समाज


प्रतिघण्टा १२० किमीको गतिमा रेल गुडाएर आज जनकपुर-जयनगर रेल्वे लिकको परीक्षण गरिँदै

प्रतिघण्टा १२० किमीको गतिमा रेल गुडाएर आज जनकपुर-जयनगर रेल्वे लिकको परीक्षण गरिँदै

शैलेन्द्र महतो
साउन ३, २०७८ आइतबार ९:५९,

बहुप्रतिक्षित जनकपुर जयनगर रेल्वे लिकको गति परिक्षण आज हुँदैछ। जयनगर– जनकपुर–कुर्था खन्डको ३५ किलोमिटर लिक परीक्षण आज गर्न लागिएको हो।

रेल संचालनको पूर्वतयारी स्वरुप आज रेल्वे ट्रयाकको स्पिड टेस्ट र सर्टिफिकेसनको काम गर्न लागिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए।

उनका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पिड टेस्ट परिक्षण हुँदैछ। बिहान १० बजेदेखि भारतको जयनगरबाट सुरु हुने लिक परिक्षणमा रेलको गति प्रतिघन्टा १२० किलोमिटर हुने उनले बताए।

दुईदिन अघि नै नेपाल रेल्वे कम्पनीले लिक परीक्षण गरिने जानकारी दिँदै रेल्वे ट्रयाक वरपरका आम नागरिकलाई ट्रयाकमा मान्छे, चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछोड्न र ट्रयाकमा दुरी कायम गरिदिन सूचना जारी गरेको थियो। उनले परीक्षणको क्रममा ट्रयाक तथा स्टेसनहरुमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइने बताए।

‘रेल्वे ट्रयाक परीक्षणको विषयमा यस अघि नै सार्वजनिक सूचना जारी भइसकेको छ। यदि कसैले यो सूचनाको अवज्ञा गरी कुनै दुर्घटना भएमा ब्यक्ति स्वयं जिम्मेबार हुने र कानुन अनुसार कारबाही समेत गरिने छ,’ उनले भने।

महाप्रबन्धक भट्टराईले रेल सञ्चालनका लागि जनशक्ति पूर्ण तयारी अवस्थामा रहेको बताए । तर रेल्वे ट्रयाक र पूर्वाधार हस्तान्तरणको लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री नआएसम्म सञ्चालन नहुने उनको भनाइ छ।

सरकारले जीटुजी प्रक्रियामार्फत ८४ करोड ६५ लाख ९५ हजारमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेका थिए। ती रेल १० महिनादेखि जनकपुरको इनर्वा स्टेशनमा त्रिपालले छोपेर राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .