प्रविधि


अमेरिकामा ‘नेपाल टेक रोडसो यूएसए’ सम्पन्न, नेपालको प्रविधि उद्योगप्रति अन्तर्राष्ट्रिय चासो

अमेरिकामा ‘नेपाल टेक रोडसो यूएसए’ सम्पन्न, नेपालको प्रविधि उद्योगप्रति अन्तर्राष्ट्रिय चासो

नेपालखबर
जेठ ५, २०८३ मंगलबार ११:१९, काठमाडौँ

अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडसो यूएसए २०२६’ ले नेपालको बढ्दो प्रविधि उद्योग र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमताप्रति अन्तर्राष्ट्रिय चासो बढाएको छ।

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनिज (एनएएस-आईटी) र नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्स (एनएसीओसी) को सहकार्यमा आयोजना गरिएको कार्यक्रमको उद्देश्य नेपाललाई उदीयमान प्रविधि गन्तव्यका रूपमा विश्वसामु स्थापित गर्नु हो। 

कार्यक्रम अमेरिकाको डेलासस्थित एम्बेसी सुइट्स बाई हिल्टन ग्रेपवाइनमामा आयोजना गरिएको हो। कार्यक्रममा नेपाल र अमेरिकाका प्रविधि उद्यमी, लगानीकर्ता, व्यवसायी, नीति निर्माता तथा डायस्पोरा प्रोफेसनलहरूको उल्लेखनीय सहभागिता थियो।

रोडसोमा वक्ताहरूले नेपालको द्रुत रूपमा विस्तार भइरहेको सफ्टवेयर तथा आईटी सेवा क्षेत्र, दक्ष इन्जिनियरिङ जनशक्ति, स्टार्टअप इकोसिस्टम, आउटसोर्सिङ क्षमता तथा आईटी निर्यातको सम्भावनाबारे चर्चा गरेका थिए।

कार्यक्रममा नासआईटीका संस्थापक अध्यक्ष रिचन श्रेष्ठ, लिपफ्रगका संस्थापक हिमाल कर्माचार्य तथा हाम्रोपात्रोका शंकर उप्रेतीले नेपालको डिजिटल रूपान्तरण र प्रविधि क्षेत्रमा देखिएका अवसरहरू शेयर गरेका थिए।

हाल नेपालमा २ हजारभन्दा बढी प्रविधि कम्पनी, १ लाखभन्दा बढी टेक प्रोफेसनल तथा वार्षिक करिब १ अर्ब अमेरिकी डलर बराबरको आईटी निर्यात छ। पछिल्ला वर्षहरूमा नेपालको टेक क्षेत्रमा भएको प्रगतिले धेरै डायस्पोरा सदस्यलाई समेत आश्चर्यचकित बनाएको सहभागीहरूले बताएका छन्।

नास आईटीले यसअघि सम्पन्न ‘नेपाल टेक रोडसो सिड्नी २०२५’ तथा ‘नेपाल टेक कनेक्ट सान फ्रान्सिस्को’ पछि यूएसए रोडसोले नेपालको अन्तर्राष्ट्रिय प्रविधि उपस्थितिलाई थप मजबुत बनाएको जनाएको छ। साथै कार्यक्रमले सहकार्य, लगानी, आउटसोर्सिङ साझेदारी तथा डायस्पोरा सहभागिताका नयाँ अवसर सिर्जना गरेको आयोजकको दाबी छ।

संस्थाका अनुसार यस्ता प्रवर्द्धनात्मक कार्यक्रमहरूले नेपाललाई केवल पर्यटन गन्तव्यका रूपमा मात्र नभई प्रविधि, नवप्रवर्तन र डिजिटल रूपान्तरणको उदीयमान केन्द्रका रूपमा विश्वसामु प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्।

अमेरिकाको डेक्सपर्ट्स इंकको प्रमुख सहकार्यमा आयोजना भएको रोडसो कार्यक्रममा एसोसिएट पार्टनरको नेप्लिज अमेरिकन चेम्बर अफ कमर्स, फोकस हेल्थ, फ्युजमेसिन्स, ग्लोबल आईएमई बैंकलगायतको सहकार्य थियो।

नास आईटीबारे नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज (एनएएस-आईटी) नेपालको सफ्टवेयर तथा आईटी सेवा क्षेत्रको अग्रणी गैरनाफामूलक उद्योग संस्था हो।

संस्थाले नीतिगत पैरवी, दक्ष जनशक्ति विकास, नवप्रवर्तन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय बजार विस्तारमार्फत नेपालको प्रविधि उद्योगको प्रतिस्पर्धात्मकता र विश्वव्यापी पहिचान विस्तार गर्ने कार्य गर्दै आएको छ। संस्थाको दीर्घकालीन लक्ष्य सहकार्य, उद्यमशीलता तथा डिजिटल रूपान्तरणमार्फत नेपाललाई विश्वस्तरीय प्रविधि केन्द्रका रूपमा स्थापित गर्नु रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad