चिनियाँ पुरातत्वविदहरुले संसारकै सबैभन्दा पुरानो फ्लस गर्न मिल्ने पाइखाना फेला पारेको बताएका छन्। सियान सहरको एउटा पुरातात्विक स्थलमा २४ सय वर्ष पुरानो पाइखाना फेला परेको उनीहरुको भनाइ छ।
‘चीनमा उत्खनन् गर्दा फेला परेको यो पहिलो र एक मात्र फ्लसिङ ट्वाइलेट हो,’ अध्येता लिउ रुइले भने, ‘सो स्थलमा भेला भएका सबै चकित भयौँ। त्यसपछि मजाले हाँस्यौँ।’
२४ सय वर्षअघि पाइखानालाई विलासी सुविधा मानिन्थ्यो। सो पाइखाना चीनका सम्राटले प्रयोग गरेको अनुमान गरिएको छ।
सेवकहरुले थुप्रो पानी हालेर सो पाइखाना फ्लस गर्ने गरिएको वैज्ञानिकहरुको भनाइ छ।
उनीहरु सो पाइखानामा मानव मलको कुनै अंश भेटिन्छ कि भनेर खोजी गरिरहेका छन्। ताकि त्यतिबेलाका मान्छेहरुले के खान्थे भन्ने पत्ता लगाउन सकियोस्।
हालसम्म बेलायतकी रानी एलिजावेथ प्रथमलाई फ्लस गर्न मिल्ने पहिलो चर्पी प्रयोगकर्ता मानिँदै आएको थियो। अब उनको त्यो उपाधि खोसिएको छ।
आजभोलि हामीले प्रयोग गर्ने चर्पी चाहिँ १८०० पछि टमस क्र्यापरले आविष्कार गरेका हुन्। एजेन्सी
प्रतिक्रिया