प्रविधि


सशस्त्र प्रहरीपछि अर्थमन्त्रीको फेसबुक पेज पनि भियतनामीको कब्जामा

सशस्त्र प्रहरीपछि अर्थमन्त्रीको फेसबुक पेज पनि भियतनामीको कब्जामा

नेपालखबर
साउन ३१, २०८० बुधबार १८:५४, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महत सामाजिक सञ्जालमा अपडेट भइरहने नेपाली कांग्रेसका नेताहरुमध्ये एक हुन्।

तर, उनैको भेरिफाइड फेसबुक पेज दुई महिनादेखि निष्क्रिय छ। गत जुन १७ मा कांग्रेस स्याङ्जाका महाधिवेशन प्रतिनिधि एवम् चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको सवारी दुर्घटनामा निधन भएपछि गरेको श्रद्धाञ्जली पोस्ट नै अन्तिम हो। 

यो दुई महिनाबीचमा महतको फेसबुक पेजमा कुनै नयाँ पोस्ट र फोटो अपडेट भएको छैन। देशको ढुकुटी हाँकेका मन्त्री दैनिकजसो कुनै न कुनै आर्थिक र राजनीतिक कार्यक्रममा सक्रिय भइरहन्छन्। तर उनको भेरिफाइड फेसबुक पेजमा कुनै गतिविधि अपडेट नभएको ठ्याक्कै दुई महिना भइसकेको छ।

यसको रहस्य भने भियतनामी ह्याकरहरु रहेको खुलेको छ। ५० हजार फलोअर रहेको महतको भेरिफाइड फेसबुक पेजमा पनि भियतनामी ह्याकहरुले कब्जा जमाउन सफल भएका छन्। 

यो कुराको पुष्टि उनकै फेसबुक पेजबाट गर्न सकिन्छ। पेज ट्रान्सपरेन्सीमा हेर्दा भियतनामबाट ४ वटा फेसबुक आइडी महतको पेजमा एडमिन रहेका देखिएको छ। 

एक महिनादेखि मन्त्रीको सूचना प्रविधि टिम ह्याक भएको पेज आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन्। तर सफल भएका छैनन्।

महतको सचिवालयका अनुसार भियतनामी ह्याकरको निशानामा परेपछि नेपाल प्रहरीको साइबर ब्यूरोको पनि सहयोग मागिएको थियो। 

तर नेपाल प्रहरीको साइबर ब्यूरोले पनि उक्त फेसबुक पेज पूर्ण रूपमा फर्काउन सकेको छैन। 

पेजको सुरक्षामा भएको लापरबाहीका कारण ह्याकरहरुले आक्रमण गरिरहेका छन्। महतको सचिवालयका एकजना सदस्यले अझै पनि उक्त पेज फर्काउने कोसिस भइरहेको बताएका छन्। 

यसअघि गत सशस्त्र प्रहरी बलको ६ लाख २८ हजार फलोअर भएको फेसबुक पेजमा पनि भियतनामी ह्याकरले आ्रमण गरेका थिए।  

चैत २७ गतेदेखि ह्याकरले कब्जा जमाएको उक्त पेज फिर्ता ल्याउन सशस्त्र प्रहरी बल (एपीएफ) असफल भएको छ। 

सशस्त्र प्रहरीका अनुसार पेज रिकभरको प्रयास भएको थियो। तर ह्याकरहरुको कब्जाबाट उक्त फेसबुक पेज फिर्ता ल्याउन सशस्त्र प्रहरी असफल भएको हो। 

सशस्त्रले फेसबुक पेज रिकभर प्रयास गरिरेका बेला भियतनामी ह्याकरहरुले त्यसको नाम नै फेरिदिएका थिए।

सशस्त्र प्रहरी बलको नाममा पेज वैशाख ८ गतेदेखि भियतनामी भाषामा परिवर्तन भएको थियो। 

ह्याकलाई रिकभर गर्ने प्रक्रिया चलिरहेका बेला भियतनामी ह्याकरले नामै फेरिदिएर आफ्नो बनाइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .