरुले सुपारी बेच्न सकेनन्। 

सुपारी बेच्न नसकेर उनीहरुको अर्बौं लगानी डुब्ने भएपछि बालुवाटारले नै ती दुई फर्मका सुपारी बेच्न ८ ट्रक सुपारी नियन्त्रणमा लिन प्रहरीलाई लगाएको प्रदेश १ का सुपारी व्यापारमा संलग्नहरु बताँउछन्। 

८ ट्रक सुपारी नियन्त्रणमा लिएपछि यताका व्यापारीहरुले सुपारी नियन्त्रण हुने डरले निर्यात नगरेपछि बालुवाटर निकट फर्मका सुपारी भारत पठाइएको व्यापारीहरु बताँउछन्। 

गोदाममा थन्किएका बालुवाटारनिकट व्यपारीको सुपारी निर्यात भएपछि नियन्त्रणमा लिइएका सुपारी छाड्ने कुरा मिलिसकेको स्राेतको दाबी छ। 

सुपारी नियन्त्रणमा लिने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले नियन्त्रणमा लिइएको सुपारीको विषय आफूसँग सम्बन्धित नभएको बताए। 

उनले भने, ‘गैरकानुनी ढंगबाट निर्यात हुन लागेको सूचनाका आधारमा हामीले नियन्त्रणमा लिएर राजश्वलाई बुझाएका हौँ। जे गर्छ राजश्वले गर्छ। यसबारेमा मेरो कुनै प्रतिक्रिया छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .