ad ad

प्रविधि


मान्छेजस्तै सिर्जनात्मक जीपीटी-४ सार्वजनिक : 'क्रियटिभिटी'का लागि कति खतरा?

मान्छेजस्तै सिर्जनात्मक जीपीटी-४ सार्वजनिक : 'क्रियटिभिटी'का लागि कति खतरा?

नेपालखबर
चैत १, २०७९ बुधबार १३:६, काठमाडौँ

व्यवसायिक, शैक्षिक र सिर्जनात्मक क्षेत्रमा मान्छेत्तिकै प्रदर्शन गर्नसक्ने कृत्रिम बौद्धिकता ‍(आर्टिफिसियल इन्टेलिजेन्ट) जीपीटी फोर सार्वजनिक भएको छ।

मंगलबार माइक्रोसफ्टले ओपनएआईसँग सहकार्य गरेर उक्त एआई मोडल सार्वजनिक गरेको हो।

गत वर्ष नोभेम्बरमा ओपेन एआई कम्पनीले च्याटजीपीटी सार्वजनिक गरेको थियो। जसले छोटो समयमा विश्वभर ठूलो तरंग ल्याएको थियो भने उक्त एआई गुगलका लागि मात्रै नभएर मान्छेको क्रियटिभिटीका लागि पनि खतरनाक भएको भन्दै टिप्पणी भएका थिए।

यसमा सन् २०२२ सम्म विश्वमा घटेका घटनाको अपडेट थियो। प्रयोगकर्ताले कुनै व्यक्तिसँग च्याट गरेजसरी आफूलाई चाहिएको विषयमा जिज्ञासा राख्न सक्थे, जसको उक्त एआईले सटिक जवाफ दिन्थ्यो। यसले कुनै विषयमा कविता तथा कथा जस्ता रचनात्मक लेखन पनि गर्नसक्थ्यो, यद्यपि त्यो भावनात्मक रूपमा बलियो भने हुन्थेन।

त्यसैको अपडेटेड भर्जनका रुपमा जीपीटी ४ सार्वजनिक भएको हो। माइक्रोसफ्टले सोही कम्पनीसँग सहकार्य गरी च्याटजीपीटीभन्दा ५ सय गुणा प्रभावशाली नयाँ मोडल जीपीटी ४ सार्वजनिक गरेको हो। यो नयाँ मोडल गुगल डक्स, जिमेल, सिट्स र स्ल्याड्समा उपलब्ध हुने बताइएको छ।

जसले विभिन्न सवालको जवाफ दिने,  प्रयोगकर्ताका लागि आवश्यक लेख लेख्ने, लेखलाई सम्पादन गर्ने, ग्राफिक्स र तस्वीर डिजाइन गर्ने, इमेल लेख्ने, शुद्धाशुद्धी हेर्ने र गलत भएका कुराको जानकारी दिनेसम्मको काम गर्नेछ।

यति मात्रै नभई जीपीटी ४ ले मान्छेकै जत्तिको प्रदर्शन पनि गर्नसक्ने दाबी कम्पनीले गरेको छ। यस्तै फोटो र भिडियो खोज्ने काम पनि यसले गर्नसक्नेछ।

माइक्रोसफ्टले दाबी गरेअनुसार यसले स्वस्फूर्त रूपमा मेलको रिप्लाई समेत गर्नेछ। विस्तारै अन्य फिचरहरू पनि यसमा समावेश हुने कम्पनीले जनाएको छ।

यद्यपि यसको पहुँच अहिले कम्पनीका केही व्यक्तिसँग मात्रै रहेको छ। सन् २०२३ को अन्त्यसम्म सर्वसाधारणले प्रयोग गर्नसक्नेगरी सार्वजनिक गर्ने तयारी कम्पनीको छ।

जीपीटी ४ मानिसको दैनिक जीवनमा उपयोगी साधनका रुपमा स्थापित हुने भन्दै धेरैले यसको प्रशंसा गरे पनि यसले मानवीय जीवनमा संकटसमेत ल्याउने भनी आलोचना समेत गरेका छन्। च्याटजीपीटीमा केही कमजोरी भएकोमा जीपीटी ४ धेरै स्मार्ट भएर सार्वजनिक भएको निर्माण कम्पनीले दाबी गरेको छ।

दुरुस्तै मानिसले जस्तो लेख्न सक्ने भएकाले यसले धेरै मानिसको जागिर खाइदिन सक्ने विश्लेषण विज्ञहरूले गरेका छन्। च्याटजीपीटी सार्वजनिक भएपछि जिमेलका संस्थापक पल जुप बुचियटले यसले गुगललाई दुई वर्षभित्र बर्बाद गरिदिन सक्ने टिप्पणी गरेका थिए।

उक्त उपकरणलाई गल्ती पनि सच्चाउने गरी तालिम दिइएकाले यसले मान्छेले जस्तो गल्ती नगर्ने र मानिसका लागि चुनौतीपूर्ण हुनसक्ने विश्लेषण साओ पाउलो युनिभर्सिटीका प्रोफेसर अल्भारो मचाडो डायसले गरेका थिए।

क्रियटिभ लेखनको क्षेत्रमा जागिर खाइरहेका धेरैका लागि यो खतरनाक हुनसक्ने टिप्पणी ब्राजिलियन अनुसन्धानकर्ता यूरी लिमाले गरेका थिए। उनले यो शिक्षासँग सम्बन्धित भएकाले यसको सदुपयोगका लागि सचेत गराउन आवश्क रहेको बताएका थिए।

उक्त उपकरण सर्वसाधरणको प्रयोजनमा आए सहजताका साथ यसले संकट पनि निम्त्याउन सक्ने टिप्पणी विश्लेषकहरूको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .