प्रविधि


डिपसिक चर्चाबीच ओपनएआईले गर्‍यो च्याटजीपीटीका लागि नयाँ ‘डिप रिसर्च’ टुल घोषणा

डिपसिक चर्चाबीच ओपनएआईले गर्‍यो च्याटजीपीटीका लागि नयाँ ‘डिप रिसर्च’ टुल घोषणा

नेपालखबर
माघ २१, २०८१ सोमबार १३:१७, टोकियो

चीनको डिपसिक च्याटबटले एआई क्षेत्रमा प्रतिस्पर्धा तीव्र पारेसँगै अमेरिकी टेक दिग्गज ओपनएआईले सोमबार टोकियोमा उच्चस्तरीय बैठक अघि ‘डिप रिसर्च’ नामक च्याटजीपीटी टुल सार्वजनिक गरेको छ। 

आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता-एआई) को नवागन्तुक डिपसिकले सिलिकन भ्यालीलाई तरङ्गित पारेको छ। केहीले यसको उच्च कार्यसम्पादन र कथित कम लागतलाई अमेरिकी डेभलपरहरूका लागि जागरण आह्वान भनेका छन्।

ओपनएआईको नयाँ टुलले ‘एउटा मानिसलाई धेरै घन्टा लाग्ने कामलाई दश मिनेटमै पूरा गर्छ।’ यसको च्याटजीपीटीले सन् २०२२ मा जनचेतनामा जेनेरेटिभ एआईको उदयलाई अगाडि बढाएको थियो।

‘तपाईंले यसलाई एउटा प्रम्प्ट दिनुहोस् र च्याटजीपीटीले सयौँ अनलाइन स्रोतहरू खोज्ने, विश्लेषण गर्ने र संश्लेषण गरी अनुसन्धान विश्लेषकको स्तरको व्यापक प्रतिवेदन तयार गर्नेछ’, कम्पनीले विज्ञप्तिमा भनेको छ। 

प्रत्यक्ष प्रसारण गरिएको भिडिओमा ओपनएआई शोधकर्ताहरूले कसरी उपकरणले जापानमा हिउँको छुट्टीका लागि स्की उपकरणहरू सिफारिस गर्न मद्दत गर्न वेब खोजी डेटालाई क्रन्च गर्न सक्छ भनेर देखाएका थिए। 

ओपनएआईका प्रमुख साम अल्टम्यानले ‘प्रो’ च्याटजीपीटी प्रयोगकर्ताहरूले महिनामा एक सय पटक पहुँच गर्न सक्ने गहन अनुसन्धान ‘गणना–गहन र ढिलो’ भएको बताएका थिए। 

‘तर यस्तो विस्तृत प्रकारका जटिल, मूल्यवान् कार्यहरू गर्न सक्ने यो पहिलो एआई प्रणाली हो’, उनले सामाजिक मिडिया प्लेटफर्म एक्समा लेखे। 

अल्टम्यान टोकियोमा छन्। टोकियामा उनले सोमबार जापानका प्रधानमन्त्री शिगेरु इशिबा र जापानी टेक लगानी दिग्गज सफ्टब्यांक ग्रुपका प्रमुख मासायोशी सनसँग भेट्नेछन्। 

नयाँ प्रकारको हार्डवेयर

अल्टम्यान र सनले सोमबार टोकियोमा करिब पाँच सय व्यवसायसँग एक फोरम पनि आयोजना गर्नेछन्, जसमा उनीहरूले जापानको एआई पूर्वाधारलाई बढावा दिने योजना घोषणा गर्ने अपेक्षा गरिएको छ। 

निक्केई व्यवसाय दैनिकका अनुसार यसमा लगानीको मात्रा निर्दिष्ट नगरी एआई डाटा सेन्टरहरू र तिनीहरूलाई सञ्चालन गर्न पावर प्लान्टहरू निर्माण गर्ने समावेश हुनेछ। 

सफ्टब्यांक र ओपनएआई संयुक्त राज्य अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स पूर्वाधारमा पाँच खर्ब डलर लगानी गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको स्टारगेट अभियानको हिस्सा हुन्। 

जापानी प्रधानमन्त्री इशिबा यस हप्ताको अन्त्यमा नेताहरूको पहिलो व्यक्तिगत बैठकका लागि ट्रम्पसँग भेट्न वासिङ्टन जाने अपेक्षा गरिएको छ। 

छुट्टै, अल्टम्यानले निक्केईलाई उहाँ एप्पलका पूर्वप्रमुख डिजाइन अधिकारी जोनी इभसँगको साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर ‘नयाँ प्रकारको हार्डवेयर’ विकास गर्न चाहेको बताए। तर निक्केईका अनुसार अल्टम्यानले प्रोटोटाइप सार्वजनिक गर्न केही वर्ष लाग्ने सङ्केत गरे। 

अल्टम्यानले अखबारलाई डिपसिक ‘एक राम्रो मोडल’ हो जसले एआई तर्क प्रविधिको गम्भीर प्रतिस्पर्धालाई उजागर गर्छ, तर यसको ‘क्षमताको स्तर नयाँ छैन’ भने।

डिपसिकको कार्यसम्पादनले एआई पावरिङ च्याटजीपीटीजस्ता अग्रणी अमेरिकी प्रविधिका क्षमतालाई रिभर्स-इन्जिनियरिङ गरेको आरोपको लहर निम्त्याएको छ। 

गत हप्ता ओपनएआईले चिनियाँ कम्पनीहरूले सक्रिय रूपमा यसको उन्नत एआई मोडलहरूको प्रतिलिपि बनाउने प्रयास गरिरहेको र यसले अमेरिकी अधिकारीहरूसँग नजिकको सहकार्यलाई प्रेरित गरेको चेतावनी दिएको थियो। 

केही एक्स प्रयोगकर्ताहरूले डिपसिकको तथाकथित ‘थिङ्किङ मोड’ र डिप रिसर्चले आफ्ना प्रतिवेदनहरू सङ्कलन गर्न लिने समयका साथै समान नामहरूको तुलना गरेका थिए। 

ओपनएआईले अल्टम्यानको अर्को गतिविधिको विवरण सार्वजनिक नगरे पनि मिडिया रिपोर्टहरूले उनी मङ्गलबार सियोलमा जाने अपेक्षा गरिएको र त्यहाँ उनले आईटी समूहका प्रमुख काकाओलाई भेट्ने बताएका छन्। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad