ad ad

प्रविधि


ट्विटर हाँक्न एकाएक पर्दापछाडिबाट उदाएका पराग अग्रवाल को हुन्?

ट्विटर हाँक्न एकाएक पर्दापछाडिबाट उदाएका पराग अग्रवाल को हुन्?

नेपालखबर
मंसिर १४, २०७८ मंगलबार १४:१३, काठमाडौँ

ट्विटरका नयाँ प्रमुख कार्यकारी अधिकृत पराग अग्रवाल सिलिकन भ्यालीकै ‘हाइप्रोफाइल’ र राजनीतिक रुपमा अस्थिर मानिने काम सम्हाल्न आइपुगेका छन्।  

बलियो प्राविधिक पृष्ठभूमिका उनले अब ट्विटरको नेतृत्व गर्नेछन्। ३७ वर्षीय भारतीय आप्रवासी अग्रवाल सेलिब्रिटी सीईओहरुको वरीयताबाहिरबाट आएका हुन्। उनले फेसबुकका मार्क जुकरबर्ग, स्पेस एक्स र टेस्लाका एलन मस्कको वरीयतामा पर्ने ज्याक डोर्सेलाई प्रतिस्थापन गर्दै छन्। 

ती ब्रान्ड बनेका कम्पनीका नेतृत्वकर्ताहरु प्रायः समाचारहरुमा आइरहन्छन्। 

विगत ४ वर्षयता ट्विटरका प्रमुख प्रविधि अधिकृत रहेका अग्रवालको सीईओ नियुक्तिलाई वालस्ट्रिटले इन्टरनेटको नयाँ युग ‘मेटाभर्स’तिर ट्विटरलाई डोर्याउने रोजाइका व्यक्तिका रुपमा लिएको छ। 

त्यसो त अग्रवाल सीईओमा ‘सेफ पिक’ हुन्। लगानीकर्ताले पनि उनलाई रुचाएको बताउँछन् सेरा रिसर्चका विश्लेषक एन्जेलो जिनो। उनका अनुसार ट्विटरको सेयरसदस्य एलियट मेनेजमेन्ट कर्पले डोर्सेलाई राजीनामाका लागि दबाब सिर्जना गरेको थियो। 

एलियटले सोमबारै एक वक्तव्य जारी गरी अग्रवाल र नयाँ बोर्ड प्रमुख ब्रेट टेल महत्वपूर्ण क्षणमा ट्विटरका लागि उपयुक्त नेतृत्वकर्ता रहेको बताएको छ। 

टेलर बिजनेस सफ्टवेयर कम्पनी सेल्सफोर्सका अध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृत (सीओओ) हुन्। 

यता अग्रवालले ठूला प्रविधि कम्पनीका भारतीय–अमेरिकी सीईओहरुको बढ्दो सूचीमा समावेश भएका छन्। यसमा गुगलको मातृकम्पनी अल्फाबेटका सुन्दर पिचाई, माइक्रोसफ्टका सत्या नाडेला र आईबीएमका अरविन्द कृष्णसँगै अग्रवाल पनि जोडिएका हुन्। 

अग्रवाल सन् २०११ मा सनफ्रान्सिस्कोमा रहेको ट्विटरमा जोडिएका थिए। त्यतिबेला ट्विटरका १ हजार कर्मचारी मात्रै थिए। सन् २०१७ यता उनी कम्पनीको प्रमुख प्रविधि अधिकृत रहँदै आएका छन्। गत वर्षको अन्त्यसम्म कम्पनीको कार्यबल ५ हजार ५ सय संख्याको बन्यो। 

अग्रवालले यसअघि माइक्रोसफ्ट, याहु, एटीएन्डटीजस्ता चर्चित कम्पनीमा अनुसन्धानको भूमिका निर्वाह गरिसकेका छन्। 

ट्विटरमा उनले मेसिन सिकाइ, राजस्व र कन्जुमर इन्जिनियरिङमाथि काम गरे। प्रयोगकर्ता वृद्धिमा सहयोग गरे। 

उनले स्ट्यानफोर्डमा र मुम्बईस्थित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा अध्ययन गरेका छन्। 

हुन त ट्विटरका प्रयोगकर्ता राजनीतिज्ञ, कलाकारजस्ता हाइप्रोफाइल व्यक्तित्वहरु र पत्रकारहरु छन्, तर संख्यात्मक हिसाबले यो फेसबुक, युट्युब र टिकटकभन्दा निकै पछि छ। यसका २० करोड दैनिक सक्रिय प्रयोगकर्ता रहेका छन्। 

सीईओका रुपमा अग्रवालले प्राविधिकबाहेकका कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ, सामाजिक र राजनीतिक मुद्दाहरुसँग जुध्नुपर्ने हुन्छ। त्यसमा पनि अफवाह, झूटा सूचना, दुव्र्यवहार र मानसिक स्वास्थ्यमाथिका असरहरुसँग लड्न यस्ता कम्पनीहरुले संघर्ष गर्दै आएका छन्। 

अग्रवालले जीवनमा छिटै ट्विटरजस्तो राजनीतिक भनाइका लागि केन्द्रीय अनलाइन प्लेटफर्मको सीईओका रुपमा परिचय बनाउन सफल भएका छन्।   

विरोधीहरुले उनी सीईओ बनेसँगै सन् २०१० मा उनले गरेको एउटा ट्विटको उत्खनन गरिसकेका छन्। 

उनले त्यतिबेला लेखेका थिए, ‘यदि मुस्लिम र अतिवादीबीच भिन्नता नबनाउने हो भने किन मैले गोरा मानिस र नश्लवादीबीच भिन्नता छुट्याउनुपर्यो?’ एससीएमपीबाट

याे पनि- ट्विटरका प्रमुख कार्यकारीबाट डोर्सेले दिए राजीनामा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .